बैंकका कर्मचारीलाई हप्ताको तीन दिन छुट्टी
लण्डन: बेलायतको एक बैंकले आफ्ना कर्मचारीलाई हप्तामा तीन दिन छुट्टी दिने घोषणा गरेको छ। एटम बैंकले तलब कट्टी नगरिकनै हप्तामा तीन दिन छुट्टी दिने निर्णय गरेको हो।
उक्त बैंकले साप्ताहिक 'ड्युटी हावर'मा पनि कटौति गरेको छ। एजेन्सीहरुका अनुसार एटम बैंकले साढे तीन घन्टा समय कटौति गरेको हो। यसअघि हप्तामा साढे ३७ घन्टा काम गर्ने कर्मचारीले अब ३४ घन्टामात्र काम गरे पुग्छ।
समाचारका अनुसार उक्त बैंकमा ४ सय ३० जना कर्मचारी छन्। त्यहाँ काम गर्नेहरुलाई कि त सोमबारदेखि वा शुक्रबारदेखि तीन दिन विदा बस्ने प्रस्ताव गरिएको छ। बैंकले नोभेम्बर १ देखि नै यो व्यवस्था लागू गरेको छ।
बैंकका सिइओ मार्क मुलेनले 'फोर डे वर्क पोलिसी'ले कर्मचारीहरुमा अगाडि बढ्ने तागत पैदा हुने बताएका छन्। 'उनीहरु आफ्ना परिवारलाई धेरै समय दिन सक्छन्। यसले उनीहरुको निजी जीवनमा पनि फाइदा पुग्नेछ,' उनले भने।