सल्यान कांग्रेस सभापतिमा केशबहादुर विष्ट निर्वाचित
दाङ : नेपाली कांग्रेस सल्यानको जिल्ला सभापतिमा संस्थापन पक्षका केशबहादुर विष्ट निर्वाचित भएका छन् । १४ औं महाधिवेशनअन्तरगत जिल्लाको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो । मंगलबार मध्यान्न आएको मत परिणामअनुसार विष्ट ५ मत बढी ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिका अर्का उम्मेदवार ध्रुवराज पुरी पराजित भएका छन् । विष्ट जिल्ला समन्वय समिति सल्यानका प्रमुख समेत हुन् । सल्यानमा संस्थापन पक्षकै दुबैजना सभापतिमा लडेका थिए । एक हजार २ सय ३४ मतदाता रहेको सल्यानमा पुरीले ६ सय ८ मत र विष्टले ६ सय १० मत प्राप्त गरेका छन् ।
उपसभापति पदमा विष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले निर्वाचित भएका छन् भने सचिवमा पुरी प्यानलका प्रकाश भण्डारी र विष्ट प्यानलका एकराज बुढाथोकी निर्वाचित भएका छन् । भण्डारीको लोकप्रिय मत देखिएको छ । विजयी सबै उम्मेदवारभन्दा बढी मत भण्डारीले प्राप्त गरेका छन् । बुढाथोकी शिक्षक हुन् । सहसचिवमा जनकराज गौतम र पदम बुढाथोकी निर्वाचित भएका छन्।