उद्योगमा कोभिडको असर कायमै

उद्योगमा कोभिडको असर कायमै

काठमाडौं : कोभिड–१९ को प्रभाव नेपालको अर्थतन्त्रमा अझै परिरहेको छ। कोभिडपूर्वको अवस्थामा उद्योग तथा व्यवसाय पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन्। 

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव’ सम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनअनुसार अझै २.३ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन सकेका छैनन्।  यसले केही व्यवसाय ठप्प भएको उल्लेख गरेको छ। तर २०७७ असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको  केन्द्रीय बैंकले जनाएको छ। गत  वैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन सकेका थिएनन्। 

यद्यपि पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुँदै गर्दा २०७८ कात्तिकमा ८७.२ प्रतिशत उद्योग/व्यवसाय मात्र पूर्णरूपमा सञ्चालन भएका छन्। यस्तै १०.४ प्रतिशत व्यवसाय अझै आंशिक रूपमा मात्रै सञ्चालनमा आएका छन्। 

कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत उद्योग/व्यवसाय मात्र पूर्णरूपमा सञ्चालनमा रहेको थियो। आकारअनुसार भने सबै प्रकारका उद्योग/व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको प्रतिवेदनमा उल्लेख छ। जसअनुसार ५० करोड रुपैयाँ माथिका स्थिर पुँजी भएका ठूला उद्योग तथा व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएका छन्।

यद्यपि २०७७ असारको तुलनामा उद्योग/व्यवसायको उत्पादन/कारोबारको अवस्थामा सुधार आएको छ। कोभिड महामारीपछि उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेको छ। २०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरूको उत्पादन/कारोबार बढेको पाइएको छ। तर, होटल तथा रेस्टुरेन्ट क्षेत्रको सुधार तुलनात्मक रूपमा कम छ। 

सर्वेक्षणमा सहभागी उद्योग/ व्यवसायहरूले बजार माग नबढ्नाले कारोबारमा ह्रास आएको, कर्जाको ब्याजदर उच्च र अस्थिर भएको, उत्पादन लागत बढेकाले कठिनाइ भएको जस्ता समस्यालाई प्राथमिकतामा राखेका छन्। 

सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीले कोभिड–१९ का कारण बजार माग घटेको, चालू खर्च धान्न समस्या रहेको र श्रमिकसँग सम्बन्धित समस्याका कारण उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन्। 

उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले उद्योग/व्यवसाय बिक्री गरेको बताएका छन्।  केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने तयारीमा रहेको बताएका छन्। 

राष्ट्र बैंकले ५ सय ४६ जना उद्योगी तथा व्यवसायीको सहभागितामा गरेको सर्वेक्षणले यस्तो देखाएको हो। २०७८ कात्तिक महिनाको ७ गतेदेखि १७ गतेसम्म टेलिफोन अन्तर्वार्तामार्फत सम्पन्न गरेको केन्द्रीय बैंकले जनाएको छ। सर्वेक्षण नतिजाअनुसार उद्योग/व्यवसाय सञ्चालनमा क्रमिक रूपमा सुधार आएको देखिएको छ।

अझै पनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा पुग्न नसकेको भएता पनि २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको अध्ययनको निचोड छ। 

कोभिड–१९ महामारीको दोस्रो लहरपछि उक्त संक्रमणविरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान भई पुनरुत्थानउन्मुख रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। यस परिप्रेक्षमा उद्योग/व्यवसायको उत्पादन एवं कारोबारको अवस्थामा सुधार आई अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने केन्द्रीय बैंकको अपेक्षा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.