समय-रेखामा हामी
जीवनको यात्रामा हिड्दै जाँदा
न म मैले सोचे जस्तै रहें
पहिलेभन्दा भिन्दै भयौं
हिंड्दै जाँदा संगै संगै
बाटोसंगै हामी फेरिंदै गयौं
तर पनि सधैं सधैं खुसी भयौं।
न तिमी तिम्रो बाटोमा हिंडिरह्यौ
न मैले मेरै गोरेटो पछ्याइरहें
आखिर हामी दुबै मिली
नया बाटो खोल्यौं
र त्यही बाटो हिँडयौ
हिंडिरह्यौं
कहिले पाइताला दुख्ने गरी
कतै ठेस लाग्ने गरी
कतै काँडाले कोर्ने गरी
आफ्नै रोज़ाइमा
आफ्नै लयमा
टाकुरामै पुग्ने गरी जीवनको यात्रा हिंडिरह्यौं
जति हिड्यौं उति जाँगर जोरेर हिड्यौं
नथाक्ने गरी हिंडिरह्यौं
र, आर्जित उचाइमा खुशी भइरह्यौं।
समयका कर्ल्याङ्गकुर्लुंग धर्साहरूमा
अहिले आफ्नै आकृति हेर्दा यस्तो लाग्छ-
अब न तिमी तिमी जस्तो रहिरह्यौ
न म नै म जस्तो भइरहें
जीवनशास्त्रको अनौठो अंकगणितमा
एकमा एक जोडेर फेरि 'एक' भयौं
न तिमी, न म
हामी केवल 'हामी' भयौं
हामी आफ्नै मार्गमा
आफ्नै आदेशमा हिंडेका यात्रीहरू
हामी आफ्नै सीपमा
आफैंले कोरेका आकृतिहरू।