साँफे–मार्तडी, जहिल्यै सास्ती
बाजुरा : बाजुराको सदरमुकाम जोड्ने मुख्य सडक साँफे–मार्तडी राजमार्गको इकडिदेखि मार्तडीसम्म विगत ४ वर्षदेखि वर्षायाममा सडक बन्द हुने गरेको छ। त्रिवेणी नगरपालिका–९ पैमाको पहिरोले बूढीगंगा नदीलाई साँफे–मार्तडी सडकक्षेत्रमा धकेलिदिएको छ। यसैले गर्दा सोही पालिकाको बल्दे–बडीमालिका नगरपालिकाको सिमाना हरडे खोलासम्म ४ वर्षदेखि सडक भत्किएको छ।
बाजुराको सदरमुकाम जोड्ने मेरुदण्डका रूपमा रहेको सडक भत्किँदा सदरमुकाम मार्तडीसँग अन्य स्थानीय तह, जिल्ला, संघ र प्रदेश सरकारको सम्बन्ध ३ महिना टुट्ने गरेको छ। बर्सेनी भत्किँदै आएको सडक सुचारु गर्न तीन वर्षसम्म कतैबाट पहल नभएको बूढीगंगा नगरपालिका–२ का वडाध्यक्ष हीरालाल थापाले बताए। शिलान्यासको २२ वर्षपछि सदरमुकाम मार्तडीसम्म कालोपत्रे भएको थियो। कालोपत्रे भएकै वर्ष वर्षायाममा बूढीगंगा नदीले सडक कटान गरी भासिन थालेपछि ४ वर्षदेखि वर्षायाममा सडकअवरुद्ध हुँदै आएको छ। सडक निर्माण कम्पनीले १ वर्ष पहिले सडक डिभिजन कार्यालयलाई बुुझाएको कार्यालयका इन्जिनियर दमन विष्टले बताए। उनका अनुसार विगत १ वर्षयता सडक डिभिजन कार्यालयले यसको समाधान खोजिरहेको छ।
कालोपत्रे गरिएको पहिलो वर्ष वर्षामा एक डेढ हप्ता, दोस्रो वर्ष साउनको १ महिना, तेस्रो वर्ष असारदेखि असोजसम्म सडकअवरुद्ध भएको थियो भने यो वर्ष पनि लामो समयअवरुद्ध रह्यो। द्धारीक्षेत्रको पूरै सडक भासिएकाले लामो समयसम्म सडक बन्द हुने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए। माथिबाट पहिरो र तलबाट बूढीगंगाको कटान जारी छ। यो समस्या ४ वर्षदेखि भए पनि सरोकारवाला निकाय जिम्मेवार नदेखिएको मार्तडी हाटबजार व्यव्स्थापन समितिका अध्यक्ष चक्र मल्लले गुनासो गरे।
उपभोग्य वस्तुको मूल्य आकासियो
बाटोअवरुद्ध भएका बेला मार्तडीसम्म यातायात पुग्ने समयमा ९० पर्ने धारा तेलको मूल्य १२० सम्म पर्ने गरेको छ। त्यस्तै, ४५ रुपैयाँ पर्ने चामललाई ७० रुपैयाँभन्दा बढी पर्ने गरेको स्थानीयले बताउँछन्। यसरी भरिया र खच्चडबाट सामान बोकाउनुपर्दा सर्वसाधारण मारमा पर्ने गरेको व्यापारी हंसबहादुर सिंहले बताए।
बिरामीलाई सास्ती
बाजुरामा उपचार सम्भव नभएका बिरामीलाई अछामको बयालपाटा अस्पताल लैजानुपर्छ। धेरैजसोले कैलाली, नेपालगन्ज, काठमाडौंलगायतका ठाउँमा रिफर गरिदिन्छन्। त्यसैले सडकअवरुद्ध भएका बेला बिरामीलाई धेरै समस्या पर्नेे गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जोशीले बताए। जटिल खालका बिरामीले स्वास्थ्य संस्था पुग्न नपाई अकालमै ज्यान गुमाउने अवस्थासमेत आउने गरेको डा. जोशीको भनाइ छ।