ओमिक्रोनको त्रास : मोरङका सीमावर्ती क्षेत्रमा कडाइ
विराटनगर : कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रास बढेसँगै नेपाल–भारत निर्वाध रूपमा आवतजावत हुने मोरङका सीमावर्ती क्षेत्रमा कडाइ गर्न थालिएको छ । अफ्रिकी मुलुकबाट फैलिएको ओमिक्रोन नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा पनि भेटिएपछि स्थानीय प्रशासनले मोरङका नाकाहरुमा कडाइ गर्दै उच्च सतर्कता अपनाउन थालेको हो । भारतमा ओमिक्रोनको संक्रमण पुष्टि भइसकेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमा क्षेत्रमा हुने आवतजावतलाई व्यवस्थित बनाउने, भारतबाट आएकाहरुको सीमामै एन्टिजेन परीक्षण गर्ने, भीडभाडलाई कम गर्दै लैजाने तथा स्वास्थ्य मापदण्डको पालनामा जोड दिने काम भइरहेको बताए ।
‘रानी नाका हुँदै भारतबाट आउनेहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने काम भइरहेको छ,’ प्रजिअ दाहालले भने, ‘परीक्षणकै लागि स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालनमा छ ।’ एन्टिजेन परीक्षणबाट रिपोर्ट पोजिटिभ आएकालाई पीसीआर परीक्षण र उपचारका लागि पठाउने गरिएको उनले बताए । उनका अनुसार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने रानी लगायतका विभिन्न नाकामा सुरक्षा उपस्थिति बढाइएको जनकारी दिए ।
कोरोनाका कारण विराटनगर प्रवेश गर्ने रानी नाका डेढ वर्षभन्दा लामो समय बन्द गरिएको थियो । मानिस तथा सवारी आवागमनमा रोक लगाइएको थियो । संक्रमण कम हुँदै गएपछि गत गत असोज दोस्रो साताबाट खुला गरियो ।
कोरोनाको नयाँ भेरियन्टका कारण अवस्था थप जटिल बन्ने भएकाले दैनिक काम कारबाही र गतिविधी गर्दा सबैले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेमा प्रजिअ दाहालको जोड छ । ‘थप कडाइ गर्ने बारेमा डीसीसीएमसीको बैठक बोलाउने तयारी भइरहेको छ,’ उनले भने , ‘बैठकपछि विशेष रणनीति तयार पारेर अघि बढ्ने योजना छ ।’
संक्रमण फैलन नदिन सतर्कता अपनाउँदै सचेत रहन सबैमा अपिल गर्न थालिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । ‘बेलैमा सावधानी अपनाए संक्रमणबाट बच्न सकिन्छ,’ उनले भने, ‘नियमित काम, कारबाहीसँगै संक्रमण फैलन नदिन सुरक्षाकर्मी सक्रिय भएर लागेका छन् ।’
ओमिक्रोन भेरियन्टलाई सामान्य ठानेर जानाजान लापरबाही तथा गल्ती गर्न नहुने सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले बतए । विगतमा कोरोनाका कारण उत्पन्न भयावह अवस्थां बेहोर्नु परेको मानवीय क्षतिलाई सम्झिएर त्यसबाट पाठ सिक्दै सबै सचेत हुन जरुरी रहेको डीआईजी गिरीले बताए ।