शिक्षा पद्धतिमा सक्कलबमोजिम नक्कल

शिक्षा पद्धतिमा सक्कलबमोजिम नक्कल

गलत शिक्षण पद्धतिकै कारणबाट आजको मानव पैसा र शक्तिको होडमा तँछाडमछाड गरिरहेका छन् न कि कुनै एक सैद्धान्तिक अडानमा।


नव समाजको विकासका लागि शिक्षा अपरिहार्य छ। यो क्रम युगौंदेखि चल्दै आएको हो। शिक्षाभन्दा विद्यार्थीले पुस्तकको अध्ययन वा गुरुले दिएको प्रवचनका आधारमा आफूमा भएको सिर्जनशीलता, नेतृत्व विकास, बौद्धिक तथा विश्लेषणात्मक क्षमताको विकास, सीप विकास, समाजको मूल्यमान्यताबारे जानकारी आर्जन गर्नु उत्तम हो। सनातनदेखि भारतीय महाद्वीपमा विद्याका लागि गुरुकुल शिक्षा पद्धतिको उपयोग गर्दै आएको भेटिन्छ। तर आजको शिक्षा पद्धति गुरुकुल शिक्षा पद्धतिसँग मिल्दैन। गुरुकुलको शिक्षा पद्धति अनुरूप विद्यार्थीको सो–जागरणलाई महत्त्व दिइन्थ्यो।

सिर्जनशील र विचारशील हुन मद्दत गथ्र्यो। नैतिकवान् र चरित्रशील हुन प्रोत्साहन गथ्र्यो। सबैका आआफ्ना ग्रहण गर्न सक्ने क्षमताअनुसार विद्या आर्जन हुन्थ्यो। त्यहाँको पास को फेल ? केही हुँदैनथ्यो। को पहिलो श्रेणी र को तल्लो श्रेणी भनेर कसैको क्षमतालाई दर्जा दिने चलन पनि थिएन। तर आजको शिक्षा पद्धतिमा विद्यार्थीमा विद्या आर्जनको भोकभन्दा पनि कक्षामा पास र फेल, को प्रथम र को द्वितीय हुने होडलाई प्रोत्साहन दिएको पाइन्छ। यहाँ विषय घोकेर परीक्षामा बस्नेले १०० पूर्णांकमा ८०–९० प्रतिशत ल्याउँछ। जो विद्यार्थीले विषयसम्बन्धी आफ्नो स्वतन्त्र विचार र विवेचना राख्छ, ऊ यात परीक्षामा अनुत्तीर्ण हुन्छ यात कम प्रतिशत ल्याएर उत्तीर्ण हुन्छ। यहाँ विद्या आर्जनभन्दा सक्कलबमोजिम नक्कलले प्रोत्साहन पाउँछ। आजको शिक्षा पद्धतिले विश्वमा भौतिक समृद्धि ल्याउन मद्दत त गर्‍यो तर नैतिक मूल्य मान्यता र मनुष्यको समग्र व्यक्तित्व विकासमा सकारात्मक परिवर्तनको पाटोमा कम मात्र विचार पुर्‍याएको देखिन्छ। आजका बालबालिकामा आपसी सहयोग र सौहार्दताको साटो प्रतिस्पर्धा र वैमनश्यताको विकास, करुणा र प्रेमको साटो हठीपन र स्वार्थीपनको विकास देख्न र सुन्न पाइन्छ। कक्षामा सुँगाले जस्तो घोक्न र रट्न सिकाइन्छ न कि विचारशील र सिर्जनशील हुन।

समग्रमा विद्यार्थीको व्यक्तित्वको विकासको साटो मेसिन मानव (रोबोट) बनाउन मद्दत गरेको छ। आफ्नो व्यक्तिगत प्रतिभा र क्षमताले प्रोत्साहन नपाउँदा कतिपय विद्यार्थीमा मानसिक तनाव हुनु स्वाभाविक हुन्छ र उनीहरू अन्त्यमा गएर लागूऔषध, जाँडरक्सी या फेरि ठूलो आपराधिक क्रियाकलापमा फस्छन्। हाम्रा विद्यार्थी विद्यालयको शिक्षा सकेर निस्कँदा एक मेसिन मानव भएर निस्कन्छन् न कि एक जागरुक नागरिक भएर। गलत शिक्षण पद्धतिकै कारणबाट आजको मानव पैसा र शक्तिको होडमा तँछाडमछाड गरिरहेका छन् न किकुनै एक सैद्धान्तिक अडानमा या फेरि नैतिक बलमा। देशको स्रोत साधनलाई हेर्ने हो भने जल, माटो, ढुंगा, पत्थर, दृश्यावलोकन, विविध जैविक उत्पादन, युवा मानव संशाधन, वनजंगल, पशुधन आदिछन्। यी हामीसँग भएका प्राकृतिक स्रोतले सीप विकासका लागि आह्वान गरिरहेको छ। तर, हाम्रो शिक्षा नीतिले विदेशमा गएर अत्यन्त संवेदनशील रकेट, हवाइजहाज, मोटर गाडी आदि मेसिनरी बनाउन शिक्षा दिएको छ। हालको शिक्षा पद्धतिले नेपाली युवालाई बिदेसिन प्रोत्साहन गर्छ न कि यो देशप्रति माया जगाउन र स्वाभिमानी नागरिक भएर बाँच्न।

एसएलसी पास युवा हलो चलाए या पशुपालन गरे समाजमा हाँसोको पात्र बन्छ। त्यसैले आजका युवा गाउँमा हलो जोत्नभन्दा विदेशी कम्पनीमा नोकरी गर्न तयार छन्। यसप्रकार एकातर्फ नेपालका उच्च शिक्षा लिएका होनहार युवा युरोप, अमेरिका, अस्ट्रेलिया, जापानजस्ता मुलुकमा आफ्नो सीप र विद्या बेचिरहेका छन्। अर्कोतर्फ आईए, बीएसम्म उत्तीर्ण युवा देशभित्र रोजगारी र उद्यमका लागि अनुपयुक्त वातावरण ठान्दै ३०–४० हजार मात्र कमाउन पनि गर्मी मुलुकहरूमा जान्छ। जो पसिना र रगत बेच्न बाध्य छ। युवा बिदेसिनुको मूल कारण हाम्रो शिक्षा पद्धति नै हो। जसले सुँगा रटाईमा जोड दिएकाले हो। जसले युवामा सिर्जनात्मक क्षमताको कमी छ। युवामा नवीन खोजगर्न सक्ने क्षमताको विकास हुन नसक्नुका कारण नयाँ व्यवसाय पहिचान गर्न गाह्रो हुन्छ। उनीहरू विदेश पलायन भएर श्रम बेच्न बाध्य हुन्छन्। शिक्षा पद्धतिले सैद्धान्तिक अध्ययनमा मात्र बढी जोड दिँदा विद्यार्थीमा व्यावहारिक ज्ञान शून्य हुन्छ। जस्तो, पत्रकारिताको विद्यार्थीलाई पत्रकारिताको सैद्धान्तिक पक्षको पूर्ण ज्ञान छ तरसमाचार संकलन कसरी गर्ने र समाचार कसरी लेख्ने भन्ने व्यावहारिक पक्षको सीप छैन।

हालको शिक्षा पद्धतिले नेपाली युवालाई बिदेसिन प्रोत्साहन गर्छ न कि यो देशप्रति माया जगाउन र स्वाभिमानी नागरिक भएर बाँच्न।

जब आफ्नो विद्यालाई प्रयोगमा ल्याउनुपर्छ तब उनीहरू यस देशको विशिष्टतासँग मेल खाने अर्थ नीति ल्याउन सक्दैनन्। नेपालको अर्थतन्त्र झन्झन् परमुखी र नाजुक अवस्थामा पुगेको छ। नेपाल सरकारले नेपाली युवाहरूको रगत, पसिना र लासमा टेकेर विप्रेषणबाट २०१८–१९ मा मात्र वार्षिकरु. ८७९ अर्ब आर्जन गर्‍यो जुन कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत हुन आउँछ। यसले नेपालको अर्थतन्त्र त जीवित रहन मद्दत र सांसदहरूलाई भत्ता दिन पुग्यो तर यसले गर्दा घरघरमा बिग्रह बढेको छ, गाउँगाउँ उजाड हुँदै छ, काठमाडौं सहरमा र अन्य ठूला सहरहरूमा गाउँ छोडेर हिँडेका आप्रवासीको अनियन्त्रित भीड बढ्दो छ। विदेशबाट फर्केर आएका युवाहरूमा झन्झन् नैराश्यता छ, समाजमा उत्पीडन छ, गरिब नेपालीहरू शोषित र पीडित छन्।

अर्कोतर्फ खाडी मुलुकमा गएर आफ्नो रगत पसिना चुहाएर कमाएर ल्याएको रकम नेपालमा आएर अधिकांशले अनुत्पादक क्षेत्रमा लगानी गरेको पाइन्छ। कसैकसैले व्यवसायको खोजीमा व्यापार गरेको पाइन्छ। तर, आफ्नो मौलिक स्रोतसाधनको अभावमा मोबाइल पसल, फेन्सी लुगाको पसल, विदेशी जुत्ताको पसल, मोटरसाइकल पसल आदिमा बढीभन्दा बढी लगानी गर्न बाध्य हुन्छन्। यसले गर्दा रगत पसिनाले कमाएको रकम फेरि विदेशमै पलायन हुन पुगेको छ। फेसबुक र टिकटकले गरेर रिचार्ज कार्डबाट वार्षिक अर्बौं अर्बको धनराशी विदेश गएको छ भने भन्सार विभागको तथ्यांक हेर्दा २०१८–१९ मा मात्र ग्यास, पेट्रोल र डिजलबाट २१४.४८ अर्ब बिदेसिएको छ। यो एक माखे साङ्लो हो र यही क्रम जारी रहने हो भने नेपाल कहिल्यै पनि उँभो लाग्ने छैन। नेपालको शिक्षा पद्धति हो, जसले नेपाली विद्यार्थीमा न त सीप विकास गर्न मद्दत गर्‍यो न विद्या हासिल गर्न मद्दत, मात्र सक्कलबमोजिम नक्कल गर्न सिकायो।

नेपालका नीतिनिर्माता पनि यही शिक्षा पद्धतिमा हुर्किएकाले गर्दा यहाँका शिक्षा, कृषि, उद्योग वाणिज्य, स्वास्थ्य नीति आदि पनि देश, काल, परिस्थिति सुहाउँदो नभएर घोकन्ते विद्यामा आधारित छ। यहाँ विदेशी पुस्तकमा जे लेखिएको र विदेशमा जे देखिएको छ, त्यसैको हुबहु नक्कल हुन्छ। नेपालको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक विशिष्टतालाई हेरिँदैन। हार्वर्ड युनिभर्सिटी, अक्सफोर्ड युनिभर्सिटी आदि विदेशी विश्वविद्यालयमा जे पढेर आइन्छ, त्यो नै हुबहु लागू हुन्छ। यहाँ कोदोको रोटीमा खुर्सानी लगाएर पेट भर्ने नेपालीलाई हेरेरभन्दा पाउरोटीमा बटर लगाएर खाने नेपालीका लागि योजना बन्छ। काठमाडौं उपत्यकाको चार दिशामा चारवटा स्मार्टसिटीका लागि ३५० अर्बको खर्च अनुमान गरिएको छ। यो नीतिले सहरीकरणलाई अझ बढावा दिन्छ न कि आफ्नो गाउँ आफैं बनाऊ अभियानलाई। हाम्रो जस्तो मुलुकमा दुर्गम जिल्लालाई कसरी विकास गर्ने भन्ने सोचलाई छोडेर सहर छेउ अर्को सहर बनाउने नीति अवलम्बन भइरहेको छ। यस्तै नीति हो भने स्मार्ट सिटीको योजना पनि कुनै एक नीति निर्माताको सनक मात्र हुन्छ न कि देश विकासमा एक कोशे ढुंगा।

शिक्षा पद्धतिले कुनै पनि एक विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्न सक्नुपर्छ। सय दुई सय वर्षअघि प्रतिपादित सिद्धान्त घोक्न लगाउने साटो आजको देशमा आवश्यक सीप सिकाउन जरुरी छ, खेतका लागि कोदालो समाउन सिकाउनु छ। शिक्षाका लागि कुशल शिक्षक बनाउन जरुरी छ आदि। आजको शिक्षाले विद्यार्थीमा धैर्य, नेतृत्व क्षमता, सिर्जनशीलता, आपसी सद्भाव, विश्लेषणात्मक प्रतिभा आदि सीप र मानवीय मूल्यको विकास गर्न जरुरी छ न कि रकेट वैज्ञानिक बनाउन। स्वार्थीपनबाट उठेर सामूहिक चिन्तन गर्न सक्ने बनाउनु पर्छ। जसले गर्दा आजका लोभी राजनीतिक नेताभन्दा फरक विचारका र परिवार मात्र नहेरेर देशको समग्र विकासलाई ध्यान दिने कुशल राजनेता पैदा हुन सकुन्। शिक्षालाई उद्योग बन्न दिन हुँदैन जहाँ मेसिनमा एकातर्फबाट कच्चा पदार्थ हालेपछि अर्कोतर्फबाट एकै समयमा समानको वस्तु उत्पादन हुन्छ।

पैसा कमाउन मात्र शिक्षा होइन, एक स्वतन्त्र र चरित्रवान् मानव बन्न सिकाउनु पर्छ। यस प्रकारको शिक्षा प्रणालीले विश्वसामु विभिन्न विधामा विशिष्ट व्यक्तित्व र उद्यमीहरू पैदा गर्न मद्दत गर्छ न कि मात्र सेयर दलाल, जग्गा दलाल र जागिरे। विभिन्न परिस्थितिलाई मध्यनजर गरेर १०–१५ वर्षयता पश्चिमा मुलुकका शिक्षाविद्हरूले विद्यार्थीमा २१औं शताब्दीमा आवश्यक सीप भनेर विद्यार्थीमा तीन मुख्य सीप विकासको अपेक्षा गरेका छन्। जसअन्तर्गत १) सिकाइ सीप– समालोचनात्मक चिन्तन, सिर्जनशीलता, सहयोगी भावना, प्रभावकारी सञ्चार २) साक्षरता सीप– सूचना साक्षरता, सूचनाको माध्यमबारे साक्षरता, प्रविधि साक्षरता ३) जीवन उपयोगी सीप– लचकता, धैर्य, संवेदनशीलता, नेतृत्व विकास, पहल, उत्पादकत्व, सामाजिक सौहाद्र्रता आदि पर्छन्। यस पद्धतिअन्तर्गत विद्या आर्जनका लागि कक्षा कोठामा हुने प्रवचन मात्र नभएर संगीत, खेलकुद र अतिरिक्त क्रियाकलापको पनि महत्त्वका साथ उपयोग गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.