बुद्धको बाटोमा ब्रुस्ली !

बुद्धको बाटोमा ब्रुस्ली !

सानो छँदा काल्पनिक पात्रजस्तो लाग्ने ब्रुस्ली बाँचेको भए आज नोभेम्बर २७ का दिन ८० पुगेर ८१ वर्ष टेक्दा रहेछन्। ब्रुस्लीको नाम पहिलो पटक कहिले सुनें सम्झना त छैन। तर, ‘पप कल्चरको विश्वव्यापी प्रभाव’ र सिनेमाको बढ्दो पहुँचका कारण सन् १९७० र १९८० का दशकका नायकमध्येका एक लीको नाम माइकल ज्याक्सन र म्याडोनाकै हाराहारीमा सुनेको सम्झन्छु। ८० को दशक ( २०३७–२०४७ साल) पश्चिमी पप संगीतको दुनियाँमा तहल्का मच्चाएका माइकल ज्याक्सन र म्याडोनाको पोस्ट्कार्ड र यी पप आइकनहरूको श्यामश्वेत फोटो टिसर्ट र पोस्टरहरू भैरहवाको बजारमा कताकति देख्न पाइन्थ्यो।

ब्रुस्लीको रंगीन पोस्टकार्ड र पोस्टरहरू भने त्यो समयमा अलि बाक्लै देखेको ताजै छ मानसपटलमा। प्रायः रेडियोमा सीमित आमसञ्चारको जमाना र हिन्दी र फाट्टफुट्ट नेपाली चलचित्रको ठूलो पर्दाको मनोरञ्जनमा खुम्चिएको समयमा कसरी हलिउड र हङकङको चलचित्र क्षेत्रमार्फत विश्वभरि लोकप्रियता कमाएका ब्रुस्लीले कसरी हाम्रो बाल्यपनालाई आकर्षण गर्‍यो होला ? पोस्टकार्डको भरमा अचम्म लाग्छ। चीनको साओलिन बौद्ध बिहारमा पाँचौं शताब्दीको उत्तरार्धमा विकसित मार्सल आर्टमा आधारित कंग फुको इतिहासमा सर्वश्रेष्ठ खेलाडीमध्ये एक मानिन्छ। कलाकार ब्रुस्लीले अद्वितीय प्रतिभा र सानदार कलाकारितामार्फत पश्चिमी समाजमा पूर्वीय बौद्ध र ताओ परम्पराको यो अभ्यासलाई विश्वव्यापी बनाउन महत्त्वपूर्ण भूमिका खेले। ब्रुस्ली अभिनीत सिनेमा हेरेपछि जो कोही पनि लीको व्यक्तित्व र आत्मविश्वासी शैलीबाट प्रभावित हुन्थे। सायद यही कारण थियो, हलिउडको उदाउँदो तारा पोस्टकार्डमा भैरहवामा झुल्किँदा हामीलाई पनि आकर्षित गथ्र्यो। कतिपय चिनियाँको विरोधका बाबजुद पनि बु्रस्ली बौद्ध भिक्षु बोधि धर्मले चीनको साओलिनका भिक्षुहरूलाई आत्मरक्षाका लागि सिकाएको मार्सल आर्टको परम्परा पश्चिमी समाजमा परिचित गराउन चाहन्थे।

ध्यान र अन्तरदृष्टिमा आधारित जैन बौद्ध अभ्यास र परम्परा पनि यिनै भारतीय मूलका बौद्ध भिक्षु बोधि धर्मले चीन पुर्‍याएका थिए। कङ फुका पिता बौद्ध भिक्षु बोधि धर्मले चीन पुर्‍याएको यो प्राचीन परम्परा चीनमा चान, जापानमा जेन, कोरियामा स्यान र भियतनाममा थिइन् भनेर चिनिन्छ। जसको प्रत्यक्ष सम्बन्ध संस्कृत शब्द ध्यानसित छ। भारतबाट यात्रामा निस्केको तीन वर्षपछि चीन पुगेका बोधि धर्मले हेनान प्रान्तमा अवस्थित साओलिन बौद्ध बिहारमा ध्यान र कडा व्रतको तालिकाले थलिएका भिक्षुहरूको कमजोर र दयालाग्दो शारीरिक अवस्था देखेर मार्सल आर्टको प्रशिक्षण दिन थाले। बोधि धर्मले साओलिनका भिक्षुहरूको शारीरिक र मानसिक अवस्था सुधार्न सिकाएको मार्सल आर्ट व्यायामको मूलजरा रज र हठ योगको प्राचीन अभ्यासहरूसँग सम्बन्धित थियो।

बोधि धर्मले साओलिनका भिक्षुहरूलाई घनाजंगलको बीचमा अवस्थित बौद्ध बिहारमा जंगली जनावरको खतरासित सामना गर्न आत्मरक्षाको युक्तिहरू मार्सल आर्ट्सका रूपमा सिकाए। बाघ, सर्प, मृग, चितुवालगायत दुई दर्जनभन्दा बढी जनावरहरूको गति र चालको पुर्वानुमान गरी सो अनुरूप आफ्नो रक्षात्मक शक्तिलाई तैयारी अवस्थामा भिड्ने बोधि धर्मका सूत्रहरूलाई १९औं शताब्दीमा अमेरिका पुगेका चिनियाँहरू आफूसँगै लिएर गए। पूर्वीय आध्यात्मिक अभ्यासहरूसित जोडिएको यो ज्ञानलाई लामो समयसम्म चिनियाँहरूले पश्चिमा र अन्य समुदायमाझ गोप्य राखे। हुन त सन् १९०० तिर नै तत्कालीन अमेरिकी राष्ट्रपति थिओडोर रुजवेल्टले ह्वाइट हाउसमा जापानी प्रशिक्षकबाट जुडोको प्रशिक्षण लिएको र थर्ड ब्राउन बेल्टको उपाधिसम्म प्राप्त गरेका सन्दर्भहरू पाइन्छन्। तर पनि बोधि धर्मले साओलिनका भिक्षुहरूलाई दिएको यो शिक्षा र मार्सल आर्टका युक्तिहरू सन् १९७० को दशकमा आएर ब्रुस्लीका चलचित्रमार्फत ‘भाइरल’ भयो। यसरी कि बोधि धर्मको शिक्षा बुद्ध जन्मस्थल लुम्बिनी नजिकको भैरहवा आइपुग्दा पप कल्चरको पोस्टर भएर देखा पर्‍यो।

विगत दुई दशकयता पश्चिमी समाजहरूमा योग र ध्यानले ओगटेको लोकप्रियताको उकालो ग्राफ ७० र ८० को दशकमा कङ फु, जुडो, कराँते, ताइकान्डोले लिन थालिसकेको थियो। ब्रुस्लीले आफ्ना चलचित्रहरू र प्रतिभामार्फत एउटा नयाँ युगको सुरु गरेका थिए। टाइम म्यागेजिनले सार्वजनिक गरेको २०औं शताब्दीका प्रभावशाली एक सय व्यक्तित्वको सूचीमा परेका ब्रुस्लीको अर्को महत्त्वपूर्ण पक्ष थियो, लीको आध्यात्मिकता। जेन बौद्ध दर्शनमा गहिरो जरा गाडेको मार्सल आर्टको अभ्यासलाई ब्रुस्लीले कङ फुलाई प्रतिस्पर्धात्मक खेलका रूपमा मात्र लिएनन्, आफ्ना सीमाहरूको परीक्षण, आत्मखोज र आफूभित्रको नकारात्मक भावना र आत्मविश्वाससित जुधिरहेको आफ्नो अस्तित्वलाई अभिव्यक्त गर्ने माध्यमका रूपमा लिएका थिए।

बौद्ध दर्शनसित मेल खाने लीको यो भनाइले उनको आध्यात्मिक झुकाव प्रष्ट पार्छ, ‘हाम्रो मस्तिष्क एउटा उर्वर बगैंचा जस्तै हो। यो बगैंचामा तपाईंले रोपे अनुरूप नै बिरुवा बढ्छन्। कुनै सुन्दर फूलका रूपमा बढ्छन् कुनै झारका रूपमा हुर्किन्छन्। हाम्रो मस्तिष्कको माली हामी आफैं हो र गोडमेल गर्ने काम पनि हाम्रै हो। स्वस्थ्य विचार र सकारात्मक सोच फूलहरू जस्तै हुन्। नकारात्मक सोच झार जस्तै हुन्। तपाईंको मस्तिष्कमा के प्रवेश गर्न दिने विवेक तपाईं आफैंले प्रयोग गर्ने हो।’ ली आफूलाई मार्सल आर्ट र फिल्म निर्माणबाहेक दर्शन र आध्यात्मको विद्यार्थी भन्न रुचाउँथे। मार्सल आर्टको पछाडिको दर्शन र आध्यात्मलाई बुझ्न ली सधैं प्रेरित रहन्थे। बुद्धजस्तै ली पनि सत्य बहुआयामिक हुन्छ भन्ने विचारमा विश्वास राख्थे। गहन विश्लेषण र परीक्षणहरूमार्फत निष्कर्षमा पुग्न सकिने उनको यो भनाइले प्रष्ट पार्छ, ‘एउटा असल शिक्षकले आफ्ना विद्यार्थीलाई आफ्नो प्रभावबाट जोगाउँछ।’

भागवत् गीतामा उल्लेख भए जस्तै ली कर्मयोगलाई उच्च स्थानमा राख्थे, गतिशील कर्मलाई निरन्तर बगिरहेको पानीसित तुलना गर्ने ली सक्रिय पानीमा फोहोर जम्न नपाउने उदाहरण दिन्थे। सन्तुलित जीवनको परिभाषा शारीरिक र मानसिक सन्तुलन मात्र नभै आध्यात्मिक पाटो पनि उत्तिकै महत्त्वपूर्ण मान्ने ब्रुस्लीको सोच हाम्रो वर्तमान हजारौं हिजोका सोचहरूको परिणामको अभिव्यक्ति हो भन्ने बुद्धको सोचसित मेल खान्थ्यो।  

लोकप्रिय संस्कृति र मनोरञ्जनको फैलावटमा प्रविधिको भरपूर प्रयोग गरेर विश्वव्यापी प्रभाव पार्न सफलता हासिल गरिरहेको हलिउडले ब्रुस्लीमार्फत मार्सल आर्टलाई लोकप्रिय त बनायो नै। लीले बोधि धर्मले साओलिनको बौद्ध बिहारमा दिएको मन्त्रलाई सबैको पहुँचमा पुर्‍याए। १९औं शताब्दीमा स्वामी विवेकानन्दले जसरी योगलाई सिकागोको ‘वल्र्ड रिलिजन पार्लियामेन्ट’मार्फत पश्चिम हुँदै संसारभरि पुर्‍याए। लीले हामीभित्रको नकारात्मक पाटोसित जुध्ने पूर्वीय संस्कृतिको यो युक्तिलाई घरघर पुर्‍याउन सफल भए। जीवनको स्रोत र चिनियाँ दर्शनको प्रतीक पानीलाई ब्रुस्ली सबैभन्दा शक्तिशाली ठान्दथे। मार्सल आर्टको दर्शनलाई पानीसित दाँज्दथे।

पूर्वीय दर्शनसित मेल खाने सोचजस्तै पानी पनि आफ्नो मार्गमा भेटिने कुनै पनि अवरोधलाई पार गर्न बाधा अड्चनविरुद्ध लडेर होइन। बरु सँगै अगाडि बढ्दै जाने प्राकृतिक स्वभावले आफ्नो प्रतिस्पर्धीलाई जित्न सकिने विचारका पक्षपाती लीले मार्सल आर्टस पछाडिको आधारभूत दर्शनलाई मूल प्रवाहको चिन्तन प्रणालीमा समाहित गराए। पूर्वीय दृष्टिकोणबाट हेर्दा लीको सबैभन्दा सफल पक्ष पनि यही हो। ब्रुस्ली धार्मिक दृष्टिकोणले अनिश्वरवादी थिए। संगठित धर्मलाई सत्यको खोजमा अवरोध ठान्थे। तर, पुस्तक मोह र अध्ययनको फराकिलो दायराका कारण सबै आस्थाका परम्परा र दार्शनिक विचारधारालाई केवल सत्यतर्फ औंल्याउने संकेतको रूपमा मात्र हेरिन्थ्यो। तर सत्यको रूपमा ग्रहण नगर्ने बुद्धको गहन विश्लेषण र परीक्षणको प्रयोगसँग मिल्दोजुल्दो थियो।

सत्यको बहुआयामिक प्रकृतिका कारण सत्यको ठोकुवा गर्ने नसकिने लीको विचारले उनको उदार र फराकिलो क्षितिजलाई पुष्टि गर्छ। पश्चिमी मूर्तिकलाका सबैभन्दा प्रसिद्ध मूर्तिकार र रेनेसा युगका हस्ती माइकल एन्जेलोले कलामा उत्कृष्टतामा पुग्न सरलताको माध्यम उत्तम हुन्छ। सोही भनाइजस्तै मार्सल आर्टमा पनि लीले सरलतालाई यो प्राचीन खेलका लागि आवश्यक कुन्जीको रूपमा प्रस्तुत गरेका छन्। मार्सल आर्टलाई पानी र सरलताको मिश्रणको दार्शनिक चिन्तनसित जोडेर हेरेका ली अद्वितीय प्रतिभा विश्वसामु प्रदर्शन गरे। ३२ वर्षको कलिलै उमेरमा उनले भौतिक शरीर त्यागेर सबैबाट सदाका लागि बिदा भए। भैरहवामा हुर्किंदै गर्दा हातमा चेन–स्टिकले सज्जित एक्सन फिगर ब्रुस्लीको पोस्ट्कार्डले भन्दा लीको अदृश्य आध्यात्मिक पाटोको गहिराइले वास्तविक लीसँग परिचित गराउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.