ओमिक्रोनबारे जी-सेभेनले डाक्यो आपतकालीन बैठक, बार्बाडोसबाट हट्यो राजतन्त्र

ओमिक्रोनबारे जी-सेभेनले डाक्यो आपतकालीन बैठक, बार्बाडोसबाट हट्यो राजतन्त्र

विश्वका राजतन्त्रात्मक देशहरुमध्ये बार्बाडोस पनि गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ। क्यारेबियन राष्ट्र बार्बाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेपछि गणतन्त्रात्मक मुलुक भएको हो। बेलायती कमनवेल्थ राष्ट्रभित्रको यो मुलुक अब विश्वमै सबैभन्दा कान्छो गणतन्त्रात्मक मुलुक भएको छ।

बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चार्ल्स बार्बाडोस पुगेका छन्। बार्बाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन्।

हालः बेलायतकी महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधि एवं गभर्नर जनरलका रुपमा कार्यरत सान्ड्रा मेसोनलाई राष्ट्रपति घोषणा गर्ने भएको हो। सोमबारदेखि मंगलबारसम्ममा गर्नेगरी सैनिक परेडदेखि विभिन्न झाँकीसहितका भव्य कार्यक्रम आयोजना गरिने भएका छन्।

संक्रमणकालीन यस समारोहमा राजकुमार चाल्र्सले बार्बाडोससँगको बेलायतको परम्परागत सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा सम्बोधन गर्नुहुने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्।

अष्ट्रेलियामा डढेलोको मुख्य कारण जलवायु संकट

क्यानबेराः एक अध्ययनले अष्ट्रेलियामा लागेको विनाशकारी डढेलोको मुख्य कारण जलवायु संकट भएको पत्ता लगाएको छ। अष्ट्रेलियाको राष्ट्रिय विज्ञान संस्था कमनवेल्थ साइन्टिफिक एण्ड इन्डष्ट्रियल रिसर्च अर्गनाइजेसन (सिएसआइआरओ)लेसो तथ्य पत्ता लगाएको हो।

सिएसआइआरओले नेचर कम्युनिकेसनमा आफ्नो अध्ययन प्रकाशित गरेको छ। विगत ३० वर्षयता अष्ट्रेलियाको जंगलमा डढेलो लाग्नुको मुख्य कारण जलवायु संकट नै भएको सिएसआइआरओको अध्ययनमा उल्लेख छ।

सिएसआइआरओका वैज्ञानिक पेप कनाडेलका अनुसार जलवायु संकटका कारण सुख्खा र खडेरीको मौसम वर्षेनि लम्बिदै जाँदा डढेलोले अष्ट्रेलियाको ताज्मानिया र क्विन्सल्याण्डलगायत क्षेत्रको वन विनाश गरेको छ। यदि समयमै सही कदम चालिएन भने डढेलोको भविष्य लम्बिदै जानेछ।

विगत ९० वर्षमा सन् २००० पछि करिब ४ वटा ठूलो डढेलो लागेको समेत अध्ययनले स्पष्ट पारेको छ। अष्ट्रेलियामा सन् २०१९ र २०२० को गर्मीयाममा ठूलो डढेलो लागेको थियो। जसका कारण अष्ट्रेलियाको वनमा करिब ११.५ मिलियन हेक्टर क्षेत्रफल विनाश गरेको थियो। डढेलोका कारण करिब ३० जनाले ज्यान गुमाएका थिए भने हजारौ मानिस विस्थापित बनेका थिए।

ओमिक्रोनबारे जी–७ ले आपत्कालीन बैठक बोलायो

लण्डनः कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोनबारे जी–७ नेताहरुले आपतकालिन् बैठक बोलाएका छन्। नयाँ कोरोनाभाइरस भेरियन्टबारे छलफल गर्न उनीहरुले सोमबार (स्थानीय समय)का लागि सो बैठक बोलाएका हुन्।

नयाँ भेरियन्ट ओमिक्रोन युरोपका विभिन्न मुलुकमा तीव्ररुपमा फैलिरहेको बेलायत सरकारले बताएको छ। सो भेरियन्ट निकै संक्रामक रहेको भन्दै विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ चिन्तित बनेको छ। बेलायत, क्यानडा, जर्मनी, इटालीलगायत मुलुकहरुमा नयाँ भेरियन्ट फेला परेको बताइएको छ।

सोही सन्दर्भमा तीव्ररुपमा फैलिने भनिएको ओमिक्रोनबारे ग्रुप अफ सेभेनका मुलुकहरुले छलफल गर्ने बताइएको छ।  

ओमिक्रोनविरुद्धको खोप २०२२ को सुरुमै तयार हुने

बोस्टनः कोभिड १९ विरुद्ध खोप बनाएको औषधि कम्पनी मोडर्नाले ओमिक्रोनविरुद्धको खोप सन् २०२२ को सुरुवातमै तयार हुने बताएको छ। यदि नयाँ भेरियन्टविरुद्ध लड्न खोप आवश्यक परेमा आफूहरु तयार रहेको मोडर्नाले बताएको हो।

मोडर्नाका प्रमुख मेडिकल अफिसर डा. पल बुर्टोनले बीबीसीसँगको अन्र्तवार्तामा भनेका छन्, ‘यदि ओमिक्रोनविरुद्धको खोप आवश्यक परेमा हामीले सन् २०२२ को सुरुवातमै तयार गर्न सक्छौं।’

केही दिनअघि दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला पारेका थिए। दक्षिण अफ्रिकामा फेला परेको सो भेरियन्ट विश्वका विभिन्न मुलुकमा फैलिएको बताइएको छ। सो भेरियन्ट फैलिएको भन्दै विभिन्न युरोपेली मुलुक, अमेरिका, इजरायललगायत मुलुकहरुले विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोकसमेत लगाइसकेका छन्। जापानले सोमबारदेखि आगामी १ महिनासम्मको लागि सबै विदेशी पर्यटकहरुलाई आफ्नो मुलुकमा प्रवेश रोकको घोषणा गरेको छ।

सिंगापुर र मलेसियाले सीमा खोले सीमानाका

सिंगापुरः संसारभरि बढ्दो नयाँ कोभिड भेरियन्ट ओमिक्रोनको त्रासका बीच सिंगापुर र मलेसियाले आफ्ना अन्तर्राष्ट्रिय सीमानाका खुला गरेका छन्। दुवै मुलुकले करिब दुईवर्ष लामो कोभिड प्रतिबन्धपछि सोमबारदेखि आफ्नो सीमा नाका पुन खुला गरेका हुन्।

सिंगापुर र मलेसिया संसारकै सबैभन्दा व्यस्त भू-सीमा नाकाहरु हुन्। संसारमा कोभिड-१९ महामारी सुरु भएलगत्तै दुवै मुलुकले स्वदेशी र विदेशी यात्रुहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएका थिए।

दुवै मुलुकले सोमबारदेखि कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाएका यात्रुहरुलाई देश प्रवेशको अनुमति दिएका हुन्।

पेरुमा ७.५ को भूकम्प, ७५ घरमा क्षति

लिमाः दक्षिण अमेरिकी मुलुक पेरुमा भूकम्पका कारण ७५ भन्दा बढी घर भत्किएका छन्। आइतबार राति गएको ७.५ म्याग्निच्युडको भूकम्पका कारण ७५ भन्दा बढी घर भत्किएका हुन्।

भूकम्प पेरुको उत्तरी क्षेत्रमा गएको थियो भने भूकम्पको धक्का राजधानी लिमासम्म महसुस गरिएको स्थानीयले बताएका छन्। स्थानीय मिडियाका अनुसार भूकम्पले सान्टा मारिया क्षेत्रका ७५ भन्दा बढी घर भत्किनुका साथै अन्य भौतिक क्षति भएको छ।

त्यहाँको सरकारी संस्था नागरिक सुरक्षाद्वारा जारी विज्ञप्तिअनुसार २२० घरमा सामान्य क्षति पुगेको छ भने ७५ वटा घर पूर्णरुपमा भत्किएका छन्। मानिसहरु मृत्युको खबर नआए पनि केही मानिस घाइते भएको बताइएको छ।

चीनको जेलबाट भागेका उत्तर कोरियाली नागरिक पक्राउ

बेइजिङः चीनको जेलबाट भागेका एक उत्तर कोरियाली नागरिक पक्राउ परेका छन्। चिनियाँ नाम राखिएका ३९ जु सिन्जियान उत्तर कोरियाली नागरिक ४० दिनपछि पक्राउ परेका हुन्। चिनियाँ प्रहरीले संक्षिप्त विज्ञप्ती जारी गर्दै ति नागरिक आइतबार पक्राउ परेको जानकारी दिएको छ। ती व्यक्ति सन् २०१३ मा उत्तर कोरियाबाट भागेर चीन पुगेका थिए। अवैधरुपमा चीन प्रवेश गरेको भन्दै चीन सरकारले उनलाई जिलिन शहरको जेलमा राखेको थियो।

सो जेलबाट ४० दिनअघि भागेका उनलाई पक्राउबारे पूर्व सूचना दिने व्यक्तिलाई चीन सरकारले पुरस्कार दिने घोषणा गरेको थियो। उनीबारे सूचना उपलब्ध गराउनेलाई सरकारले पुरस्कार स्वरुप १ लाख ९ हजार डलर उपलब्ध दिने घोषणा गरेको थियो। चीनको जेलमा पर्नुअघि उनी चोरीको आरोपमा उत्तर कोरियाको जेलमा थिए।

पाकिस्तानका १९ चिकित्सक पक्राउ

क्वेटाः पाकिस्तानको क्वेटा प्रहरीले १९ चिकित्सकलाई पक्राउ गरेको छ। प्रदर्शनको नाममा सडक अवरोध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।

आइतबार पाकिस्तानको युवा चिकित्सक संघलगायत त्यहाँका विभिन्न चिकित्सक संघसंस्थाहरुले आफ्ना माग पुरा नभएको भन्दै रेड जोननजिकै प्रदर्शन गरिरहेका थिए। प्रदर्शनको क्रममा उनीहरुले क्वेटा गर्भनर र त्यहाँका मुख्य मन्त्रीको घर घेरेका थिए। सोही आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको डन न्युजमा खबर छ।

त्यहाँका चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुले सरकारी अस्पतालको अवस्था सुधार गर्नुपर्ने, बिरामीको उपचारका लागि निश्चित प्रावधान बनाउनुपर्ने, अस्पतालहरुमा आधुनिक स्वास्थ्य उपकरणहरु थप्नुपर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन्।

इजरायलमा २१ सय वर्ष पुरानो हेलेनेस्टिक फार्म फेला

जेरुसेलमः इजरायलका पुरातत्वविद्हरुले करिब २१ सय ५० वर्ष पुरानो हेलेनिस्टिक फार्म फेला पारेका छन्। उनीहरुले इजरायलको कोस्टल शहर तेल अभिभस्थित २१ सय ५० वर्ष पुरानो फार्म फेला पारेका हुन्।

सो शहरस्थित निर्माणधीन रेलमार्ग स्टेशनमा सो फार्म फेला परेको इजरायल एन्टिक्विटिज अथोरिटी (आइएए)ले बताएको छ। सो फार्म दोस्रो बिसी शताब्दीको भएको बताइएको छ।

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.