गठबन्धनको हस्तक्षेपकारी राजनीति

गठबन्धनको हस्तक्षेपकारी राजनीति

संविधान, संवैधानिक संरचना, ऐन र कानुनहरूकै धज्जी उड्ने गरी मुलुकमा विभिन्न क्रियाकलाप भइरहेका छन्।


नेपालमा यतिबेला पाँच दलीय गठबन्धन सत्तामा छ। तर, यसरी दलबीच साँठगाँठ गर्ने, गठबन्धन गर्ने र सत्ता सञ्चालन गर्ने संस्कार २०४६/४७ देखि नै सुरु भएको देखिन्छ। समय समयमा संयुक्त सरकार बन्ने बामपन्थी, दक्षिणपन्थी राजनीतिक दलहरूबीचमा तालमेल हुने, गठबन्धन बनाउने र संयुक्त सरकार गठन गर्ने चलन चल्दै आएको पाइन्छ। भागबन्डा लगाउने काम विगतदेखि नै चल्दै आएको छ। नेपालमा पटक पटक यो संस्कारले निरन्तरता पायो र अहिले पनि सोही संस्कार चलिरहेको छ।

यसरी गठबन्धन बनाउनु, संयुक्त अर्थात् साझा धारणा कायम राख्नु कतिपय विषयमा नराम्रो कुरा होइन। जस्तै वैदेशिक मामलामा दलहरूबीच साझा धारणा बनाउनु कदापि गलत विषय होइन। यो आवश्यक पनि छ र राम्रो अभ्यास पनि हो। कपियत राष्ट्रिय मुद्दाहरूमा पनि गठबन्धन गरेर साझा धारणा बनाउनु र त्यसको समाधान खोज्नु निकै उचित कुरा हो।

अहिलेको गठबन्धन नै चुनावका लागि तालमेल गर्ने वातावरण बन्यो भने त्यो कसैका लागि पनि राम्रो हुने छैन। त्यसको परिणाममा कांग्रेस पार्टीले भोग्नुपर्ने छ।

तर, विचार सिद्धान्त नै नमिल्ने राजनीतिक दलहरूका बीचमा गठबन्धन बनाएर दैनिक राज्य सञ्चालनमा सँगै बस्ने, सत्ताका सेयरहरू बाँडफाँट गर्ने, त्यतिले मात्र नपुगेर न्यायपालिकालाई समेत सत्ताका सेयरहरू बाँडफाँट गर्ने काम कदापि सही हुन सक्दैन। विचार नै नमिल्ने राजनीतिक दलहरूसँग साँठगाँठ गरेर भागबन्डामा दैनिक काम क्रियाकलाप गरिनु निकै अस्वाभाविक कुरा हो। प्रजातन्त्र र लोकतन्त्रविरोधी कार्य हो। यस्तो संस्कार बसाल्नु मुलुकका लागि सह्य हुन सक्दैन। त्यसमा पनि आज गठबन्धनले अघिल्लो सरकारले नियुक्ति गरेका राजदूतहरूलाई कामको मूल्यांकनबिना राम्रो नराम्रो नबुझी राजनीतिक आस्थाकै आधारमा निकाल्नु पर्छ भनेर हटाइनु, फिर्ता बोलाइनुले नेपालको कुटनीतिक मामलामाथि नै शंका उब्जाएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि बिग्रिन पुगेको छ।

नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेका प्रतिवद्धताहरू नै पूरा गर्छ वा गर्दैन भनेर शंका उब्जाएको छ। कार्यान्वयनमा रहेको संविधान, मुलुकमा भइराखेको संवैधानिक संरचना, संविधान अनुसार बनेका ऐन र कानुनहरूकै धज्जी उड्ने गरी मुलुकमा विभिन्न क्रियाकलाप भइरहेका छन्। यसरी मुलुकका कानुनी निकाय तथा संवैधानिक निकायका नियुक्तिहरू खाली हुँदै जाँदा, आफ्ना मान्छे राख्दै जाने कुरा स्वाभाविक र सान्दर्भिक पनि होला। तर, कार्यकाल तोकेर नियुक्ति भएका कानुनी निकायका पदाधिकारीहरू, संविधान बमोजिम नियुक्ति भएका संवैधानिक निकायका पदाधिकारीमाथि धावा बोल्नु, बर्खास्त गर्नु, उसले खाईपाई आएको जिम्मेवारी जबरजस्ती खोस्नु, छोड्न नमाने अमर्यादित लाल्छना लगाएर जबर्जस्ती हटाउनु राज्य सञ्चालन गरिरहेका गठबन्धनको अपरिपक्वपूर्ण अभ्यास हो, असहिष्णुता हो। यसले देशमा अराजकता फैलाउनुका अलावा अन्य कुनै काम गर्न सक्दैन।

सबै नेपाली जनताले जबसम्म यो मेरो सरकार हो भनेर अपनत्व गर्न सक्दैनन् तबसम्म देशमा कानुनी राज्यको स्थापना हुन सक्दैन। अहिले देशमा सिर्जना भइरहेको परिस्थितिले कसैले पनि यो मेरो प्रधानमन्त्री हो, यो मेरो सरकार हो भन्न र अपनत्व महसुस गर्न पाइरहेका छैनन्। राज्य उदार हुनुपर्ने ठाउँमा अनुदार र अनुदार हुनुपर्ने ठाउँमा उदार हुँदै गएको छ। यस्तै अवस्था चल्दै जाने हो भने मुलुक नकारात्मक दिशातर्फ लाग्ने देखिन्छ। राज्यका सबै निकाय अस्तव्यस्त र अराजक बन्दै जाँदा त्यसको नकारात्मक असर देशका नागरिकलाई पर्ने छ। त्यसले आमनागरिक समेत नियममा बस्न नसक्ने अवस्थाको सिर्जना हुन सक्छ।

अहिले हाम्रो मुलुकमा यही नै भइरहेको छ। सरकारका नेता अर्थात् देशका अभिभावक प्रधानमन्त्रीले आज गठबन्धनको नेतृत्व लिइरहँदा गठबन्धनलाई चुनावसम्म निरन्तरता दिने, चुनावमा गठबन्धनकै आधारमा भागबन्डा गरेर चुनाव जित्ने अभिव्यक्तिहरू विभिन्न नेताबाट आइरहेका छन्। त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहनु, उनकै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता उनकै पछि पछि दौडिनु अर्थात् गैरसंवैधानिक तरिकाले गठन गरिएको राज्य सञ्चालन सुझाव समितिमा बस्नु खतराको संकेत हो। राज्य सञ्चालनका लागि गठन गठबन्धनका तर्फबाट गठन गरिएको समितिमा बस्नु र त्यसैको माध्यमबाट तालमेल गरेर चुनावमा साँठगाँठ गर्र्ने कुराले राजनीति धमिल्याउनुका साथै कुसंस्कारको जग बसाल्ने काम गरेको छ। यस्तो समयमा प्रजातान्त्रिक दलका नेताहरू एकजुट भएर उभिन जरुरी छ। त्यसको नेतृत्व नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गर्नुपर्ने देखिन्छ।

कोइरालाले चुनाबमा बामपन्थीसँग तालमेल नगरी एक्लाएक्लै लड्न अभिप्रेरित गर्नुपर्छ। लोकतन्त्रका लागि, प्रजातन्त्रका लागि, संसदीय पद्धतिका लागि आआफ्नै घोषणा पत्र लिएर, आआफ्नै सिद्धान्त र नीतिका आधारमा चुनाव लडेर जनतामा एक्लाएक्लै जान जरुरी छ भन्ने विषयलाई कोइरालाले उठाउन ढिला गर्नु हुँदैन। त्यो धारको, त्यो समूहको, त्यो विचारको नेतृत्व गर्न कोइराला जस्तो व्यक्ति तत्पर हुनु आवश्यक छ।

त्यो विचारसँग सहमत हुने सबैलाई समेट्ने र एक्लै कांग्रेसले चुनाव लड्नुपर्छ भनेर अगाडि बढ्न सक्नुपर्छ। त्यसका लागि ढिला गर्नु हुँदैन। अब चुनाब टाढा छैन। कांग्रेसले संसदीय पद्दति र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्छ। कांग्रेसमा त्यो हैसियत राख्ने नेताहरू छन्। त्यसैले पनि कांग्रेस एक्लै जनसमक्ष जाने र जनताले पत्याउँदा सरकारको नेतृत्व लिने क्षमता राख्छ। त्यो आँट र क्षमता अब उनले देखाउनु पर्छ। अब उनले पार्टीका सबैलाई समेटेर अगाडि बढ्ने समय आएको छ। देशभर घुमेर कार्यकर्ताको मन बुझेको दुःख सुखमा साथ दिएको, ५ वर्षदेखि हरेक कार्यकर्तासँग घुलमिल भएको, ७७ वटै जिल्ला घुमेर वस्तु परिस्थितिको सही अध्ययन गरेको कांग्रेसको एक प्रभावशाली नेता कोइराला नै हुन्। उनले अब कांग्रेसमा सबैको आशा पलाउने ठाउँ देखाउन सक्नुपर्छ। विचार र सिद्धान्त अगाडि सार्न सक्नुपर्छ।

देशलाई किन कांग्रेस चाहिन्छ ? कांग्रेसको इतिहास के हो ? अघिल्लो चुनावमा कांग्रेसले कुन कुन कमजोरी देखायो ? अब कांग्रेसमा के के सुधार चाहिएको छ ? त्यो कुरा स्पष्ट परेमा मात्र जनताले कांग्रेसलाई पत्याउने अवस्था आउन सक्छ। जसले कांग्रेसको नेतृत्व लिन खोजिरहेको छ, उसमा ती विषयहरू बुझाउन सक्ने क्षमता चाहिन्छ। उनीसँग त्यो क्षमता छ। आफ्नो क्षमताको प्रयोग गरेर कोइरालाले कांग्रेसलाई एक चुनावमा लैजान अभिप्रेरित गर्नुपर्छ।

अब यो गठबन्धनको संस्कारको अन्त्य हुनुपर्छ। जुन लक्ष्यका लागि गठबन्धनको निर्माण भएको थियो। त्यो पूरा भइसकेको छ। अब यस्ता गठबन्धन बन्नु हुँदैन। प्रजातान्त्रिक शक्तिलाई कुसंस्कारतिर लैजाने बामपन्थीहरूको प्रयासबाट कांग्रेस अलग हुनुपर्छ। बामपन्थीहरूमा पनि नेकपा माओवादीको एक किसिमको भडुवा चिन्तनबाट कांग्रेस मुक्त हुनुपर्छ। आउने चुनावमा निष्पक्ष आआफ्नो सिद्धान्त लिएर दलहरू चुनावमा जानुपर्छ।

जनतालाई आफुले चाहेको उमेद्धवार छान्न पाउने पूर्ण अधिकार छ। गठबन्धन बनाएर यो पार्टीलाई भोट दे, त्यो नेतालाई भोट दे भनेर कार्यकर्तालाई दवाव दिँदा कांग्रसले ल्याउने भोट समेत नल्याउने सम्भावना रहन्छ। त्यसले वास्तवमा नै कुसंस्कार निम्त्याउँछ। त्यसलाई नेपाली कांग्रसका नेता शेखर कोइरालाले बुझ्नु जरुरी छ। अब कांग्रसको बागडौर समातेर लोकतान्त्रिक र संविधान सम्बत मार्गबाट पार्टीलाई चुनावमा लैजान बाट कोइराला पछी हट्नु हुँदैन।

अन्यथा अहिलेको गठबन्धन नै चुनावका लागि तालमेल गर्ने वातावरण बन्यो भने त्यो कसैका लागि पनि राम्रो हुने छैन। त्यसले जनतामा कांग्रेसप्रति रहेको प्रेम, विश्वास र भरोसासमेत हराएर जाने छ। कार्यकर्ताहरू समेत रुष्ट हुने अवस्था आउने छ। त्यसको परिणाममा कांग्रेस पार्टीले भोग्नुपर्ने छ। त्यसैले उनले त्यस विषयलाई मनन गरी सिद्धान्त र पद्धति अनुसार पार्टीलाई सही दिशा दिन तयार भएर बस्नुपर्ने अवस्था आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.