निर्माण क्षेत्रमा कर्जा घट्यो, उपभोग्यमा अधिक
काठमाडौं : निर्माण क्षेत्रमा कर्जा घटेको छ। गत वर्षको तुलनामा निर्माण क्षेत्रको कर्जा २६.१२ प्रतिशतले घटेको छ।
कोभिडका कारण निर्माण क्षेत्र प्रभावित हुँदा कर्जा घटेको बैंकरहरू बताउँछन्। चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ खर्ब ६१ अर्ब २१ करोड रुपैयाँ निर्माण कर्जा प्रवाह भएको छ। गत वर्ष ३ खर्ब ५३ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।
कोभिड–१९ बाट अधिकांश व्यवसाय सञ्चालन नहुँदा लगानी बढेको थिएन। चालू आवमा कर्जा प्रवाह अधिक देखिए पनि उपभोग्य वस्तुमा अधिक प्रवाह भइरहेको छ। बैंकमा लगानीयोग्य क्षमता कम हुँदा तरलता अभाव भएको हो।
यद्यपि कुल कर्जा वृद्धिदर गत वर्षको तुलनामा ३१.६३ प्रतिशतले बढी छ। नेपाल राष्ट्र बैंकको असोज मसान्तसम्मको तथ्यांकअनुसार समग्रमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट ४४ खर्ब ९२ अर्ब ५२ करोड कर्जा प्रवाह भएको छ। गत वर्षको सोही अवधिमा ३४ खर्ब १२ अर्ब ९१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो। जबकि केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष २०७७/०७८ को प्रारम्भिक तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ छ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा कर्जा १०५.४२ प्रतिशत बढी हो। अहिले जीडीपी गणना नै परिस्कृत गर्नुपर्ने अवस्था भएकाले सो तथ्यांकमा अझै धेरै छुटेकाले यसले पूर्ण चित्र नदेखाउने बैंकविज्ञ अनलराज भट्टराईले बताए। यद्यपि यसबारे अध्ययन भइरहेको छ।
उनका अनुसार नेपालको अनौपचारिक अर्थतन्त्र ३० प्रतिशतभन्दा बढी छ। ‘अनौपचारिक क्षेत्रको आकार पनि बढेकाले राम्रोसँग तथ्यांकले नसमेट्न सक्छ। तथ्यांक गणना भइरहेकाले सही तथ्यांक निस्कन सक्छ,’ उनले भने।
चालू आवको तेस्रो महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको क्षेत्रगत कर्जामध्ये सबैभन्दा बढी वृद्धि उपभोग्य कर्जामा गएको छ। बैंकहरूले यस अवधिमा ६ खर्ब ३६ अर्ब ४१ करोड रुपैयाँको उपभोग्य कर्जा दिएका छन्। यो गत वर्षको भन्दा २७७.८१ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा सो शीर्षकमा १ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँमात्र कर्जा प्रवाह भएको थियो। कर्जामा थोक तथा खुद्राले ८ खर्ब ९९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। गत वर्षको तुलनामा सो क्षेत्रमा कर्जा प्रवाह २९.६० प्रतिशतले वृद्धि भएको हो। गत वर्ष ६ खर्ब ९३ अर्ब रुपैयाँ भएको थियो। तुलनात्मक रूपमा उपभोग्य सामानको बढी खपत भएकाले पनि यस्ता क्षेत्रमा कर्जाको माग धेरै भएको बैंकरहरू बताउँछन्। नेपाल भित्रिएको रेमिट्यान्सको करिब ८० प्रतिशत उपभोग्यमै खर्च हुँदै आएको छ। हरेक महिना खाद्यवस्तु, लत्ताकपडा, जुत्तालगायतका थोक तथा खुद्रावस्तुकै व्यवसायमा ग्राहकले कर्जा लैजाने गरेकाले बढी अंश हुने गरेको नेपाल बैंकर्स संघले जनाएको छ। दोस्रोमा माछापालनमा कर्जा बढी गएको छ। यसमा ९६.७५ प्रतिशतले कर्जा बढी १० अर्ब ९४ करोड प्रवाह भएको छ। गत आवको सोही अवधिमा ५ अर्ब ५६ करोड थियो।
माछापालनको वृद्धि बढी देखिए पनि कुल क्षेत्रगत कर्जाको अंश भने कमै हो। यस अवधिमा कृषि तथा वन पैदावर शीर्षकमा ३ खर्ब १ अर्ब रुपैयाँ कर्जा गएको छ। यो गत वर्षको भन्दा ४८.५६ प्रतिशतले बढी हो। गत आव २ खर्ब ३ अर्ब रुपैयाँ मात्र थियो।
यसैगरी खनिज क्षेत्रमा ९ अर्ब २३ करोड कर्जा गएको छ। बैंकले कृषि, वन र पेयपदार्थ सम्बन्धित उत्पादनमा ७ खर्ब ३० अर्ब १९ करोड रुपैयाँ लगानी गरेका छन्। यो गत वर्षको भन्दा २८.११ प्रतिशत बढी हो। धातुजन्य उत्पादन, मेसिनरी र इलेक्ट्रोनिक सामग्री तथा मर्मतमा ७१ अर्ब लगानी गरेका छन्। कोभिड–१९ बाट बढी प्रभावित बनेको होटल तथा रेस्टुराँ क्षेत्रको व्यवसायमा सुधार हुन थालेको छ। बैंकको लगानी पनि गत वर्षको तुलनामा २३.६५ प्रतिशतले वृद्धि भएको छ।
असोजसम्म सो क्षेत्रमा १ खर्ब ९३ अर्ब ४५ करोड रुपैयाँ लगानी भएको छ। गत वर्ष १ खर्ब ५६ अर्ब थियो।