लागूऔषध डिलरमा प्रहरीको छापा
दाङ : दाङको तुलसीपुरमा रहेको ब्राउनसुगरको डिलरमा प्रहरीले छापा मारेको छ ।
तुलसीपुर ५ स्थित सुशीला श्रेष्ठको घरमा छापा मार्दा २० ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार श्रेष्ठको घरबाट १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
प्रहरीले सुशीला सहित उनका छोरा रोहन श्रेष्ठलाई समेत पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगर तौलन प्रयोग गरिने डिजिटल तराजु समेत बरामद गरेको छ । उनीहरू आमाछोरा नै ब्राउनसुगर कारोबारी भएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार सुशीलाका श्रीमान् बसन्त श्रेष्ठ पेशेवर लागूऔषध कारोबारी हुन् ।
श्रेष्ठले ब्राउनसुगर भारतबाट ल्याउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । त्यसपछि श्रीमती र छोराले बेचबिखन गर्ने गरेको डीएसपी अर्यालले बताए ।