बुङ्वाखा पुरस्कार घोषणा
काठमाडौं : बान्तावा राई भाषामा प्रकाशित ‘बुङ्वाखा’ मासिकद्वारा स्थापित विभिन्न पुरस्कार र पुरस्कृत व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छ।
बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार शुभ मुकारुङलाई प्रदान गरिने भएको छ। ‘किरात राई जाति र मुन्दुमी सामग्री’लगायत करिब एक दर्जन कृति, लेखन, संकलन, सम्पादन र प्रकाशन गरेवापत उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो। पुरस्कारको राशि ५५ हजार दुई सय ९१ रुपैयाँ छ। पूर्व मुख्य अञ्चलाधीश स्व. मकरबहादुर बान्तावा र उनकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उनका परिवारले सो पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका थिए।
यसैगरी बुङ्वाखा–युके सायाचोङ्मा पुरस्कार भोजपुरका चन्द्रकुमार राईलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ। यस्तै बुङ्वाखा–पञ्चकुमारी संगीत पुरस्कार भोजपुरकै बान्तावा पप गायक, रचनाकार एवं संगीतकार सुखदेव राईलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि ४० हजार रूपैयाँ छ। यसैगरी बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार भोजपुरकै सञ्चारकर्मी खान्नुबुङ राईलाई प्रदान गरिने भएको छ।
पुरस्कारको राशि १० हजार रूपैयाँ छ। यस्तै बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार स्तम्भकार रामचन्द्र राईलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि १० हजार रूपैयाँ छ।
यस्तै बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार १७औं बान्तावा कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि क्रमशः १५ हजार, १० हजार र पाँच हजार छ। यी सबै पुरस्कार मंसिर २३ र २४ गते भोजपुरको आमचोकस्थित बालंखामा हुने बुङ्वाखाको १७औं वाषिर्कोत्सवमा प्रदान गरिने भएको छ।