बालोन अवार्ड जितेपछि के भने मेसीले ?

बालोन अवार्ड जितेपछि के भने मेसीले ?

पेरिस : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) एवं अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले बालोन डी’ओर अवार्ड जितेका छन्। मेसीले सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी’ओर अवार्ड जितेका हुन्।

फ्रेन्च फुटबलले सोमबार राति विशेष समारोहकाबीच मेसीलाई बालोन डी’ओर अवार्ड प्रदान गरेको हो। मेसीले कीर्तिमानी सातौं पटक बालोन डी’ओर अवार्ड जितेका हुन्। उनले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ र सन् २०१९ मा बालोन डी’ओर अवार्ड जितेका थिए।

मेसीले जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इङ्लिस क्लब चेल्सीका मिडफिल्डर जोगिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन्। यसैगरी रियल म्याड्रिड एवं फ्रान्सका स्ट्राइकर करिम बेन्जमा चौथो, चेल्सी एवं फ्रान्सका मिडफिल्डर एनगोलो काटे पाँचौं र मेसीका चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड एवं पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छैटौं स्थानमा रहे। 

सन् २००८ देखि २०१९ सम्म बालोन डी’ओर अवार्डमा मेसी र रोनाल्डोबीच नै प्रतिस्पर्धा हुँदै आएको छ। सन् २०१८ मा भने क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले यो अवार्ड जितेका थिए। रोनाल्डोले पनि अहिलेसम्म पाँच पटक यो अवार्ड जितिसकेका छन्। उनले सन् २००८, २०१३, २०१४, २०१६ र सन् २०१७ मा बालोन डी’ओर अवार्ड जितेका थिए। 

फ्रेन्च फुटबलले विभिन्न देशका एक सय ८० खेल पत्रकार, राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकहरूको भोटका आधारमा विजेता घोषणा गरेको हो। कोरोना भाइरसको महामारीका कारण सन् २०२० को बालोन डी’ओर अवार्ड भने प्रदान गरिएन। 

३४ वर्षीय मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि दिलाएका थिए। उनले सन् २०२१ मा ४० गोल गरिसकेका छन्। मेसीले स्पेनिस क्लब बार्सिलोनाका लागि २८ गोल गरेका छन्। यसैगरी अर्जेन्टिनाका लागि आठ र पीएसजीका लागि चार गोल गरेका छन्। 

‘सातौं पटक बालोन डी’ओर अवार्ड जित्नु आफैमा अविश्वनीय छ’, मेसीले भने, ‘दुई वर्ष अगाडि नै बालोन डी’ओर मेरा लागि अन्तिम हुनेछ भन्ने सोचेको थिएँ। मानिसहरू कहिले सन्न्यास लिने भनेर सोध्थे। म उनीहरूलाई भन्छु। म अहिले पेरिसमा छु र निकै खुसी पनि छु।’ 

मेसीले कोपा अमेरिकाको उपाधिका कारण सन् २०२१ विशेष वर्ष बनेको बताए। ‘कोपा अमेरिकाको उपाधि मेरा लागि विशेष बन्यो। माराकाना रंगशालामा घरेलु टोली ब्राजिललाई १–० गोलले हराउँदै उपाधि जितेर अर्जेन्टिनाका मानिसहरूसँग खुसी मनाउन पाउँदा विशेष महसुस गरेको थिएँ’, मेसीले भने, मैले फुटबलमा लामो समय बिताएँ। निकै कठिन समय र आलोचनाका बाबजुद अर्जेन्टिनालाई उपाधि दिलाउन पाउनु मेरा लागि ठूलो कुरा हो।’   

महिलातर्फको बालोन डी’ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन्। यस्तै बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दी इयर’को उपाधि जिते। बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू–२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे। पीएसजीका गोलरक्षक जियानलुगी डोनारुम्माले उत्कृष्ट गोलरक्षकको यासिन ट्रफी प्राप्त गरे। उनले इटालीलाई युरोकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। क्लब अफ दी इयरको अवार्ड इङ्लिस क्लब चेल्सीले हात पार्‍यो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.