हिउँदमा ३५० मेगावाट बिजुली भारतबाट आयात गर्नुपर्ने !
काठमाडौं : हिउँदमा साढे तीन सय मेगावट विद्युत आयात हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले पुस, माघ, फागुन र चैतमा उक्त परिमाणमा बिजुली आयात हुन सक्ने अनुमान गरेको हो।
पूर्ण जाडो सुरु भइनसकेकाले माग अनुसार विद्युतको आयात अनुमान भन्दा केही थपघट हुनसक्ने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराइले बताए। मंसिरसम्म आन्तरिक उत्पादनले बिजुलीको माग धान्ने भएपनि पुषदेखि आयात गर्नुपर्ने उनले बताए। आन्तरिक उत्पादनको जडित क्षमता २ हजार मेगावाटसम्म भएपनि हिउँदको ४ महिनामा उत्पादन एकतिहाइमा झर्ने गर्दछ। हिउँदमा आन्तरिक उत्पादन करिब साढे ६ सय मेगावाटमा सीमित हुने देखिएको छ।
नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाका कारण वर्षायाममा नेपालमा विद्युत् उत्पादन धेरै हुन्छ। माग र आपूर्तिबीचको तालमेल नमिल्दा गत कात्र्तिकसम्म दैनिक करिब ५ सय मेगावाटसम्म विद्युत खेर गएको प्राधिकरणले जनाएको छ। प्रायःजसो नोभेम्बर १५ बाट नदीको सतह घट्न गई विद्युत् उत्पादन घट्छ। वर्षायाममा विद्युत खेर जाने भएपनि हिउँदमा भारतबाट निर्यातको विकल्प देखिँदैन।
हिउँदमा सबैभन्दा बढी विद्युतको खपत काठमाडौं उपत्यकामा हुन्छ। अघिल्लो वर्षको हिउँदमा ४३० मेगावाटसम्म खपत भएको प्राधिकरणको तथ्यांक छ। यो वर्षको हिउँदमा उपत्यकामा ४५० मेगावाटसम्मको माग आउने अनुमान गरिएको छ। उपत्यकाको अहिलेको उच्च माग ३५० मेगावाटसम्म छ। यस्तै, इन्डक्शन चूलोको खपत बढाउने सरकारको योजना अनुसार पनि यो वर्ष विद्युतको माग केहि बढ्ने प्राधिकरणले जानकारी दिएको छ।
यो वर्षको हिउँदमा दिउँसोको समयमा मात्र विद्युत आयात गर्नुपर्ने प्राधिकरणले जनाएको छ। अघिल्लो वर्ष दिउँसो र राति दुवै समयमा गरी ७ सय मेगावाटसम्म भारतबाट बिजुली किनिएको थियो। अहिलेको बिजुलीको उच्च माग १ हजार ४ सय ७० मेगावाटसम्म छ। मंसिरको पहिलो सातासम्म विद्युतको मागभन्दा आपूर्ति नै बढि रहेको भट्टराईले बताए। भट्टराइका अनुसार ११ सय देखि साढे ११ सय मेगावाट दिउँसोको माग छ। यस्तै, रातिको पिक आवरको माग १४५० देखि १४७० मेगावाटसम्म हन्छ।
विद्युत आयातका लागि ८ सय मेगावाटसम्मको भारतसँग सम्झौता भएको छ। प्राधिकरणका प्रसारणलाइन प्रमुख दिर्घायु श्रेष्ठका अनुसार ५ स्थानबाट बिजुली आयात भइरहेको छ। ढल्केवर–मुजफपुरबाट ३५० मेगावाटसम्म, कुशाह–कटैयाबाट १२० मेगावाटसम्म, रक्सौल–परवानुपुरबाट ८० मेगावाटसम्म, गण्डकबाट ६० मेगावाटसम्म र टनकपुर प्रसारणलाइनबाट ७० मेगावाटसम्म ल्याउन सकिने छ। अहिले भारतमा ३९ मेगावाट दैनिक निर्यात भइरहेको छ।
अर्धजलाशययुक्त ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट ३७० मेगावाटसम्म लोडिङ गर्न सकिने र अहिले पिक आवरमा ३५० मेगावाटसम्म लोडिङ गरिदै आएको श्रेष्ठले जानकारी दिए।
‘तामाकोसीको विजुली न्युखिम्तीबाट लामासाँघु र ढल्केवर जाने हो। ढल्केवरबाट काठमाडौं ल्याउन वा चन्द्रनिगाहपुर हुँदै हेटौंडा २ सय मेगावाटसम्म पठाउन सकिन्छ,’ श्रेष्ठले बताए।