हुम्ला कहिले मोटर पुग्ला...
दैलेख : कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट मुगु जोड्ने सडक हो, कर्णाली राजमार्ग। सुर्खेतबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर यो राजमार्ग मुगु पुग्छ। यो राजमार्ग प्रमुख पर्यटकीय क्षेत्र रारा तालसम्म पुग्ने प्रमुख मार्ग पनि हो। साँघुरो र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन्।
राजमार्गमा हुने दुर्घटनामा परी बर्सेनि सयौँ यात्रुले ज्यान गुमाउँदै आएका छन्। कर्णालीको विकासमा मेरुदण्ड मानिएको कर्णाली राजमार्गमा गरिने कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन। राजमार्ग मर्मतमा बर्सेनि करोडौं रकम खर्च भइरहेको छ। तर, सडकको अवस्था भने नाजुक छ। दैलेख खण्डको सियाँला, जाक्सी, राकम कर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ। अधिकांश ठाउँमा कालोपत्रे उप्किएका छन्। खाल्डाखुल्डीका कारण यात्रुहरू कष्टपूर्ण यात्रा गर्न बाध्य छन्।
२०६३ चैतमा ट्र्याक खोलिएको राजमार्गमा विश्व बैंकको सहयोगमा २०७२ सालमा ओटासिल गरिएको थियो। सुर्खेतको बांगेसिमलदेखि दैलेख हुँदै कालिकोटको दहीखोलासम्म १ सय ३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ। यो खण्ड मर्मतका लागि बर्सेनि करोडौं रकम खर्च भइरहेको छ। तर, सडकको सुधार भने हुन सकेको छैन। यो सडक मर्मतमा गत आर्थिक वर्षमा मात्रै २० करोड रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले जानकारी दिए। सो रकम केही स्थानमा कच्ची सडक कालोपत्रे गर्न र मर्मतमा खर्च गरिएको थियो। चालू आर्थिक वर्षमा पनि मर्मतको काम थालिएको इन्जिनियर शर्माले बताए।
यो खण्डअन्तर्गत पर्ने जाक्सी खोला पुल वर्षौंदेखि अलपत्र छ। एक लेन, पहिरो झरिरहने र सवारी साधनको बढी चापका कारण राजमार्ग सुधार हुन नसकेको इन्जिनियर शर्माले बताए। दहीखोलादेखि जुम्ला खलंगासम्म एक सय चार किलोमिटर सडक डिभिजन कार्यालय जुम्ला खलंगाले हेर्दै आएको छ। यो खण्डमा गत आर्थिक वर्षमा मर्मतमै २ करोड ३० लाख रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए। नियमित मर्मतअन्तर्गत राजमार्गमा खटिने कामदारका लागि १ करोड ६० लाख, पटके मर्मतमा २० लाख र आवधिक मर्मतमा ५० लाख रुपैयाँ खर्च भएको हो।