संसारलाई त्राण दिन राम अवतार

संसारलाई त्राण दिन राम अवतार

 नेपालभूमि जानकीको जन्मभूमि जनकराजको जन्म र कर्मथलो पूर्वीय चिन्तनको भण्डार हो, जनकपुर क्षेत्र।


यसपालिको राम जानकीको विवाह उत्सव सुरु भएको छ। सीताराम विवाह महोत्सवको साताव्यापी कार्यक्रम तय भइसकेको छ। पहिलो दिन १७ गते राम–सीताको झाँकीले नगर परिक्रमा गर्ने, दोस्रो दिन रामले सीतालाई फूलबारीमा दर्शन दिएको स्मरणमा फूलबारी लीला गर्ने र तेस्रो दिन जनकको सर्तअनुसार धनुष यज्ञको आयोजना गर्ने काम हुनेछ। चौथो दिन राम र सीताका अलग महन्तहरूले तिलक महोत्सव गर्ने र पाँचौं दिन विवाह मण्डप तयारीमा नदीबाट ल्याइएको माटो राखिने मटखोर पर्व मनाइन्छ। छैटौं दिन बाह्रबिघा क्षेत्रमा राम जानकीको डोलालाई स्वयंवरमा सरिक गराउँदै साँझ भव्य विवाह बन्धनमा बाँध्ने परम्परा छ। सातौं दिन अर्थात् पञ्चमीको भोलिपल्ट जन्तीहरू बिदाइ गर्ने, उपहार र कोसेली दिँदै उत्सवको समापन गरिने दिन हो।

हरेक वर्ष जनकपुरमा जानकी विवाह भव्यताका साथ मनाइन्छ। पूर्वीय चिन्तनमा परमेश्वरकोे चर्चा सबैतिर पाइन्छ। परमेश्वर, परमतत्त्व, ब्रह्मभाव सबै जीवात्मामा निराकार रूप लिएर चित् स्वरूपमा रहेको र जगत्मा सगुण, साकार स्वरूप लिएर सर्वत्र, सर्वव्यापी भएको कुरा धर्मशास्त्रहरूले व्याख्या गरेका छन्। हाम्रा श्रुति (वेद)हरूले परमतत्त्व जीवात्मामा आराम तत्त्व लिएर हरप्राणीमा राम रहेको कुरा पुष्टि गरेका छन्। स्मृति (पुराण)हरूले परमेश्वरका परम लीला प्रसंग, अवतार कथाहरू अत्यन्त रसिलो ढंगले प्रस्तुत गरेका छन्। परमेश्वरका अनेक अवतारमध्ये त्रेतायुगीन ज्ञानको युग मानव जीवनको अध्ययनको आरम्भ दिन स्मरणस्वरूप चैत्रशुक्ल मध्याह्न १२ बजे धर्तीमा अवतरित श्रीराम अवतारलाई श्रीहरिको पूर्र्ण र शान्त अवतारको रूपमा मानिएको छ। अयोध्या नरेश दशरथका कुलमा कौशल्याको गर्भबाट श्रीराम प्रकट भएका थिए। स्वायम्भूमनु एवं शतरूपी महारानीका तीनवटा वरदान पूरा गर्ने क्रममा प्रथम पुत्रका रूपमा श्रीराम भई धर्तीमा अवतरित भएका प्रसंगहरू प्रशस्त पाइन्छन्। उनै रामसँग सीताको विवाह प्रसंग नै विवाह पञ्चमी हो। अर्थात् 
मार्ग शुक्ल पञ्चमी!

संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विराट् चर्चा गरेका छन्। यद्यपि वाल्मीकि सुरुमा एक ब्याधा थिए। वाल्मीकिले मरा मरा भन्ने नाम जप्दा राम राम भन्ने शब्द उच्चारण हुुन पुगी तपस्वी साधकका रूपमा श्रीरामका पावन कथा प्रसंगहरूको सविस्तार उल्लेख गर्न पुगेका थिए। उनका मुखबाट स्वयं वेद प्रस्तुत भई रामायणको एक रूप लिएका प्रसंगहरू पनि यत्रतत्र भेटिन्छन्। सबैै मानिसका लागि वेद सरल र सहज छैन। आज वेदको सविस्तार वर्णित रामायणको गाथा विभिन्न भाषामा समेत प्रस्तुत हुँदै संसारभर फैलिएको छ। रामको गाथा गाइएको रामायण साँच्चै साहित्यको आधार नै हो भनिन्छ जसले रामको नाम लिन्छ, रामायण काव्यको अध्ययन गर्छ ऊ स्वयं कवि बन्न पुग्छ। आज विश्वभरि नै चर्चा पाएको रामायण, महाभारत र गीताशास्त्रले सम्पूर्ण भवरोगको औषधि दिन्छ भनिएको छ। 

शोक, भय, चिन्ता, व्याकुलतामा परेकाहरूको सही र शुद्ध औषधि तत्त्व भनेको रामायण पाठ, रामको स्मरण मन्त्रोच्चारण, श्रीरामको कथा अवतार र पावन लीलाहरूको संकीर्तन नै हो। व्यवहार परस्त तुलसीदास सन्त भए रामकै कृपाले, हिन्दी भाषाका कवि मैथिली भाषादेखि नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यसमेतले रामायणको चर्चा गर्न छाडेका छैनन्। अजन्मा भएर पनि स्वर्गलाई भन्दा धर्तीलाई प्यारो गर्ने, धर्तीका समस्त जीवहरूको उद्धार गर्ने मानव जीवनका आदर्शको संकेत दिने श्रीराम हुन्। उनी स्वयं महालक्ष्मी सीतालाई लिएर धर्तीमा प्रस्तुत हुँदा ब्रह्माण्डका सारा विषय वासनासमेत मोहित बन्न पुग्छन्। धर्तीमा रहेको प्रदूषणलाई हटाई आदर्श घर, परिवार र राज्य स्थापना गर्न बेलाबखत धर्तीमा देखिने दुष्ट राजाहरूको अन्त्य गर्ने काम भयो। यसरी पूरै धर्तीलाई दुष्परिणामबाट बचाउने क्रममा श्रीनारायणबाट श्रीरामको उदय भएको पावन दिनलाई नै रामनवमी भनिन्छ।

दशरथले राममा पाएको पितृस्नेह, पत्नीव्रत धर्म अर्धांगिनी सीताको स्वभाव, भरतप्रतिको उदारभाव, शत्रुघ्नको सेवाभाव गरेको पाइन्छ। जसले आज पनि जीवनोपयोगी यथार्थ र आदर्श समाज निर्माणमा सन्देश दिइरहेकै छ। रामायण मानव जीवनको यथार्थपरक आस्था हो। व्यवहारत: एउटै कडी हो जसबाट नजिकै आएको राज्य सुखभोग, ऐशआरामलाई सीधै तिरस्कार गरी सरल र पवित्रोत्तम जीवन सञ्चालन गर्न सबैलाई संस्मरण गराउँछ। राम वनवास जाँदा दु:खी छैनन् र राज्य प्राप्तिमा हर्षित पनि देखिन्नन्। जीवनका लागि योभन्दा ठूलो त्याग के पााइन्छ ? बाबुको वचनलाई रत्तिभर उल्लंघन नगर्ने मर्यादाका प्रतीक श्रीराम आदर्श पति, आदर्श पुत्र, आदर्श भाइ र आदर्श राजासमेत हुन्। सदाचारको आदर्श र व्यवहार प्रयोगको असल नमुना रामायणले हरमानवलाई अनुशासित बन्न प्रेरित गर्छ। गृहस्थ जीवनका लागि रामायण सर्वोत्कृष्ट र सर्वोत्तम शास्त्र हो।

नेपालभूमि जानकीको जन्मभूमि जनकराजको जन्म र कर्मथलो पूर्वीय चिन्तनको भण्डार हो, जनकपुर क्षेत्र। जहाँ सत्सङकै क्रममा राजा जनकले देवर्षि नारदसँग भगवान्को अवतार प्रसंगबारे प्रश्न राख्दा भगवान्का अशांश, अंश, आवेश, कला, पूर्ण एवं परिपूर्णतम गरी मुख्य ६ अवतार बताइएको थियो। पूर्वीय दर्शनमा बहुदेवता विविधताको चर्चा भएको छ। सृष्टिको उषाकालमा मरिचि आदि ऋषिमुनिहरूलाई अशांशका अवतारका रूपमा लिएको पाइन्छ भने ब्रह्मा आदिलाई अंश अवतार, कपिलदेव, कच्छप अवतारलाई कला अवतार, परशुरामलाई आवेश अवतार, रामलाई पूर्ण अवतार र श्रीकृष्णलाई परिपूर्णतम अवतार मानिएको छ। युगयुगमा परमेश्वरले आवश्यकताअनुसार अवतार लिनेबारे शिवगीतादेखि रामगीता, महाभारतदेखि श्रीमद्भगवत् गीतासम्ममा चर्चा भएको पाइन्छ।

शिवगीतामा देवी पार्वतीलाई र रामगीतामा भाइ लक्ष्मणलाई यी प्रसंगहरू सुनाइएको छ। कसैलाई दिइएको वरदान पूरा गर्नदेखि कसैलाई गरिएको श्राप पूर्णताका लागि पनि देवताले अवतार लिएको देखिन्छ। सृष्टि सञ्चालनका लागि, बाधा फुकाउन लौैकिक, अलौकिक दुवै कार्यका लागि अवतारको प्रसंग देखापर्छ। हिरण्यराजले उपद्व्रव गरिएकी पृथ्वीलाई बचाउन बराह, हिरण्यकशिपुको आवेगवाट प्रल्हादलाई बचाउन नृसिंह, समुद्र मन्थनबाट प्राप्त अमृतको दुरुपयोगबाट रोक्न मोहिनी, समुद्र मन्थनलाई साथ दिन कुर्म रामले अवतार लिएको पाइन्छ। वेदको रक्षा गरी धर्तीलाई त्राण दिन मत्स्य, धर्ममा विकृति रोक्न, हंश अवतारदेखि सांख्य योग सिद्ध गर्न र कपिल एवं ऋषभ अवतार र रावणादि असुरहरूबाट धर्तीलाई संरक्षण दिन पनि अवतार भएको चर्चा पाइन्छ।

दुष्ट राजाहरूको संहार गर्न परशुराम अवतार लिने भगवान् कंश आदिको भयबाट दूर गर्न कृष्णदेखि संसारमा अहिंसा धर्म स्थापनाका लागि बुद्धअवतार लिने प्रसंग पनि शास्त्रहरूमा वर्णित छ। त्यस्तै महाकलिका अन्त्यमा उनै परमेश्वरले कल्की अवतार लिने पनि भविष्यवाणी गरिएको छ। सूर्यवंशमा मध्याह्नमा धर्ती अवतरित श्रीरामको जन्मदिन रामनवमी पर्व पनि सबैका लागि महत्त्वपूर्ण दिन हो। यसपर्वमा मुलुकभरका राममन्दिर एवं अन्यान्य देव, तीर्थस्थलहरूमा विशेष भीडभाड नै हुन्छ। त्रेतायुगमा रावणले ब्रह्माण्डलाई नै असह्य कष्ट दिएपछि धर्तीमाता गाईका रूपमा ब्रह्मासामु पुगेको पाइन्छ।

ब्रह्मा आदि देवताले क्षीर सागरवासी श्रीनारायणसामु रोदन प्रकट गरेपछि आफूले धर्तीमा मानवरूपमा आई संसारलाई त्राण दिने वचन पूरा गर्न श्रीविष्णुले राम अवतार लिएका हुन्। साथै अयोध्या नरेश दशरथका कुलमा चार भाइ चार अंशका रूपमा जन्म लिने वाचा पूरा गर्न पनि उक्त अवतार लिएका हुन्। सूर्यवंशी अयोध्या नरेशको सन्तान नहुँदा गुरु वशिष्ठ सामु दु:ख प्रस्तुत हुँदा गुरु आज्ञाले पुत्रेष्टि यज्ञ गर्ने सन्दर्भ छ। जसमा श्रृंगी ऋषिबाट सो महायज्ञ हुँदा यज्ञबाट अग्निदेव प्रकट भई हातमा रहेको पायस राजालाई दिई रानीहरूलाई बाँड्नू भने। त्यसपछि रानीहरूमा गर्भ रहँदा खीर पायसका प्रभावले वीर चार पुत्र रत्नहरू प्राप्त भएको प्रसंग शास्त्रहरूमा छ। उनै चार पुत्रमध्ये जेठा श्रीरामको विवाह जनकपुत्री जानकीको विवाह जनकपुरमा मार्ग शुक्ल पञ्चमीमा भएको प्रसंगले आजसम्म चर्चा पाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.