जनकपुर–ढल्केबर सडकखण्ड अन्तिम चरणमा
जनकपुरधाम : जटही–जनकपुरधाम–ढल्केबर आयोजना अन्तिम चरणमा पुगेको छ।
पूर्व–पश्चिम राजमार्ग दक्षिण दुई लेनको सडकले धान्न नसक्ने भन्दै यो सडकखण्ड ६ लेनमा विस्तार गरिएको हो। भारतीय नाकाहरूमा सवारी चाप बढेपछि सरकारले यसलाई व्यापारिक मार्ग विस्तारको आयोजनाअन्तर्गत अघि बढाएको थियो।
सरकारले यो आयोजनालाई उच्च प्राथमिकतामा राखेको सडक विभाग जनकपुरका प्रमुख रामटहल यादवले बताए। ४० मध्ये ३२.५ किमीसडक कालोपत्रे भइसकेको छ। केही पुल निर्माणाधीन छन्।
यो आयोजनाले भारतको पिपरौन नाकादेखि जटही हुँदै पूर्व–पश्चिम राजमार्ग जोड्छ। सडक व्यापारिक क्षेत्रमा ५० र गाउँघरमा ३७.५ मिटर चौडा यादवले बताए। भने, ‘सडकबीचमा डेडिकेटेड चार लेन, दुवै छेउमा सर्भिस लेन र सहरी क्षेत्रमा फुटपाथसमेत निर्माण भइरहेको छ,’ यादवले भने, ‘खानेपानी, ढललगायत संरचना फुटपाथमा सारिरहेका छौं।’ अब खानेपानी, ढल मर्मत–सम्भारका लागि सडक बिर्गानुपर्दैन। निश्चित ठाउँबाट मात्र बाटो काट्न सकिनेछ।
लागत साढे ७ अर्ब रुपैयाँ छ। जनकपुर–जटही २०७२ सालमा सुरु भएको थियो। योसहित लक्ष्मीनिया गाउँपालिका सपही–ढल्केबरखण्ड पनि सम्पन्न भइसकेको छ। मुख्य बजार सपही–जिरोमाइल बेलापुल ९.५ मध्ये २.५ किमीमा काम द्रुत गतिमा भइरहेको यादवले जानकारी दिए। उनले भने, ‘चैत मसान्तमै सबै काम सक्ने योजना छ।’ रेलिङ, पोल, नालाको केही अंश मात्र बाँकी रहेको यादवले बताए।
उक्त सडक निर्माण भएपछि जटहीदेखि ढल्केबर बीचमा तीव्र औद्योगिक विकास हुने उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह बताउँछन्। ‘कोलकाताबाट काठमाडौंसहित मुलुकका अन्य भागमा मालसामान पु¥याउन यो सडक सबभन्दा छोटो तथा सजिलो हुन्छ,’ साहले भने।
भारतले सीमावर्ती पिपरौनमा भन्सार नाका खोल्ने निर्णयसमेत गरिसकेको छ। यस मार्गको विस्तारले व्यापारिक नाकाहरूबाट सहज रूपमा सामान आयात निर्यात गर्न सकिनेछ। मार्गमा पर्ने बस्तीहरू पनि व्यापारिक करिडोरका रूपमा विकास हुने विश्वास गरिएको छ। अब उद्योग तथा कलकारखाना निर्माणले तीव्रता पाउने स्थानीय ममता महतोले बताइन्।