सञ्चालन नहुँदै ट्रम्पको सामाजिक सञ्जालले कमायो अर्ब डलर, ब्राजिलका राष्ट्रपतिमाथि अनुसन्धान हुने

सञ्चालन नहुँदै ट्रम्पको सामाजिक सञ्जालले कमायो अर्ब डलर, ब्राजिलका राष्ट्रपतिमाथि अनुसन्धान हुने

वासिङ्टनः पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ सामाजिक सञ्जाल कम्पनीले लगानीकर्ताबाट करिब १ बिलियन डलर उठाएको छ। दी ट्रम्प मिडिया एण्ड टेक्नोलोजी समूहले ट्रम्पको नयाँ सामाजिक सञ्जाल प्लेटफर्म सार्वजनिक हुनुअघि नै सो रकम उठाएको हो।

गत जनवरीमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले ट्रम्पको अकाउन्ट बन्द गरेको थियो। त्यसपश्चात् ट्रम्पले आफ्नै सामाजिक सञ्जाल बनाउने निर्णय गरेका थिए। सो निर्णयबमोजिम ट्रम्प मिडिया एण्ड टेक्नोलोजी समूहले ट्रम्पको नयाँ सामाजिक सञ्जाल प्लेटफर्म चाडै नै सार्वजनिक गर्ने योजना बुनिरहेको छ।

‘सेन्सरशिप र राजनीतिक भेद्‍भाव अन्त्य गर्न लगानीकर्ताबाट १ बिलियन डलर उठ्नुले ठूलो टेक कम्पनीहरुलाई महत्वपूर्ण सन्देश दिएको छ,’ ट्रम्पले भनेका छन्, ‘भेद्‍भाव कायम राख्ने ठूला टेक कम्पनीलाई हाम्रो कम्पनीले चुनौति दिनेछ। राजनीतिक विचारधाराको आधारमा विना भेद्‍भाव सबैसँग सन्तुलित नजरले हेर्ने छ।’

म्यानमार सेनाले प्रदर्शनकारीमाथि गाडी गुडाउँदा ५ को मृत्यु

बैंककः म्यानमार सेनाले प्रदर्शनकारीमाथि नै गाडी गुडाउँदा कम्तिमा ५ प्रदर्शनकर्मीको मृत्यु भएको छ। यांगोन शहरमा आइतबार सैन्य शासनविरुद्ध प्रदर्शन गरिरहेका मानिसमाथि गाडि सेनाले गाडी गुडाउँदा ५ जनाको मृत्यु भएको हो।

स्थानीय मिडिया म्यानमार नाउका अनुसार सैन्य शासनको विरोधमा प्रदर्शनकारीहरुले मार्च गरिरहेको बेला सो घटना बिहान ९ बजे भएको हो। मार्च गरिरहेका प्रदर्शनकारीको हुलमै म्यानमार सेनाले गाडी कुदाएको थियो। जसका कारण पाँच प्रदर्शनकारीको मृत्यु भएको छ।

सो घटनापश्चात सेनाले अन्य १५ प्रदर्शनकारीलाई हिरासतमा लिएको समेत स्थानीय मिडियामा उल्लेख छ। फेब्रुअरी १ मा म्यानमार सेनाले 'कू' गरेयता त्यहाँको राजनीतिक अवस्था धरापमा परेको छ भने सेनाको ज्यादती बढ्दै गएको बताइएको छ।

कोभिड-१९ प्रतिबन्धविरुद्ध बेल्जियममा प्रदर्शन

ब्रसेल्सः बेल्जियम सरकारले कोभिड-१९ प्रतिबन्धमा कडाइ गरेको भन्दै त्यसविरुद्ध सयौं नागरिकले प्रदर्शन गरेका छन्। आइतबार ब्रसेल्समा सयौं नागरिकले कोभिड-१९ प्रतिबन्धको विरोधमा प्रदर्शन गरेका हुन्।

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपछि बेल्जियम सरकारले कोभिड-१९ को प्रतिबन्धमा कडाइ गरेको थियो। सरकारले प्राथमिक विद्यालयसमेत अनिश्चितकालका लागि बन्दको घोषणा गरेको थियो। प्रदर्शनकारीहरुले शुक्रबार कोभिड-१९ प्रतिबन्धविरुद्ध मार्च र प्रदर्शन गर्ने घोषणा गरेका थिए। सो घोषणाअनुसार उनीहरुले प्रदर्शन गरेको बताइएको छ।

स्वतन्त्रता, हाम्रो अधिकार र हाम्रा बालबालिकाको स्वतन्त्रता एक गर जस्ता नाराबाजीका साथ प्रदर्शनकारीहरुले युरोपेली युनियनको केन्द्रीय कार्यालयअघि समेत प्रदर्शन गरेको बताइएको छ।

गर्भनरका भालाई सघाउँदा पत्रकारको जागिर गयो

जर्जियाः गर्भनरका भाइलाई सघाउँदा एक पत्रकार एवं समाचार वाचकको जागिर गुमेको छ। न्युयोर्कका पूर्व गर्भनरका भाइलाई सघाएको आरोपमा सीएनएन न्युजका वरिष्ठ समाचार वाचक क्रिस कुओमोको जागिर गुमेको हो।

यौन दुर्व्यवहारको आरोप लागेका पूर्व गर्भनरका भाइ एन्ड्रियु कुओमोलाई समाचार वाचकको संलग्नता रहेको र आरोपितलाई सघाएको आरोप कुओमोमाथि लागेको थियो। विभिन्न अनुसन्धानले उनको संलग्नता रहेको पुष्टिसमेत गरेको थियो। सोही आरोपमा सीएनएन न्युजले कुओमोलाई जागिरबाट निकाला गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

ब्राजिलको सर्वोच्च अदालतद्वा राष्ट्रपतिमाथि अनुसन्धान खुला

ब्राजिलियाः ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति जेइर बोल्सोनारोमाथि अनुसन्धान गर्न बाटो खुलाएको छ। राष्ट्रपति बोल्सोनारोको गलत अभिव्यक्तिमाथि अनुसन्धान गर्न अदालतले बाटो खुलाएको हो।

राष्ट्रपति बोल्सोनाराले गत अक्टोबरमा विभिन्न सामाजिक सञ्जालमार्फत् कोभिड-१९ विरुद्धको खोप लगाउँदा एचआइभी एड्स संक्रमणको जोखिम उच्च हुने दाबी गरेका थिए। सो दाबीपछि फेसबुक र युट्युभले उनको अकाउन्ट अस्थायीरुपमा बन्द गरेको थियो। उनको दाबी गलत भएको भन्दै राष्ट्रपतिविरुद्ध उजुरीसमेत परेको थियो।

सोही आरोपमा सर्वोच्च अदालतका न्यायाधीश एलेक्जान्द्रे दी मोराइसको इजलासले राष्ट्रपति बोल्सोनारो र उनको सरकारमाथि अनुसन्धान अघि बढाउन आदेश दिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। कोभिडविरुद्धको खोप लगाउन आफ्ना नागरिकलाई निरुत्साहित बनाएको भन्दै बोल्सोनारोमाथि व्यापक आलोचना भइरहेको छ सन् २०२० मा उनको सरकारले कोभिड-१९ विरुद्ध कम्तिमा ८१ खोप अफर अस्वीकार गरेको विभिन्न रिपोर्टले देखाएको छ।

अफगानिस्तानमा पाकिस्तानले निशुल्क औषधि वितरण थाल्यो

कराचीः पाकिस्तानले अफगानिस्तानमा निशुल्क औषधि वितरण गर्न सुरु गरेको छ। पाकिस्तानले आफ्नो सहयोग बलियो बनाउन छिमेकी मुलुक अफगानिस्तानलाई निशुल्क औषधि वितरण गर्न थालेको हो।

लामो समयसम्मको द्वन्द्वका कारण अफगानिस्तानले औषधि र स्वास्थ्य सेवाको चुनौति र संकट सामना गरिरहेको छ। सो संकट कम गर्न पाकिस्तानले निशुल्क औषधि अफगानिस्तान पठाएको डन न्युजमा खबर छ।

पाकिस्तानले पहिलो चरणमा करिब २५ मिलियन (पाकिस्तानी मुद्रा) बराबरको औषधि अफगानिस्तान पठाएको छ। सो औषधि सरुवा रोग र सामान्य विरामीका लागि आपतकालीन अवस्थामा प्रयोग गर्न मिल्ने बताइएको छ। दोस्रो चरणमा भने करिब रु १ सय मिलियन बराबरको औषधि अफगानिस्तान पठाउने योजना पाकिस्तानले बनाएको बताइएको छ।

श्रीलंकन नागरिक मारेको आरोपमा सयौ पाकिस्तानी पक्राउ

इस्लामावादः श्रीलंकन नागरिक मारेको आरोपमा १ सयभन्दा बढी पाकिस्तानी नागरिक पक्राउ परेका छन्। श्रीलंकन कारखानाका म्यानेजरलाई कुटपिटपछि मारेको आरोपमा ती नागरिक पक्राउ परेका हुन्।

पाकिस्तानको पञ्जाब प्रान्तस्थित सियलकोट जिल्लामा गत शुक्रबार श्रीलंकन कारखानाका फ्याक्ट्री म्यानेजर प्रियन्था दियावादनको सामूहिकरुपमा कुटपिट भएको थियो। कुटपिटपछि गम्भीर घाइते बनेका उनको तत्काल मृत्यु भएको थियो।

सोही आरोपमा १ सयभन्दा बढी मानिस पक्राउ गरिएको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जानकारी दिएका छन्। पक्राउ परेकाहरुमाथि छानबिन गरिने र दोषीलाई कडा कानुनी कारबाही गरिने समेत खानले बताएका छन्। प्रधानमन्त्री खानले सो घटना पाकिस्तानको लागि लज्जास्पद दिन बनेकोसमेत बताएका छन्।

तालिवानप्रति पश्चिमा मुलुकहरुको घोर भर्त्सना

पेरिसः अमेरिका, युरोपेली संघ र अन्य २० भन्दा बढी पश्चिमा मुलुकले तालिवानप्रति घोर भर्त्सना गरेका छन्। तालिवान सरकारले प्रतिसोधमा पूर्व अफगान सैनिक, अन्य सुरक्षाकर्मी र गुप्तचर मारेको भन्दै ती मुलुकहरुले आपत्ति जनाएका हुन्।

शनिबार ह्युमन राइट्स वाच (एचआरडब्ल्यु)ले पूर्व अफगान सरकारअन्तर्गत अफगान नेसनल सेक्युरिटी फोर्सेसका कम्तीमा ४७ सदस्य मारिएको वा बेपत्ता पारिएको भन्दै एक रिपोर्ट सार्वजनिक गरेको थियो। प्रतिशोधमा ती सदस्यहरुलाई तालिवानले नै मारेको वा बेपत्ता पारेको निष्कर्ष एचआरडब्ल्युले निकालेको थियो।

एचआरडब्ल्युको रिपोर्टपछि करिब अमेरिका, अष्ट्रेलिया, फ्रान्सलगायत ५० भन्दा बढी पश्चिमा मुलुकहरुले तालिवानप्रति गम्भीर आपत्ति जनाएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। अपराधिहरुलाई सजाय दिलाउने नाममा तालिवानले आपत्तिजनक कार्य गरेको र मानवअधिकारको गम्भीर उल्लंघन गरेकोमा तालिवान सरकारलाई आममाफीसमेत नदिने ती मुलुकहरुले बताएका छन्।

सन् २०२३ को चुनावपछि सुडान सेना राजनीतिबाट बाहिरिने

खार्तुमः सुडानका सेना प्रमुख अब्देल फताह अल बुर्हानले सन् २०२३ को मतदानपछि सुडान सेना राजनीतिबाट बाहिरिने बताएका छन्। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग अन्तर्वार्ता दिँदै बुर्हानले सो बताएका हुन्।

सुडान सेनाले सन् २०२३ को लागि चुनावको मिति तय गरेको छ। गत अक्टोबर अन्तिममा त्यहाँको सरकारलाई हटाउँदै सेनाले सत्ता कब्जामा लिएको थियो। सुडानमा सैन्य शासन लागू भएपछि त्यहाँका जनता र लोकतन्त्र समर्थकहरुले दैनिक प्रदर्शन र आन्दोलनका कार्यक्रम जारी राखेका छन्।

‘नयाँ सरकार चुनिएपछि सेना, सैन्य बल र अन्य कुनै सुरक्षा बल राजनीतिमा संलग्न भइरहने छैन। यही विषयमा हामीबीच सहमति भइसकेको छ,’ बुर्हानले भनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.