ऐहन सुन्दर मिथिलाधाम कहाँ पाएब दोसर ठाम

ऐहन सुन्दर मिथिलाधाम कहाँ पाएब दोसर ठाम

ऐहन सुन्दर मिथिलाधाम, 

कहाँ पाएब दोसर ठाम,
दुलहा दुलही सीताराम जनकपुर मे ! 

जनकपुर अहिले वैवाहिक उत्सवमा मग्न छ। घरघरमा पाहुना आइसकेका छन्। कतिपय आउने क्रममा छन्। देश विदेशमा निम्तो पठाइएको छ। सन्दर्भ छ, माता सीता र भगवान् रामको वैवाहिक उत्सवको। झकिझकाउ जानकी मन्दिरमा अहिले रामायणको झझल्को देखिन्छ। रामायणका पंक्तिहरू चौतर्फी गुञ्जायमान हुन्छन्। विशेषगरी रामसीता वैवाहिक क्षण रामलीलामार्फत प्रदर्शित हुँदा मन रामायणकालमै पुग्छ। छोरीको विवाहमा अभिभावक जति आतुर हुन्छन् र जस्तो उल्लास मनमा हुन्छ त्यस्तै अवस्था जानकी मन्दिरमा छ। माता सीतालाई छोरी मानिने जानकी मन्दिरमा अभिभावक महन्थ रामतपेश्वर दास वैष्णव पछिल्लो एक महिनादेखि तयारीमा जुटेका छन्। विवाहमा कुनै कमी नहोस् भनेर नौलख्खा दरबारमा तयारी पूर्ण छ। माता सीतालाई बहिनी मानेका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव पनि दिनरात खटिएका छन्।

त्रेता युगमा मिथिलाका राजा शिरध्वज जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो। आदर्श जोडी रामसीताको वैवाहिक सम्बन्धको सालगिरह प्रत्येक वर्ष जनकपुरमा मंसिर शुक्ल पञ्चमीका दिन मनाइन्छ। हुन त रामायणलाई आधार मान्ने हो भने यो सम्बन्ध जुटेको पाँच सय वर्षभन्दा पहिलादेखि नै हो। तर, जनकपुरमा भइरहेको तयारीले रामसीताको विवाह वर्तमान समयमै भइरहेको अनुभूति गराउँछ। शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको महोत्सव मंसिर २३ गतेसम्म चल्नेछ। महोत्सव अवधिभर जनकपुर झकिझकाउ छ। पाहुनाले भरिभराउ छ।

जनकपुर यतिबेला दुलहीझैं बनेको छ। रामसीतामय जनकपुरधामले विश्वका हिन्दूधर्मावलम्बीलाई आकर्षित गरिरहेको छ।

मैथिल परम्पराअनुसार वैवाहिक विधिविधान हुने गर्छ। सम्पूर्ण महोत्सव सात दिवसीय हुन्छ। तयारीमा जुटेका बेहुली पक्षलाई सरसामानको जोहोदेखि सजावट र पाहुनाहरूको स्वागत गर्न भ्याइनभ्याइ छ। भारतको टिकमगढ राज्यकी रानी वृषभान कुँवरले १९१० सालमा ९ लाख रुपैयाँ खर्चेर जानकी मन्दिरको निर्माण गराएकी थिइन्। भनिन्छ, रानी निःसन्तान थिइन्। उनलाई सपनामा माता सीताले जनकपुरको यस स्थानमा मन्दिर बनाए तेरो मनोकामना पूरा हुनेछ भनेकी थिइन्। सोही सपनाको आधारमा रानीले मन्दिर बनाइन् र उनले सन्तानको रूपमा छोरा पाइन्। जानकी मन्दिरलाई मुगल शैलीमा बनाइयो। सोही कारण नौलख्खा दरबार पनि भनिन्छ। मन्दिरमा महन्थ बस्ने ‘सिसमहल’सहित ६० कक्ष छन्। जानकीको विवाह नजिकिँदै जाँदा ती सबै कोठा अतिथि र साधुसन्तको जमघटले भरिभराउ छ। दर्जनौं भान्से खटिएका छन्। महोत्सवमा आउने पाहुना र जन्तीका लागि के कस्ता पकवान बनाउने त्यसको सूची तयार भइसकेको छ।

विवाहपञ्चमी अवधिभर जानकी मन्दिर कन्यागत पक्ष र राममन्दिर वरपक्षमा परिणत हुन्छ। राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ हुन्छन् भने राम मन्दिरका महन्थ दशरथको भूमिकामा हुन्छन्। दुवै मन्दिरमा तयारी पनि त्यसैगरी हुन्छन्। कन्यागत पक्षले गर्ने सबै विधि र व्यवहार जानकी मन्दिरमा हुन्छ र वरपक्षका विधिहरू राममन्दिरमा। मन्दिरहरूमा धार्मिक विधिविधान भइरहेका छन् भने त्यहीं अर्कोतर्फ यस क्षेत्रको प्रशासनिक निकाय, जनप्रतिनिधि, उद्योगी व्यापारी, संघसंस्था र सम्पूर्ण जनकपुरवासी पनि महोत्सवलाई भव्य बनाउन लागिपरेका छन्। 

भगवान् राम र सीताको विवाहलाई अलौकिक  मानिन्छ । विवाहलाई हृदयदेखि सुन्ने, गाउने र वाचन गर्दा जीवन सदैव मंगलमय हुने जनविश्वास छ।

रामसीताको स्वयंवर स्थल ऐतिहासिक रंगभूमि मैदान र जानकी मन्दिरको सरसफाइमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत झाडु समातेर लागेका थिए। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह नगर क्षेत्रमा थुपारिएका फोहोर सरसफाइका लागि खटिए। उद्योगी व्यापारीले पसलहरूमा तोरण र मालाहरूको सजावटमा लागे भने नगरवासीले घरअगाडि दीप प्रज्वलन गरेर महोत्सवलाई भव्य बनाउन लागे। रामसीतामय बनेको जनकपुर दुलहीझैं बनेको छ जसले विश्वका हिन्दूधर्मावलम्बीलाई आकर्षित गरिरहेको छ। 

‘महोत्सव सांस्कृतिक सेतु’
५८ वर्षीय जयशंकरनाथ झा बाल्यकालको विवाह महोत्सव सम्झिन्छन्। ‘त्यो समय निकै रमणीय थियो। विवाहपञ्चमी भन्दा १५ दिन अगाडिदेखि नै जनकपुर र छेउछाउका गाउँहरू भरिएका हुन्थे। त्यो भीड पहाडी भेगबाट आएका खुद्रे व्यापारीहरू र भारतबाट आएका व्यापारीहरू हुन्थे। जनकपुरबाट चार किलोमिटर उत्तरमा उनको गाउँ छ ठेरा। त्यो गाउँको नाम ठेरा पर्नुको कारण नै के हो भने ठेराको अर्थ हुन्छ बास बस्ने ठाउँ। ठेरा बजार जनकपुरभन्दा पनि पुरानो छ। त्यहाँ दसौं हजारको संख्यामा व्यापारीहरू १५ दिन अगावैदेखि बास बस्थे। उनीहरू मधेस झर्ने अवसर बन्थ्यो विवाहपञ्चमी मेला। त्यत्तिखेर महोत्सव होइन, मेला लाग्थ्यो। पहाडबाट आएका व्यापारीहरू तेजपात, कालोनुन, हिंग, मरिच, जिरा, टिमुर र विभिन्न किसिमका दुर्लभ जडीबुटी लिएर आउँथे। प्रसूति भएको बेलाको आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी पनि पहाडी समुदायका व्यापारीले ल्याउँथे।

अहिले ती कुरा सम्झिँदा पनि उनलाई लाग्छ, रियल नेपाल त्यो बेला थियो। झाले स्मरणलाई थपे, पहाडबाट ऊनीको कपडा, कम्बल, ढाकाका लुगाहरू पनि बिक्रीका लागि आउँथे। पहाडबाट बिक्रीका लागि ल्याइएका ती गुलियो र निकै स्वादिलो काफल र थुप्रै नाम याद नभएका फलहरू। तिनको स्वाद अहिले पनि स्मरण छ। उता, ठेरा भरिभराउ हुन्थ्यो। पहाडी व्यापारीहरूबाट भने अर्कोतर्फ जनकपुरको तिरहुतिया गाछी पूरै हरिया रूखहरूले भरिभराउ त्यो सुन्दर बगैंचा भारतीय व्यापारीहरू भरिभराउ हुन्थे। सीमापारिबाट आउने व्यापारी नुन, पोलिस्टरको कपडा र आधुनिक सरसामान लिएर आउँथे। सांस्कृतिक सम्बन्धका साथै व्यापारिक सम्बन्धको पनि समागम हुने अवसर थियो, विवाहपञ्चमी मेला।

त्यत्तिबेलासम्म जनकपुरको ५२ कुट्टी पनि जीवित नै थियो। विवाह पञ्चमीको दिनसम्म त लाखौं श्रद्धालुहरू जनकपुर आइसकेका हुन्थे। तर, व्यक्ति पाहुना जनकपुर आउँदा पनि सो बेला दिसापिसाब वा फोहोरको समस्या भने थिएन। सार्वजनिक स्थल, मन्दिर, बगैंचा र बाटोहरू व्यक्ति आगन्तुकको उपस्थितिमा पनि निकै सफासुग्घर हुन्थ्यो। त्यत्तिबेलाको रंगभूमि मैदान अहिलेको जस्तो थिएन। अहिले त अतिक्रमणको चपेटामा १२ बिघा मैदान साँघुरिएको छ। अहिलेको अञ्चल अस्पताल, पुस्तकालय समेतको क्षेत्र मैदानभित्रै थियो। त्यस मैदानभित्र ठूलठूला रूखहरू थिए। मेलामा आउने बालबालिका ती रूखका हाँगामा झुला झुलिरहन्थे। निकै रमाइला दृश्य हुन्थे। दिसापिसाबका लागि समस्या थिएन। यति धेरै सहरीकरण थिएन। त्यसबेला झारजंगल बढी थियो। शौचको समस्या थिएन। लाखौंको संख्यामा श्रद्धालु आए पनि जनकपुर फोहोर हँुदैनथ्यो। सो बेला अन्नबाली भगवान्लाई चढाउने र यस्ता मेलाका अवसरमा साधुसन्तलाई भोजन गराउन मठमन्दिर र कुटीहरूलाई दान गर्ने चलन थियो।

जमिन्दार र सम्पन्नहरूले धान, गहुँ, दलहन र किसानीबाट उब्जिएका वस्तुहरू बढीभन्दा बढी कुटीहरूमा दान गर्ने गर्थे। सो बेला यस्तो दान गर्ने प्रचलन प्रतिष्ठाको प्रतीक थियो। गाउँघरमा चर्चा हुन्थ्यो। फलानोले विवाहपञ्चमीमा १० मन चामल दान गर्‍यो भनेर। यस्तो दान पाउने कुटीहरूमा पनि अन्न र सरसामान भरिभराउ हुन्थ्यो। विवाहपञ्चमीमा आउने पाहुनालाई खान परिपूर्ण हुन्थ्यो। 

हरेक कुटीमा नाचगान र रामलीलाको मञ्चन र गायनको बन्दोबस्त गरिन्थ्यो। अहिले त ती कुटीहरू पनि अतिक्रमणको चपेटमा परेका छन्। कतिपयमा भगवान्लाई समेत गायब गरिएको छ र विवाहपञ्चमीको उत्सव पनि कम भएको छ। सो बेला विवाह पञ्चमीको रोमाञ्चक निकै अद्भुत हुन्थ्यो। अहिले आधुनिकताले यसको रौनकतामा केही कमी त ल्याएको छ तर पनि रामायणकालको त्यो पौराणिक परम्परा हालसम्म पनि जनकपुरमा जीवन्त छ।

सीताको गौरवगाथा हो विवाह महोत्सव
राम र सीताको विवाह त्रेता युगमा हुनु संयोग हो । माता सीता जसले छोरी भएर सम्पूर्ण विश्वमा मिथिलालाई पहिचान दिलाइन्, तिनैको गौरवगान विवाह महोत्सवमा गरिने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव बताउँछन्। ‘राजा जनकको राज्यमा धर्तीपुत्रीको रूपमा माता सीता अवतरित भएकी थिइन्। उनी भूमिजा थिइन्। उनको उत्पत्ति भूमि अर्थात् पृथ्वीबाट भएको थियो। सीता आदिशक्ति स्वरूपमा थिइन् र उनको सौर्य तथा प्रतिभाले सानैदेखि मिथिलाञ्चललाई सुशोभित गरेको थियो। राजा जनकसँग भएको शिवको धनुषलाई सधैं आफ्नो दायाँ हातले उठाएर बायाँ हातले धनुष राखिएको स्थानलाई सफा गर्ने गरेकी सीताको सामथ्र्य बुवा जनकलाई थाहा थियो। त्यही भएर उनले सीताको विवाहका लागि शिवको धनुषमा ताँदो चढाउने प्रतिस्पर्धा राखेका थिए। त्यसबेला छोरीलाई जीवनसाथी आफैं चयन गर्ने छुट दिइएको कुरा हामी सीताको स्वयंवर विधिबाट बुझ्न सक्छौं। स्वयंवरको अर्थ नै आफ्नो वर आफैं चयन गर्नु हो। ऐतिहासिक रंगभूमि मैदानमा भएको स्वयंवरमा निकै पराक्रमी र वीर राजाहरू सहभागी भएका थिए।

लंकाका राजा रावण पनि यस प्रतियोगितामा सहभागी भए। भगवान् रामका गुरु वशिष्टलाई पनि यस स्वयंवरको विषयमा जानकारी प्राप्त भयो। उनी राम र लक्ष्मणलाई लिएर जनकपुर आइपुगे। सीता स्वयंवरमा सामान्य दर्शक बनेर आएका भगवान् राम र लक्ष्मण प्रतिस्पर्धी थिएनन्। तर, कुनै पनि राजाले धनुष उचाल्न नसकेपछि राजा जनकले दुःखी हुँदै भने के यो पृथ्वी वीरहरूबाट खाली भएको हो ? जनकको यस वचनप्रति उत्तेजित भएका लक्ष्मणले गुरु वशिष्टलाई ज्येष्ठ भाइ रामलाई प्रतिस्पर्धामा सहभागी हुन दिन आज्ञा मागे। 

शिवको धनुष भगवान् रामले उचाली ताँदो चढाउन लाग्दा भाँचिएर तीन टुक्रा भएको थियो। रामले विवाहको सर्त पूरा गरे र सीताले पनि उनलाई मन पराएकी थिइन् यसरी रामसीता विवाहको संयोग जुट्यो। रामको विवाहसँगै अन्य तीन भाइ लक्ष्मण, भरत र शत्रुघनको विवाह पनि सीताकी तीन बहिनीहरू उर्मिला, माधवी र शुतर्कीर्तिसँग गरियो।

‘करिब पाँच सय वर्ष पुरानो सो परम्परालाई हालसम्म निरन्तरता दिँदै आएका छौं’, उत्तराधिकारी महन्थ रामरोशन भन्छन्, ‘माता सीता र भगवान् रामको यो अलौकिक विवाह मानिन्छ। देवीदेवतासमेत रूप परिवर्तन गरी सहभागी भएका थिए। धर्मग्रन्थहरूमा भनिएको छ, जनकजीले अयोध्याबाट आएका जन्तीलाई यति धेरै भव्य स्वागत गरेका थिए कि जन्तीहरू ६ महिनासम्म अयोध्या जान नै बिर्सिए। माता जानकी आफैं रिद्धिसिद्धि थिइन्। त्यसैले जनकको दरबारमा धनसम्पत्ति, यशवैभव केहीको कमी थिएन। ६ महिनासम्म जनकपुरमै बसेको रामको जन्ती अयोध्या जान बिर्सिएपछि राजा दशरथका कुल पुरोहित मुनि वशिष्टले राजा दशरथलाई मिथिलामा आएको धेरै समय भयो। अब घर फर्केनौं भने प्रतिष्ठा जाने कुरा स्मरण गराएपछि जन्ती फर्किएको प्रसंग छ। महन्थ दास थप्छन्, ‘त्रेता युगको सोही वैभव र भव्य वैवाहिक समारोहको स्मरण गर्दै जनक दरबारमा भव्य ढंगले विवाहपञ्चमी मनाउने प्रयास गर्छौं।’

महिला सशक्तिकरणको उदाहरणीय थलो छोरीकै नामबाट विश्वमा पहिचान बनाउने जनकपुर महिला सशक्तीकरणको पनि जीवन्त थलो रहेको महन्थ रामतपेश्वर बताउँछन्। राजा जनकले छोरीको लालनपालन छोराभन्दा पनि उच्च कोटीले गरेका थिए। सीता सर्वगुण सम्पन्न थिइन्। उनी पराक्रमी र वीर थिइन्। त्यसैले उनको पराक्रम र उनको गौरवगाथाले नै जनकपुरधामलाई विश्वमा चिनिएको छ। विवाहपञ्चमी महोत्सव पहिला जानकी मन्दिरभित्रै समारोह गरी मनाउने गरिए पनि २०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको महन्थ दासको भनाइ छ। देश संक्रमणकालीन अवस्थामा हुँदा यो महोत्सव पनि ओझेलमा परेको थियो। पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण महोत्सवलाई सामान्य विधि व्यवहारमा मात्र सीमित गरी मन्दिरभित्रै मनाइयो। यस वर्ष भने महोत्सवको रौनक निकै छ।

अन्य वर्षमा महोत्सवमा सहभागी हुन देशविदेशका विशिष्ट राजनीतिक व्यक्तित्वलाई पनि आमन्त्रित गर्ने गरिन्थ्यो। विशिष्ट व्यक्तिहरूको आगमन हुँदा सर्वसाधारण श्रद्धालुलाई महोत्सव मनाउन समस्या हुने गरेकाले यसवर्ष त्यस्ता कुनै अतिथि वा प्रमुख व्यक्तित्वलाई आमन्त्रण नगरिएको महन्थ रामतपेश्वर बताउँछन्।

महोत्सवमा सात दिन सात विधि
सात दिवसीय महोत्सवको प्रत्येक दिवसका कार्यक्रम निकै महत्त्वपूर्ण र रोमाञ्चक हुन्छन्। सबैभन्दा पहिला हुन्छ, नगरदर्शन। यस दिन रामसीताको प्रतिमा र झाँकीलाई बाजागाजाका साथ नगरभरि परिक्रमा गराइन्छ। दोस्रो दिन फूलबारी लीला मनाइन्छ। राम अयोध्याबाट आएपछि सीतालाई फूलबारीमा पहिलोपटक हेरेको सम्झनास्वरूप फूलबारी लीला गरिन्छ। निकै सुमधुर मैथिली गीतहरू गयन गर्दै रामसीताको प्रतीक मानिएका दुई बालबालिकालाई शृंगार गरी फूलबारीमा घुमाउने गरिन्छ। यो विधि जानकी मन्दिरसँगै रहेको विवाहमण्डपमा हुन्छ। 

फूलबारीमा रामसीताको पहिलो देखादेख भएपछि नै दुवैबीच प्रेम सम्बन्ध जुटेको मान्यता छ। तेस्रो दिन धनुष यज्ञको विधि हुन्छ। सीता स्वयंवरका लागि राजा जनकले शिवको धनुषमा ताँदो चढाउने सर्त राखेको स्मरण स्वरूप सोही लीलालाई प्रदर्शन गरिन्छ। चौथो दिन तिलकोत्सव मनाइन्छ। विवाह महोत्सवको मुख्य आकर्षणमध्ये तिलकोत्सव पनि एक हो। राम मन्दिरको प्रांगणमा बनाइने भव्य मञ्चमा जानकी मन्दिरबाट वरपक्ष राम मन्दिरलाई पठाएको करिब डेढ सयभन्दा बढी कोसेलीसहित भार सो मञ्चमा सजाएर राखिन्छ। सोही क्रममा जानकी मन्दिरका महन्थ र राममन्दिरका महन्थबीच समाधि मिलान समारोह पनि गरिन्छ। जुन रमणीय हुन्छ।

‘तिलकोत्सव व्यवस्थापन भव्यता प्रदान गर्न सांस्कृतिक उत्सवको आयोजना गरेका छौं’, तिलकोत्सवको व्यवस्थापनकर्ता महावीर युवा कमिटीका अध्यक्ष बलराम साह भन्छन्, ‘सम्धि मिलान मिथिलाको वैवाहिक उत्सवमा विशेष अवसर हो। यो अवसर विशेष बनाउन हामीले मञ्चलाई व्यवस्थित बनाउने सक्दो प्रयास गर्छौं।’ 

पाँचौं दिन मटकोरको विधि हुन्छ। यस विधिमा विवाहको मण्डप बनाउन पवित्र जलाशय गंगासागरबाट माटो ल्याउने गरिन्छ। सोही माटोले विवाहको वेदीलाई लिप्ने गरिन्छ। छैटौं दिन मुख्य आकर्षण हुन्छ, सीताराम स्वयंवरको। यस दिन रामसीताको डोलालाई लाखौं श्रद्धालुहरूको साथमा रंगभूमि मैदान लग्ने गरिन्छ। सोही मैदानमा जानकीको डोलाले रामजीको डोलालाई चारपल्ट परिक्रमा गरी माला लगाउने परम्परा छ। साँझमा मन्दिरको प्रांगणमा बनेको भव्य र सुन्दर विवाहमण्डपमा रामसीताको प्रतिमाबीच वैवाहिक विधि सम्पन्न गरिन्छ।

अन्तिम दिन रामकलेवा मनाइन्छ। यसलाई मैथिलीमा बरातीको बिदाइ भनिन्छ। यस दिन बरातीलाई छप्पन भोग व्यञ्जन खुवाइन्छ। लुगा र कोसेली दिई बिदाइ गरेपछि विवाह महोत्सव विधिवत् रूपमा सम्पन्न हुन्छ। रामायणमा तुलसीदासले लेखेका छन्, ‘सिय रघुवीर विवाह जे गावही, सुनही तिनहुँ सदा उछाह मंगलाय तन रामजसो।’ 

बालकाण्डको अन्तिममा लेखिएको यस पंक्तिको अर्थ हो, भगवान् राम र सीताको यस अलौकिक विवाहलाई जसले हृदयदेखि सुन्ने, गाउने र वाचन गर्ने गर्छ, उसको जीवन सदैव मंगलमय हुन्छ। त्यसैले पनि विवाहपञ्चमी महोत्सव जनकपुरको घरघरमा सुनिने, गाइने र वाचन गर्ने गरिन्छ। वर्षौंदेखि चल्दै आएको यस सांस्कृतिक विरासतलाई जनकपुरले जीवन्त पारेर हालसम्म राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.