भारतमा पुरुषभन्दा महिला धेरै, उत्तर कोरियामा छालाको कोट लगाउन रोक

भारतमा पुरुषभन्दा महिला धेरै, उत्तर कोरियामा छालाको कोट लगाउन रोक

भारतमा पुरुषभन्दा महिलाको जनसंख्या बढी भएको छ। भारतको इतिहासमा पहिलो पटक पुरुषभन्दा महिलाको जनसंख्या बढी भएको हो।

छोरीभन्दा छोरालाई मान्यता दिने भारतको सामाजिक मान्यताअनुसार कैयौं छोरीको भ्रुण हत्या हुने गरेकाले त्यहाँ हालसम्म महिला जनसंख्या पुरुषको तुलनामा कम हुने गरेको बताइएको छ। हालः देशमा महिलाको जनसंख्या बढ्नु सकारात्मक रहेको भारतको जनसंख्या विभागकी निर्देशक पुनम मुतर्जीले बताएकी छन्।

भारत सरकारको आयोजनामा नेसनल फ्यामिली र हेल्थ सर्भेले सन् २०१९ देखि सन् २०२१ नोभेम्बरसम्ममा गरेको नयाँ सर्वेक्षणले सो तथ्यांक सार्वजनिक गरेको हो। जसमा १ हजार पुरुषमा १ हजार २० महिला रहेको सो तथ्यांकले देखाएको छ।

करिब ६ लाख ५० हजार घरधुरीमा गरिएको सो सर्वेक्षणले भारतको प्रजनन दर पहिलो पटक घटेको समेत देखाएको छ। ग्रामिणभन्दा शहरी इलाकामा १.६ को दरले प्रजनन दर घटेको सर्वेक्षणले देखाएको हो। यसले जन्मदरमा कमी ल्याएको र देशको जनसंख्या वृद्धिमा सन्तुलन कायम गर्न मद्धत पुग्ने बताइएको छ। हालः भारतको जनसंख्या करिब १ अर्ब ४० करोड रहेको छ।

उत्तर कोरियाली नागरिकलाई छालाको कोट लगाउन रोक

सिओलः उत्तर कोरियाले आफ्ना नागरिकलाई छालाको कोट लगाउनमा रोक लगाएको छ। उत्तर कोरियाले आफ्ना शासक किम जोङ उनको जस्तै फेशन भएको छालाको कोट लगाउनमा रोक लगाएको हो।

देशका नेताको जस्तै फेशन गर्नु अपमान हुने भन्दै किमको जस्तै छालाको कोट लगाउनमा प्रतिबन्ध लगाएको स्थानीय मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सीले जानकारी दिएको छ।

सन् २०१९ मा किमले ‘लेदर ट्रेन्च’ नामक छालाको कोट लगाएर टेलिभिजनमा देखिएपछि सो कोट लोकप्रिय बनेको थियो। चीनबाट आयात गरिएको सो कोट धनाढ्यहरुले मात्र लगाउने गरेको बताइन्छ। उत्तर कोरियामा भने सो कोट किमले मात्र लगाउन पाउने बताइएको छ।

चीनका ५ सय उडान रद्द

साङ्घाईः चीनको साङ्घाई प्रान्त सरकारले दुईवटा मुख्य विमानस्थलका ५ सय उडान रद्द गरेको छ। सो प्रान्तमा तीनवटा नयाँ कोभिड संक्रमित फेला पर्दा शुक्रबारका लागि तय भएका ५ सय उडान सरकारले रद्द गरेको हो।

गत हप्ता नजिकैको शहर सुहाउमा तीन व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको थियो। संक्रमण फैलन नदिन सरकारले साङ्घाईसँग नाका जोडिएका प्रान्तको यात्रामा समेत प्रतिबन्ध लगाएको छ। साङ्घाईका मुख्य दुईवटा विमानस्थलबाट छुट्ने ५ सय हवाई उडानमा रोक लगाएको प्रान्त सरकारले जनाएको छ। सो संख्यामा उडान रद्दसँगै सरकारले शुक्रबार त्यहाँका विद्यालय र टुर समूहको यात्रामा पनि प्रतिबन्ध लगाएको छ।

कोरोना भाइरस नियन्त्रण एवं रोकथामका लागि चीनले शून्य कोभिड नीति अपनाएको छ। जसअनुसार चीनले यात्रा र लकडाउनमा कडा नीति अवलम्बन गरेको छ।

रुस, भारत र चीनका विदेशमन्त्रीबीवार्ता

नयाँ दिल्लीः रुस, भारत र चीनका विदेशमन्त्रीबीच वार्ता भएको छ। तीन पक्षीय विदेशमन्त्रीबीच शुक्रबार भर्चुअल माध्यमबाट वार्ता भएको हो।

तीन पक्षबीच भएको १८औं वार्तामा आतंकवाद, लागुऔषध तस्करी र अफगानीस्तानमा मानवीय सहायता पठाउने सम्बन्धमा छलफल भएको भारतीय मिडियामा खबर छ। सो बैठकमा चीन र भारतको विवादित सीमा सम्बन्धमा समेत छलफल भएको बताइएको छ।

भारतीय विदेशमन्त्री शुर्वमन्यम जयशंकरले तीन देशबीच बहुपक्षीय प्रणालीमा सुदृढ गर्न, बहुध्रुवीय र विश्वसँग सन्तुलित रहन चीन र रुससँग आग्रह गरेको बताइएको छ।

अमेरिकी प्रतिनिधि र ताइवानका राष्ट्रपतिबीच आश्चर्यजनक भेट

ताइपेईः पाँच अमेरिकी प्रतिनिधि र ताइवानकी राष्ट्रपतिबीच आश्चर्यजनक भेटवार्ता भएको छ। शुक्रबार बिहान राष्ट्रपति साई इङ वेन र पाँच अमेरिकी प्रतिनिधीबीच सो भेटवार्ता भएको हो। अमेरिकी प्रतिनिधि सभाका पाँच प्रतिनिधिहरु बिहीबार राति ताइवान पुगेका थिए। 

संयुक्त राज्य अमेरिकाले स्वसासित मुलुक ताइवानलाई बलियो बनाउन पुनः समर्थन गर्ने सम्बन्धमा ताइवान पुगेका अमेरिकी प्रतिनिधिहरुले राष्ट्रपति वेनसँग आश्चर्यजनक भेटवार्ता गरेको बताइएको छ। अमेरिकी प्रतिनिधिसँग भएको भेटवार्तापछि राष्ट्रपति वेनले ताइवानले अमेरिकासँग निरन्तर सहकार्य गर्ने प्रतिक्रिया दिएको बताइएको छ।

दुई पक्षबीच शुक्रबार भएको भेटले ताइवान र चीनबीच थप तनाव सिर्जना गरेको र सो तनाव दशकयताकै उच्च रहेको अधिकारीहरुले अन्तर्राष्ट्रिय मिडियासँग बताएका छन्। ‘हाम्रो भ्रमणबारे समाचार आउदावित्तिकै चिनियाँ दूतावासले भ्रमण तत्काल रद्द गर्न सन्देश पठाएको रहेछ,’ अमेरिकी प्रतिनिधि एलिसा स्लेटकिन र डी मीच लगायतको टोलीले ट्विटरमार्फत् जानकारी दिएका छन्। चीनले स्वशासित ताइवान टापु आफ्नो भएको दाबी गर्दै आएको छ।

डब्ल्युएचओद्वारा पाकिस्तानको यात्रा प्रतिबन्धमा तीन महिना थप

इस्लामावादः विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पाकिस्तानको यात्रा प्रतिबन्ध तीन महिनाका लागि थप गरेको छ। डब्ल्युएचओले पाकिस्तानलाई पोलियो महामारी मुलुकको रुपमा थप तीन महिना प्रतिबन्ध थप गरेको हो।

संयुक्त राष्ट्रसंघीय एजेन्सी डब्ल्युएचओले पाकिस्तानमा पोलियोका बिरामी बढ्दै गएको भन्दै यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको छ। पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियान सकिएको छ भने बालबालिकामा लगाएको खोप प्रभावकारी बनाउन त्यहाँको यात्रा प्रतिबन्ध थप गरिएको बताइएको छ।

संसारका अन्य सबै मुलुकमा पोलियो भाइरस दशकौं अघि नै निर्मुल भए पनि अफगानिस्तान र पाकिस्तानमा भने हालसम्म सो रोग नियन्त्रणमा आउन नसकेको डब्ल्युएचओले जनाएको छ।

युएईले थोपिया सरकारलाई सैन्य सहयोग प्रदान गर्दै

अदिस अबाबाः संयुक्त अरब एमिराट्स (युएई)ले इथोपिया सरकारलाई सैन्य सहयोग प्रदान गरिरहेको खुलासा भएको छ। इथोपियाको विद्रोही टायग्रे समूहविरुद्ध लड्न इथोपियालाई युएई सरकारले व्यापक सैन्य सहयोग प्रदान गरिरहेको खुलासा अलजजिराद्वारा उपलब्ध स्याटेलाइट तस्बिरले गरेको हो।

सेप्टेम्बर र नोभेम्बरको बीचमा अलजजिराले अनुसन्धान गरेको थियो। अलजजिराकाअनुसार सो समयमा युएई र इथोपियामा ९० भन्दा बढी हवाई उडान सञ्चालन भएको स्याटेलाइट तस्बिरले देखाएको छ।  युएईले हवाई मार्गमार्फत् इथोपियालाई सैन्य सहयोग उपलब्ध गराएको स्पष्ट देखिन्छ। जसमा चीनले बनेको सैन्य कार्गोसहित युक्रेन र स्प्यानिस कम्पनीको सैन्य कार्गो रहेको समेत अलजजिराले उल्लेख गरेको छ।

इथोपियामा सरकार र विद्रोही टायग्रे लडाकुबीच द्वन्द्व जारी छ। गत महिना विद्रोही टायग्रे लडाकुले त्यहाँका मुख्य शहरहरु आफ्नो कब्जामा लिएको घोषणा गरेको थियो। टायग्रेलाई नियन्त्रणमा लिन बुधबार इथोपियाका प्रधानमन्त्री अविय अहमेदले इथोपियाली सेनालाई नेतृत्व गरेको स्थानीय मिडियाले उल्लेख गरेका थिए।

भारत-म्यानमार सीमामा ६.१ को भूकम्प

कलकत्ताः भारत-म्यानमार सीमा क्षेत्रमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भारतको उत्तरपूर्वि क्षेत्र ऐजवल क्षेत्रमा शुक्रबार बिहानै सो भूकम्प गएको हो। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार सो भूकम्प १२ किलोमिटर गहिराइबाट उत्पन्न भएको हो।

बंगलादेशको चिट्गौङ, भारतको कोलकत्ता र म्यानमार सीमा आसपास क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको बताइएको छ। भूकम्पका कारण हालसम्म कुनै पनि क्षतिको विवरण उपलब्ध नभएको अधिकारीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.