सत्तल

सत्तल

मूल मन्दिरतर्फ जाने बाटोको छेवैमा एउटा ठूलो सत्तल छ। अत्यन्त पुरानो यो सत्तलको भित्रपट्टि फराकिलो चोक छ। यहीं शिवालय छ। अन्य सानातिना शिवलिंगहरू पनि छन्।

सत्तल पूरै गुठी संस्थानको कब्जामा छ। यद्यपि यसको खुल्ला छिँडीमा केही मगन्तेहरू राति बास बस्न आउँछन्। दिनभरि सुनसान रहने यो स्थान रातभरि गुञ्जायमान हुन्छ।

सत्तलको ठीक सामुन्ने पंक्तिबद्ध केही घरहरू छन्। यी घरका झ्यालबाट सत्तल भित्र–बाहिरका गतिविधिहरू स्पष्ट देखिन्छन्।

एक घरमा बस्छु म, कोठाभित्र कैदी समान। यताउता हलचल गर्न सक्तिनँ। एक किसिमले अपाहिजभन्दा पनि हुन्छ। यही एउटा कोठामा मेरा दिन–रात बित्छन्। के गर्नु ! कोठाभित्र बस्नु, खानु, पिउनु। बस्, यस्तै छ मेरो दिनचर्या। अर्को काम भनेको, झ्यालबाट बाहिर हेरेर बस्नु, बसिरहनु।

मलाई उकुसमुकुस भएको छ। मेरो मन बिच्किएको छ। यद्यपि, तन शिथिल नै छ।

बेलुकी भयो कि सत्तलबाट एउटी सुन्दरी बाहिर निस्कन्छे। ऊ दिनभरि कहाँ बस्छे, के गर्छे, थाहा छैन। ऊ त्यहाँबाट निस्केर सरासर घाटतिर लाग्छे।

सन्ध्या ओर्लिसकेकी छन्। अँध्यारो छाइसकेको छ। म झ्यालमा बसेर एकतमास बाहिर हेरिरहेको छु। सडक सुनसान छ। मानिसहरू फाट्टफुट्ट हिँडिरहेका छन्। छेउमा एउटा साँढे गजधम्म सुतेको छ। वरिपरि केही गल्ली कुकुरहरू चल्मलाइरहेका छन्। खम्बामा बत्ती धमिलो बलेको छ।

तत्काल सत्तलबाट एउटी स्त्री निस्किइन्। सुलुत्त परेको जीउडाल, सारीमा सजिएकी। सुन्दर मुहार, केश फिँजारिएकी। अतीव आकर्षक। म झ्यालमा बसेर उसलाई एकोहोरो हेरिरहेको छु, पछ्याइरहेको छु। यद्यपि सशरीर बाहिर आएर उसको पिछा गर्न सक्तिनँ। तथापि मेरा यी आँखाहरू उसको जासुसी गर्न व्यस्त छन्। छिनमै ऊ घाटमा पुग्छे। घाटको डिलमा उभिएर बगिरहेको खोलातिर हेर्छे। हठात् खोलामा झ्वाम्म हाम्फाल्छे। हराउँछे। बिलाउँछे।

म झसंग तन्द्राबाट बिउँझिन्छु। कोठाभित्र आँखा डुलाउँछु। र, चुपचाप बस्छु त्यहीँ। यस्तो मलाई बारम्बार भइरहन्छ।

बिहान सखारै शिवालयका पुजारी नीलकण्ठ बाजे त्यहाँ आइपुग्छन्। हातमा रहेको तामाको थालीमा केवल भीमसेनपाती हुन्छ, थोरै अबिर–केसरी र पानी। आउनासाथ शिवालयको ढोका खोल्छन्। बढारकुँढार गर्छन्। शिवलिंगमाथि पानी खन्याउँछन्। शंख फुक्छन्। घण्टी बजाउँछन्। पाती चढाउँछन्। अबिर–केसरी दल्छन्। पूजा सकिनासाथ ढोका थुनेर बाहिरिन्छन्। र, कराउन थाल्छन्।

‘ऐ मोरा–मोरीहरू ! खानका कालहरू, मरेका स्यालहरू, छिटछिटो उठ ! तेरीमा बजियाहरू ! घाम कहाँ पुगिसक्यो, यिनीहरू यतिबेलासम्म यहीँ सुतेर मरेका छन्।

पुजारीको कर्कश आवाजले सत्तलको छिँडीमा सुतेका मगन्तेहरू बलात् उठेर सुइँकुच्चा ठोक्छन्। सन्नाटा छाउँछ।

अर्को एक साँझ। कोलाहल व्याप्त। चर्काचर्का स्वरमा मानिसहरू झगडा गरिरहेका।

– तँलाई यहीँ हामीसँग सुत्नुपर्ने किन ?

– तिमीहरू सुत्न हुने, म नहुने !

– तँ मेरै स्वास्नीसित सुतेको होइन ?

– हो त, मलाई तेरै स्वास्नीले तानेकी।

यहाँ यी मगन्तेहरू भुइँमा बोरा ओछ्याएर लहरै सुत्छन्। निदाउँछन्।

सत्तलभित्र चोकमा केही बालबालिकाहरू लुकामारी खेलिरहेका छन्। कोही लुकिरहेका छन्। कोही खोजिरहेका छन्। कोही उफ्रिरहेका छन्। कोही दौडिरहेका  पनि छन्। उल्लासमय छ परिवेश।

एकाएक एउटा केटा शिवालयको माथिल्लो सिँढीबाट तल झर्छ। उसको जीउ तनक्क तन्किएको छ। आँखाहरू बन्द छन्। मुखबाट फिँज काढिरहेको छ। हलचल छैन। बेहोस छ। उसलाई चारैतिरबाट मान्छेहरूले घेरेका छन्।

– छारे रोग हो, छुन हुँदैन।
– छोएर केही हुन्न।
– पानी छर्किदेऊ, ठीक हुन्छ।
– हैन, हैन। जुत्ता सुँघाइदेऊ।
– हुल नगरौं। पछि आफैं निको हुन्छ।
– ल, ल, बाटो छोडौं।

अझै हुल पन्छिएको छैन। ऊ भने चल्मलाउन थालेको छ। मान्छेहरू एकार्काका मुख ताकेर उभिएका छन्। शान्त छ वातावरण।

अचानक पानी दर्किन्छ। तमासा हेरिरहेका मान्छेहरू तितरबितर हुन्छन् त्यहाँबाट।
– ओई ! के हेरिरहेको ?
– केही होइन।
– ल, खा !
– ...।

आमा मलाई खाजा छोडेर जानुहुन्छ। भोक लागेको छ। म बिस्कुट चपाउँदै चिया पिउन थाल्छु।

बीच बाटोमा कुकुरहरू काइँकाइँ कुइँकुइँ गरिरहेका छन्। एउटी कुकुर्नीको पछाडि चार–पाँचवटा कुकुरहरू र्‍याल चुहाइरहेका छन्। पछि सम्भोगरत रहन्छन्। यो दृश्य देखेर केटाहरू हाहाहुहु गरिरहेका छन्। एकापसमा जोल्ठिएका कुकुरहरूलाई लठ्ठीले हानिरहेका छन् उनीहरू।

मलाई उकुसमुकुस भएको छ। मेरो मन बिच्किएको छ। यद्यपि, तन शिथिल नै छ।

सत्तलको माथि छानामा एक हुल बाँदरहरू बसेका छन्। तिनीहरू कोही लम्पसार सुतिरहेका छन्। कोही केही खाइरहेका छन्। कोही जुम्रा केलाइरहेका छन्। र, कोही झगडा गरिरहेका छन्।

एउटा बोल्न नसक्ने मान्छे पनि दैनिक सुत्न आउँछ त्यहाँ। दिनभर मन्दिर छेउछाउ मागेर बस्छ। त्यहीँ खान्छ। बालबालिका उसलाई देखेर हाँस्छन्, जिस्काउँछन्। उल्लीबिल्ली पार्छन्।

महाभूकम्पले सत्तल क्षतिग्रस्त छ। ढलिहालेको त छैन। तर पनि, मागेर जीवन गुजार्नेहरू त्यहाँ सुत्न आउँछन्। आइरहेका छन्। आउन छोडेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.