आप्रवासी चढेको डुंगा डुब्दा कम्तीमा २७ जनाको मृत्यु
फ्रान्स : फ्रान्सबाट बेलायत जाँदै गरेको डुङ्गा डुब्दा कम्तीमा २७ जना आप्रवासीको मृत्यु भएको छ । मानव तस्करहरुले अवैध ढंगले आप्रवासीहरुलाई फ्रान्सको बाटो हुँदै बेलायत लैजादै थिए । आप्रवासी बोकेको डुंगा फ्रान्स नजिकैको इङ्लिस च्यानलमा डुबेको बीबीसीमा खबर छ । फ्रान्सका गृहमन्त्रीका अनुसार मृत्यु हुनेमा पाँच महिला र एक बालिका छन् ।
सो घटनामा अन्य केही आप्रवासीहरु हराइरहेको हुनसक्ने बताइएको छ । सो घटनापछि जलमार्गबाट हुने मानव तस्करी रोक्न कुनै कसर बाँकी नराख्ने बेलायत र फ्रान्सका अधिकारीले प्रतिवद्धता जनाएका छन् । आप्रवासीका मुद्दा हेर्ने अन्तराष्ट्रिय संगठन (आइओएम) डुंगा डुबेर २७ जना आप्रवासीको मृत्युको घटना सन् २०१७ यताकै ठूलो भएको जनाएको छ।