कोरोनाबाट युरोपमा पाँच लाखको मृत्यु हुनसक्ने चेतावनी, चर्चित पत्रकारको हत्या

कोरोनाबाट युरोपमा पाँच लाखको मृत्यु हुनसक्ने चेतावनी, चर्चित पत्रकारको हत्या

युरोपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। जसका कारण त्यहाँका विभिन्न देशले नयाँ नयाँ नियमहरु ल्याइरहेका छन्। तिनै नियमहरुको विरोधमा युरोपमा प्रदर्शन सुरु भएको छ। जुन संसारभर चर्चाको विषय बनेको छ। त्यस्तै सुडानका प्रधानमन्त्री फेरि सरकारको नेतृत्वमा आउने चर्चाको विषय पनि आज प्रमुख बन्यो। आत्मघाति बम हमला गर्दा एक पत्रकारको मृत्यु भएको खबर पनि चर्चामा रह्यो। यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर पनि भाइरल बन्यो। प्रस्तुत छ, आइतबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू:


लकडाउनविरुद्ध युरोपमा ब्यापक प्रदर्शन

हेग- पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। जसका कारण त्यहाँका सरकारहरुले लकडाउनका नयाँ नियमहरु लागू गरिरहेका छन्। तिनै नियमहरुविरुद्ध प्रदर्शनसमेत सुरु भएको छ।

नेदरल्यान्ड्समा लागू गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भइरहेको छ। हेगमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँकिदिएका थिए। उनीहरूले साइकलहरू पनि जलाइदिएको एजेन्सीहरुले उल्लेख गरेका छन्। प्रतिकारमा प्रहरीले गोली चलाएको र केही प्रदर्शनकारी घाइते भएको बताइएको छ।

अस्ट्रिया, क्रोएशिया र इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएको बीबीसीले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले पनि युरोपमा बढिरहेको कोरोनाभाइरस सङ्क्रमणप्रत चिन्तित रहेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लुग्अले युरोपभर प्रतिबन्धात्मक व्यवस्थाहरू कडा नपारिए आगामी वसन्तसम्ममा थप पाँच लाख मानिसको मृत्यु हुनसक्ने बताए।

'कोभिड-१९ फेरि हाम्रो क्षेत्रमा मृत्युको प्रमुख कारण बनेको छ। भाइरससँग लड्नका लागि खोप लगाउने, मास्क लगाउने जस्ता कुरा सर्वसाधारणलाई थाहा छ,' उनले भने।

नेदरल्यान्ड्सका कैयौँ सहरहरूमा लगातार दोस्रो रात प्रदर्शनहरू भए। प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि आपत्कालीन अवस्थाको घोषणा गरेको छ भने सात जनालाई पक्राउ गरेको छ।

महामारीयता सबैभन्दा ठूलो सङ्ख्यमा दैनिक सङ्क्रमण पुष्टि भएपछि गत शनिबार नेदरल्यान्ड्सले तीन साता लामो आंशिक लकडाउन लागू गरेको छ। रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेसनहरू बन्द गरिएका छन्।

सम्झौतापछि फेरि सरकारको नेतृत्वमा आउने तयारीमा सुडानका प्रधानमन्त्री हामडोक

सुडानमा गत महिनाको सैन्य विद्रोहपछि पक्राउ परेका नागरिक नेतृत्वलाई रिहा गर्ने जनरल अब्देल फताह अल–बुर्हान र प्रधानमन्त्री अब्दल्ला हमडोक सम्झौता भएको छ। यस सम्झौतापछि  सुडानका प्रधानमन्त्री हामडोक सरकारको नेतृत्वमा फिर्ता हुन लागेको मध्यस्थकर्ताहरूले आइतबार जनाएका छन्।

जनरल बुर्हान प्रधानमन्त्री हामडोक, राजनीतिक शक्तिहरु र नागरिक समाज संगठनहरुबीच हमडोकलाई आफ्नो पदमा फर्काउने र राजनीतिक बन्दीहरूको रिहाइका लागि राजनीतिक सहमति भएको वरिष्ठ सुडानी मध्यस्थकर्ता फदलाल्लाह बर्माले एएफपीलाई बताएका छन्। सुडानी मध्यस्थकर्ताहरूको समूहले पनि सम्झौताको पुष्टि गर्दै एक विज्ञप्ति जारी गरेको समाचारमा जनाइएको छ।

यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी

यमनका हुथी विद्रोहीहरुले यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ। हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको बताए। यहाँको सरकारकाविरुद्धमा शनिबार व्यापक आक्रमण गरेको उनीहरुको दाबी छ। ती विद्रोहीहरुले दिएको जानकारीअनुसार उनीहरुले साउदी अरेबियाका विभिन्न विमानस्थलमा पनि ड्रोनबाट बम हमला गरेका छन्।

उनीहरुले ड्रोनबाट आक्रमण गरेको र यसरी गरिएका आक्रमणहरुमा विभिन्न क्षेत्रका विमानस्थलहरु पनि रहेको बताएका छन्। हुथीहरुले यहाँका राजाको रियादस्थित दरबारलाई पनि लक्ष्य गरेर हमला गरेको जनाएका थिए। उनीहरुले साउदी अरेबिया नेतृत्वको सरकारको विरोध गर्दै आएकाले यहाँका राजाका विरुद्धमा पनि हमला गर्ने जनाएका छन्। 

शनिबारको हमला पनि यसैका विरुद्धमा भएको उनीहरुले बताएका छन्। उनीहरुले विगत लामो समयदेखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमन छोड्नुपर्ने बताउँदै आएको छन्। शनिबार भएको सो हमलामा के कति क्षति भयो भन्ने बारेमा भने केही बताइएको छैन। इरानको सहयोगमा रहेका यी हुथी विद्रोहीहरुले गरेको सो हमलाको साउदी अरेबियाको सरकारले भने पुष्टि गरेको छैन। तर हुथीहरुको  टेलिभिजन अल मारिसाहले भने सो आक्रमण गरिएको बताएको छ।

आत्मघाति बम हमलामा पत्रकार मारिए

सोमालियाका प्रख्यात पत्रकार अब्दियाजिज मोहमसद गुलेद आत्मघाति बम विष्फोटमा मारिएका छन्। इस्लामिस्ट लडाकु समूहको आलोचकको रुपमा चिनिएका पत्रकार अब्दियाजिजको आइतबार राजधानी मोगादिसुमा हत्या भएको हो।

सहरको रेस्टुरेन्टबाट निस्कँदै गर्दा मध्यान्हमा उनीमाथि हमला भएको थियो। उक्त घटनामा अरु दुईजना घाइते भएका छन्। घाइतेहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ। अल शबाबले यस घटना आफूले गराएको दाबी गरेको छ। अब्दियाजिज अफ्रिका नामले समेत चिनिने पत्रकार रेडियो मोगादिसुमा कार्यरत थिए।

५ देखि ११ वर्षीय बालबालिलाई कोरोनाविरुद्धको खोप

क्यानडा सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने घोषणा गरेको छ। फाइजर भ्याक्सिनको दुई मात्रा डोज दिन क्यानडा सरकार सहमत भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।

कोरोनाविरुद्धको भ्याक्सिन बनाउने कम्पनीहरुले बालबालिकामा यसको प्रभावबारे ट्र्याल चलाइरहँदा क्यानडाको यो निर्णय महत्पूर्ण मानिएको अधिकारीहरुले बताएका छन्।

क्यानडा स्वास्थ्य विभागका एक अधिकारीले बालबालिकामा गरिएको ट्र्याल ९० प्रतिशत सफल भएको भन्दै बालबालिकालाई पनि दिन लागिएको

 बताए। 'अहिलेसम्म कुनै साइड इफेक्ट देखिएको छैन। हामी सुक्ष्म तरिकाले यसको अनुसन्धान गरिरहेका छौं,' ती अधिकारीले एजेन्सीसँग भनेका छन्।

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई ८ हप्ताभित्र दुई मात्रा डोज दिइने बताइएको छ। उनीहरुलाई १० एमसीजीको डोज दिन लागिएको हो। जबकि वयस्कलाई ३० एमसीजीको मात्रा दिने गरिन्छ।

यसैबीच इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले आइतबार आफ्नो देशको लक्ष्य डिसेम्बरको अन्त्यसम्ममा ५-११ वर्षका ५० प्रतिशत बालबालिकालाई खोप लगाउने बताएका छन्। बेनेटका प्रवक्ताले विज्ञप्तिमा जनाएअनुसार बेनेट र देशका चार स्वास्थ्य मर्मत संस्थाका महाप्रबन्धकहरू बीचको बैठकमा यो टिप्पणी गरिएको थियो।

मोदी-योगी केमेस्ट्रीको चर्चा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको 'बोन्डिङ'लाई लिएर आज सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगले आज दुई तस्बिर सार्वजनिक गरेका थिए। जसमा प्रधानमन्त्री मोदी उनको काँधमा हाथ राखेर हिँडिरहेका देखिन्छन्। तस्बिरसँगै योगले सानो कविता लेखेका छन्। जसको आश्य छ- हामी प्रण गरेर निस्किएका छौं, आफ्नो तनमन अर्पण गरेर भारतलाई नयाँ बनाउनु छ।

यो तस्बिरपछि धेरैले योगी आदित्यनाथलाई मोदीको अर्को अवतारको रुपमा विश्लेषण गर्न थालेका छन्।

लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको डुबेर मृत्यु

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले शनिबार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीहरू युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेको बताएको छ। आइओएमले ट्वीट गर्दै भनेको छ, 'लिबियाबाट प्रस्थान गरेपछि बुधबार ७५ भन्दा बढी आप्रवासी समुद्रमा डुबेका छन् भने जीवित १५ जनालाई माछा मार्ने व्यक्तिहरूले समुद्रमा डुबेर उद्दार गरेका छन्।'

'यो पछिल्लो त्रासदीले यस वर्ष मध्य भूमध्यसागरमा ज्यान गुमाउनेको संख्या १,३०० भन्दा बढी पुगेको छ, आईओएमले भन्यो। लिबियाले २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतन पछि असुरक्षा र अराजकताको सामना गरिरहेको छ। जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक रोजाइको बिन्दु पनि बनाएको छ।

खाडीमा अमेरिकी सेनासँगको लडाइँमा ९ जनाको मृत्यु

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (IRGC) ले खाडीमा अमेरिकी सेनासँगको युद्धमा ९ जनाको मृत्यु भएको दाबी गरेको छ। झडपको समय र कारण नखुलाइ पनि ९ जनाको मृत्यु भएको बताइएको छ। नोभेम्बर ३ मा, IRGC ले ओम सागरमा इरानी तेल कब्जा गर्ने अमेरिकी प्रयासलाई विफल पारेको बताएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.