विवाहपञ्चमीको पूर्वसन्ध्यामा पनि उठेन फोहोर (फोटोसहित)
जनकपुरधाम : ऐतिहासिक धार्मिक, पूरातात्विक र सांस्कृतिक महत्व बोकेको जनकपुरधाम उप–महानगरपालिकाले फोहोर एवं ढल व्यवस्थापन गर्न नसक्दा सहर दुर्गन्धित भएको छ। सहर व्यवस्थापनमा मेयर लालकिशोर साह, प्रदेश सरकार र संघीय सरकारले समेत कुनै चासो नलिनु यहाँका लागि दुर्भाग्य बनेको स्थानीय बताउँछन्। यतिखेर जनकपुरधामको चोकचोकमा फोहोर यत्रतत्र थुप्रिएको छ ।
जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रसहित कर्मचारीहरुको अडानले जनकपुरधाम दुर्गन्धित बन्दै गएको नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष अनिल मिश्रको भनाइ छ ।
जनकपुरधाममा हरेक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको रौनक जनकपुरमा सुरु भइसकेको छ। सप्ताहव्यापी रुपमा मनाइ सिताराम विवाहपञ्चमी महोत्सवको तयारीस्वरुप जानकी मन्दिरमा रामलिला तथा भजन सन्ध्या सुरु भइसकेको छ।
जानकी मन्दिरसहित धनुषा सुरक्षा समन्वयन समितिदेखि जिल्ला समन्वयन समितिले विवाह पञ्चमीको तयारी सुरु गरिरहँदा जनकपुर भने फोहोरले दुर्गन्धित बनेको छ ।जनकपु्रधामको मुख्य प्रवेशद्वारा पिडारीचोकदेखि रामनन्द चोक, भ्रमरापुरचोक, जिरोमाइल मूरली चोकसहित यहाँको प्रमुख चोकहरुमा हप्तौं दिनदेखि थुपारिएको फोहोर अझै उठन् सकेको छैन् ।
जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहले बेला-बेलामा झाडु समाएर बढार्ने तथा पाइप समाएर सफाइको काम गरिरहेको देखाउने तर वास्तविक सफाइमा ध्यान नदिएको जनकपुरका युवा व्यापारी अमित पाठक बताउँछन् । उनले भने, ‘धार्मिक, सांस्कृतिक सहरको रुपमा विकसित जनकपुरधामको यस्तो कुनै ठाउँ छैन, जहाँ फोहोर नहोस् ।'
'जताततैको फोहोरको थुप्रोले विवाहपञ्चमीमा नकारात्मक सन्देश जान्छ । त्यसैले यसलाई समयमै व्यवस्थित गर्नुपर्ने हो, तर मेयर साह फोटो खिचाउन मात्र सफाइको नाटक देखाउँछ, सफाइ भने गर्दैनन सफाइ गरेको भए यस्तै फोहर हुन्थ्यो,'उनले भने।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा जानकी मन्दिर दर्शन गर्न आउने पर्यटक दुर्गन्धका कारण नाक खुम्च्याएर फर्किन बाध्य छन् । एक सातादेखि नउठाउँदा जानकी मन्दिर प्रवेश गर्ने ढोका, अन्य मठमन्दिर, पोखरी, तलाव र बजार क्षेत्रमा फोहोर थुप्रिएको हो । बजारको होटल, पसल अगाडिबाट फोहोर उठ्न नसक्दा आवत जावतमा समेत समस्या हुन थालेको छ ।
वर्षौंदेखि सडकमा फालिने फोहोरले नगरवासीको स्वास्थ्य तथा बजार क्षेत्रको सुन्दरतामा असर पारिरहेको जनकपुर उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह बताउँछन् । स्थानीयले फोहोर फाल्ने ठाउँको व्यवस्था नभएकाले सडक किनारमै फाल्नुपर्ने बाध्यता रहेको बताए । स्मार्ट सिटीको परिकल्पना गरिएको जनकपुर बजारमा दुर्गन्ध बढ्दै गएको भएपनि उप–महानगरपालिकाको ध्यान नदिएको साहको भनाइ छ।
फ्याक्ने स्थान नहुँदा फोहर संकलन नगरिएको जनकपुरधामका सरसफाइ प्रमुख उपेन्द्र साहले बताए । उपमहानगरले सरसफाइका लागि स्वीपर १ सय जना, ड्राइभर ८ जना, ६ वटा ट्याक्टर, ४ वटा ट्रिपर, २ कन्टेनर र २ लोडर राखेको प्रमुख साहले बताए ।
मेयरको विरोधमा काठमाडौंमा डेलिगेसन
जनकपुरधाम उप–महानगर सफाइको माग गर्दै १५ जना जनप्रतिनिधिसहितको टोली संघीय राजधानी काठमाडौं पुगेका छन् । वडाध्यक्षहरुले नगर सफाइको माग गरेपछि सरसफाइ सामग्री नदिएर दुव्र्यवहार गरेका वडाअध्यक्ष सुदर्शन सिंहले मेयरको लापरवाही र नालायकीपनले फोहर उठन नसकेको आरोप लगाए ।
जनकपुरको सफाइमा मेयर गम्भीर नभएको ७ नं. वडाध्यक्ष जानकीराम साह बताउँछन् । ‘सरसफाइ सामग्री, ट्याक्टर र कर्मचारी नगरपालिकामै छन्, तर ती सामग्री र कर्मचारी माग्दा पनि दिइरहेका छैनन् । अझ मेयरले कर्मचारीमार्फत हामीलाई गालीगलौज गर्न लाउँछन्। आइतबार काठमाडौं पुगेका वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साहले भने, ‘मेयरले सरसफाइमा ध्यान नदिएको र ६ महिनादेखि बोर्ड बैठक (नगर कार्यपालिकाको बैठक) समेत बसाउन नचाहँदा हामी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउन काठमाडौं आएका छौं ।’
उप-महानगरपालिकामा सरसफाइ नगरेको भन्दै केही वडाअध्यक्षले १४ कात्तिकमा मेयर लालकिशोर साहको घरमै फोहोर थुपारेका थिए। फोहोर उठाउन माग गर्दै उनीहरुले ६ मंसिरमा पनि मेयरको कार्यकक्षमा ताला लगाउँदै धर्ना दिएका थिए।