ज्यान मार्ने मुद्दाका आरोपित मेयर ३० हजार धरौटीमा छुटे
सिरहाः ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएका सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव ३० हजार धरौटीमा सोमबार छुटेको छ। थुनछेक बहस हुँदा उनी धरौटीमा छुटेको जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदिश भट्टराईले बताए।
कोरोना संक्रमणको बेला मिर्चैया नगरपालिका २ मा दुई स्थानीय युवाहरु राहत वितरण गरेका थिए। मेयर यादवका समर्थकले नगरपालिकाले राहत वितरणमा एकद्वार प्रणाली बनाउने निर्णय गर्दा किन राहत वितरण आफू खुसी गरेको भन्दै रोक्न खोजेको थियो। त्यही विषयमा २०७६ चैत ११ गते दुई पक्षबीच झडप भएको थियो। झडपमा मिर्चैयाका आमोद भनिने विजयकुमार यादव र सोहन यादव घाइते भएका थिए।
घाइते सोहनका बुबा राजगीर यादवले ज्यान मार्ने उदेश्यका साथ आक्रमण गरेको भन्दै प्रहरीमा मेयर यादव, शिवशंकर कापरीलगायत विरुद्ध जाहेरी दर्ता गराउन पुगे। प्रहरीले उनको जाहेरी लिएन। पछि उनी सरकारी वकिल कार्यालय पुगे त्यहाँ पनि उनको मुद्दा दर्ता भएन। त्यसपछि उच्च अदालत राजविराजबाट परमादेश गराएर मुद्दा दर्ता प्रहरीमा गराएका थिए।
आरोपित कापरीसहित प्रहरीले सरकारी वकिल कार्यालय सिरहामा मुद्दाको मिसिल बुझायो। सरकारी वकिलको कार्यालयले मेयर यादवमाथि मुद्दा नचलाउने आंशिक निर्णय गरेपछि पीडितहरु उच्च सरकारी वकिल कार्यालय राजविराज पुगे।
उच्च सरकारी वकिल कार्यालय राजविराज सप्तरीबाट ०७८ मंसिर ३ मा प्रतिवादी यादव उपर थप अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने निर्णय गरेको छ। सो निर्णय बमोजिम यादवलाई हाजिर हुन र हाजिर नभए पक्राउ गरी बयानका लागि पेश गर्न सरकारी वकिल कार्यालयले मिर्चैया प्रहरीलाई पत्राचार गरेको सरकारी वकिल कार्यालय सिरहाका प्रमुख तथा जिल्ला न्यायधिवक्ता सन्तोष भण्डारीले जानकारी गराए।
जिल्ला सरकारी वकिलको कार्यालय सिरहाले गत ७ गते नै मेयर यादवलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय मिर्चैयालाई पत्राचार गरे पनि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेनन्। म्याद पुर्याएर मेयर यादव एकै पटक अदालतमा हाजिर भएका थिए।
कारबाहीको माग गर्दै प्रदर्शन
धरौटीमा छुटेपछि मेयर यादवलाई पक्राउ गर्न माग गर्दै जनता समाजवादी पार्टी(जसपा)ले प्रदर्शन गरेको छ। जसपाले नगरपालिका भ्रष्टाचारको छानबिन र मेयर यादवको सम्पत्ति छानबिनको माग गरेको छ। उनीहरुले मिर्चैयाको परिक्रमा गरी इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि आधा घण्टा धर्ना पनि दिए।