गठबन्धनमा अल्झिनु हुँदैन कांग्रेस
पार्टीको १४ औं महाधिवेशन सकेर कांग्रेस निर्वाचनमा केन्द्रित हुन जरुरी छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेले दसौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक पुनः अध्यक्षमा चुनिएका छन्। चितवनमा महाधिवेशन सुरु गर्दैगर्दा जुन किसिमको तामझाम र स्वस्फूर्त जनसहभागिता देखियो त्यसले अहिले नेपाली राजनीतिको माहोल तताएको छ। एमालेका प्रतिस्पर्धी अन्य शक्तिले एमालेलाई जति कमजोर बनाउन चाहेका थिए, त्यति कमजोर पार्टी नहुने संकेत उक्त महाधिवेशनले पुष्टि गरिदिएको छ। जुन एमाले इतरका कम्युनिस्टहरूका लागि टाउको दुखाइको विषय बनेको देखिन्छ।
नेपाली राजनीतिमा यो घटनाले नयाँ सम्भावनाहरूको बीउ रोप्ने काम पनि गरेको छ। एमालेले इतरका वामशक्तिहरू आउँदो निर्वाचनमा एकै ठाउँमा जुटेर, गठबन्धन बनाएर वा सिट तालमेल गरेर जान सक्ने सम्भावनालाई प्रबल बनाएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्ष पद त्याग गर्ने र एमाले इतरका वाम शक्ति समेट्ने देखिएको छ। नेकपा माओवादीका नेता मोहन बैद्य किरणको विचार सिद्धान्त नीति र विप्लवको भौतिक नेतृत्वमा नेकपा माओवादी केन्द्रलगायत एमाले इतरका शक्ति एक ठाउँमा उभिन सक्ने देखिएको छ। एकजुट भएर यो शक्तिले सशस्त्र राजनीतिक विद्रोहको घोषणा गरेको थियो। मुलुकमा विगतको राजनीतिक परिणाम र २०७२ सालमा संविधानसभाले दिएको संविधानले माओवादीले चाहेजस्तो राजनीतिक व्यवस्था र पद्धति दिन नसकेको देखिन्छ।
माओवादीले आफूले चाहेको पद्धतिका लागि सशस्त्र राजनीतिक विद्रोह अझैं आवश्यक रहेको औंल्याएको छ। कार्यकारी राष्ट्रपति र पूर्णसमावेशी जनप्रतिनिधिसहितको राष्ट्रिय सभाका लागि विद्रोह गर्ने सम्भावना पनि देखिएको छ। उसले आसन्न चुनावमा भाग नलिने अवस्था आउन सक्ने पनि आकलन गर्न सकिन्छ। नेपाली राजनीतिमा पुनः यस्तो संकेत देखिनुको कारण भने कमजोर कांग्रेस र दरिलो हुँदै गएको ओली नेतृत्वको एमाले नै हो। अहिले नेपाली कांग्रेस निकै कमजोर देखिएको छ। देशकै ठूलो प्रजातान्त्रिक पार्टी भएर पनि कांग्रेसले शक्ति प्रदर्शन गर्न सकेको छैन। उता नेकपा एमालेमा हेर्ने हो भने ओलीले एकलौटी रूपमा पार्टी चलाइरहेका छन्। पार्टीमा उनका समर्थक पनि थुप्रै रहेको महाधिवेशनले देखाएको छ। उनी इतर उठेका नेता भीम रावललाई ओलीले जुन मतले हराए, त्यसले पनि उनको एमालेमा निकै दबदबा रहेको संकेत गरेको छ।
यसरी एमाले बलियो हुन थाल्यो भन्ने देखेपछि नेकपा माओवादी केन्द्रलगायतका वाम पार्टीमा एक किसिमको त्रास उत्पन्न भएको देखिन्छ। पूर्व एकीकृत नेकपा माओवादीका नेताहरू आआफ्नै पार्टी खोलेर बसिरहेका छन्। उनीहरूबीच विभिन्न संवाद, भेटघाट तथा वार्तालाप हुन थालेको सुनिएको छ। यसले के संकेत गर्छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब आफ्नो पार्टीलाई बलियो बनाउन चाहन्छन्। त्यसका लागि उनी जुनसुकै हदसम्म जान पनि तयार देखिन्छन्। प्रचण्डले यसअघि शक्तिमा आउन सशस्त्र विद्रोह गरेका थिए। अब पनि उनलाई त्यसको आवश्यकता महसुस भयो भने त्यसो गर्दैनन् भन्न सकिँदैन। भित्री रूपमा प्रचण्ड, विप्लव र मोहन वैद्य समूहका बीचमा केही संवाद अगाडि बढेको कुरा पनि सुनिन थालेको छ।
संसदीय पद्धतिका लागि नजिकिँदो चुनावमा पूर्ण जनसहभागिता सहितको कांग्रेस एक्लैले बहुमत प्राप्त गर्ने अवस्था नहुने देखिन्छ। ओली नेतृत्वको एमाले सशक्त र ठूलो पार्टी बन्ने सम्भावना भयो भने मुलुकले अर्को दुर्घटना बेहोर्नुपर्ने हुन सक्छ। जसका कारण राजनीतिक अस्थिरता निम्तिने खतरा बढेर गएको छ। जब बहुमत हुँदैन, तब सरकार निर्माणका लागि दुई वा दुईभन्दा धेरै दल मिलेर सरकार निर्माण गर्नुपर्ने अवस्था आउन सक्छ। त्यस्तो अवस्थामा फेरि भागबन्डा र पैसाको खेल चल्न थाल्छ। अर्कातिर एमाले बलियो भएर आउँदा माओवादीलगायत वाम दलहरूले असुरक्षित महसुस गर्छन्। त्यसले पनि उनीहरू सशस्त्र जनयुद्धमा जान सक्ने सम्भावनालाई थप सशक्त बनाउँछ।
यदि देशमा यस्तो अवस्था सिर्जना भयो भने अहिलेसम्म भएका राजनीतिक परिवर्तनले कुनै अर्थ राख्दैनन्।देश पुनः द्वन्द्वमा फस्ने खतरा हुन्छ। त्यसको प्रत्यक्ष असर आमनागरिकलाई पर्नेछ। आमजनताले निकै दुःख पाउने अवस्था आउन सक्छ। त्यसैले समयमै नेपाली कांग्रेसले आफ्नो पार्टीलाई समेटेर निर्वाचनको तयारीमा लाग्नु पर्छ। पार्टीलाई सुदृढीकरण गर्नु पर्छ। नयाँ नेतृत्वका साथ चुनावमा जानु पर्छ। युवा वर्गलाई समेट्नु पर्छ। मुलुकको भविष्यका लागि लोकतान्त्रिक व्यवस्थाका लागि, हजारौंको बलिदानपछि प्राप्त भएको संविधानका लागि र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली कांग्रेस राजनीतिको केन्द्रमा रहनु अति आवश्यक छ। नेपालमा कांग्रेस मात्र यस्तो पार्टी हो, जसले सबै दललाई समेट्न सक्छ। सबै दललाई शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी गराउन सक्छ। सँगै लिएर हिँड्न सक्छ। यदि अहिलेको अवस्थामा कांगे्रसले यस्तो गर्न सकेन भने मुलुक गम्भीर दुर्घटनातर्फ जान्छ।
कांग्रेसले पार्टीभित्रका गुट र उपगुटलाई समाप्त पार्नुपर्छ। यसो भयो भने पार्टीलाई नयाँ ऊर्जा दिन्छ, एकतावद्घ बनाउँछ। म र मेरो भन्नुभन्दा पनि पार्टी हितलाई केन्द्रमा राख्नुपर्छ।
अनावश्यक रूपमा गठबन्धन र गठबन्धनको संस्कार बसाएर आफ्नो नीति र सिद्धान्तबाट भड्किएर राजनीतिक रूपले बाटो बिराउने, अल्मलिने र रुमलिने काम कांग्रेसले गर्नु हुँदैन। यसो हुँदा नेपालको राजनीतिमा स्थिरता आउने र बहुमतको सरकार बन्ने सम्भावना न्यून हुन जान्छ। मुलुक राजनीतिक संकटमा फस्ने, आर्थिक रूपले टाट पल्टिने र विदेशी हस्तक्षेप निम्तिन जाने जस्ता समस्या निम्तिन सक्छन्। त्यसोे हुँदा कांग्रेसले वामराजनीतिमा आएको विग्रह धु्रवीकरण र ओली नेतृत्वको एमालेको सशक्तीकरण र एमाले इतरका वाम शक्तिको क्षयीकरण भएको छ। यस अर्थमा मुलुकलाई बचाउने आफ्नो जिम्मेवारी ठानेर कांग्रेसले आफ्नो नियमित अधिवेशन गर्ने गराउने जिम्मेवारी काँधमा छ। अधिवेशन सम्पन्न गरेर आमकार्यकर्तामा उत्साह ल्याउने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउने दायित्व पनि पार्टीको छ। लोकतान्त्रिक संविधान र संघीय गणतन्त्रको सबल कार्यान्वयनका लागि कांग्रेस नेतृत्व आवश्यक छ। त्यसैले सरकार गठनको सम्भावनालाई तीव्र रूपमा सहजीकरण हुने तरिकाले अगाडि बढ्नुपर्छ।
निर्वाचनमा जाँदा कांग्रेसले एउटा गुरुयोजना बनाएर अघि बढ्नु पर्छ। योजनाका साथ जानु पर्छ। जनतालाई विश्वास दिलाएर काम गर्नु पर्छ। कांग्रेस मुलुकको सबैभन्दा पुरानो पार्टी हो। देशका राजनीतिक परिवर्तनका आन्दोलनमा नेपाली कांग्रेसको मुख्य भूमिका हुने गरेको विषय जनतालाई अवगत गराउनु पर्छ। तर, त्यतिले मात्र जनताको विश्वास जित्न सकिँदैन। अहिले कांग्रेस नेतृत्वको सरकार छ। समय पनि छ। कांग्रेसले विकास निर्माणका काममा तीव्रता दिनु पर्छ। गाउँगाउँमा विकास निर्माणका कामहरू गर्नु पर्छ। जनताको आवश्यकता के हो ? त्यो पूरा गर्न नेपाली कांग्रेस आजैबाट लाग्नु पर्छ। केही वर्ष पहिले बोलेका कुरा जनताले पत्याउने गर्थे। तर, हरेक वर्ष नेताहरूको झुटो आश्वासन सुनेर जनता फर्किनेवाला छैनन्। त्यसका लागि काम गरेर देखाउनु पर्छ। त्यसको अवसर पनि छ। यो अवसरलाई खेर जान दिनु हुँदैन।
त्यसका लागि सबैभन्दा पहिलो कुरा त पार्टीभित्र रहेको गुट र उपगुटलाई समाप्त पार्नु पर्छ। गुट र उपगुटले पार्टीलाई कमजोर बनाउँछ। म र आफू भन्नुभन्दा पनि पार्टीको विषयमा सोच्नु पर्छ। त्यसपछि मात्र पार्टी दरिलो भएर अगाडि बढ्छ। कांग्रेस बलियो भएर चुनावमा गयो भने मात्र चुनावमा बहुमत आउँछ। अन्यथा सम्भावना ज्यादै न्यून बन्दै जान्छ। त्यसैले अबको चुनावपछि कांग्रेसले एकल सरकारको नेतृत्व गर्नु पर्छ। सोही तयारीका साथ कांग्रेस अगाडि बढ्नुपर्ने देखिएको छ।