सामूहिक बलात्कार प्रकरण : १० जनालाई १३ वर्ष कैद
परासी : सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई नवलपरासी जिल्ला अदालतले जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको छ । घटना २ वर्षअघिको हो । जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए ।
जबरजस्ती करणी ठहर भएमा ७ देखि १० वर्ष र सामूहिक ठहर भएमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सोमबार गरेको कैद सजायसँगै जनही १ लाख रुपैयाँ जरिवानास्वरुप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको श्रेस्तेदार पौडेलले बताए ।
घटनामा संलग्न १० मध्ये ९ जना घटनालगत्तै पक्राउ परेका थिए । १ जना अझै फरार छन् । जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीय युवतीलाई २०७६ भदौ २२ गते उनीहरुले सामूहिक बलात्कार गरेका थिए ।
पीडित युवती स्थानीय एक संस्थामा कार्यरत हुन् । संस्थाको काममा साथीसँग मोटरसाइकलमा जाँदै गरेकी युवतीलाई बाटो कुरेर बसेका उनीहरुले उखुबारीमा लगेर सामूहिक रुपमा जबरजस्ती करणी गरेको युवतीको बयानमा उल्लेख छ ।
मोटरसाइकलले घेरा हालेर युवती चढेको मोटरसाइकल उनीहरुले कब्जामा लिएका थिए । सुरुमा मोटरसाइकल चलाउने साथीलाई ४ जनाले बाँधेर राखेका थिए । अन्य ६ जनाले युवतीलाई उखुबारी भित्र लगेर सामूहिक बलात्कार गरेका थिए ।
पछि पुनः अन्य ४ जनाले बलात्कार गरेको बयानमा उल्लेख छ । युवतीले बयानमा भनेकी छन्, ‘ मुख थुनेर सुरुमा ५ जनाले जबरजस्ती गरे । त्यसपछि म बेहास भए।’बेहोस भएकी उनको अस्पतालमा होस खुलेको थियो । घटनापछि अपराधी भागेपछि युवतीका साथीले प्रहरीलाई खबर गरेका थिए । सोही दिन उनीहरु पक्राउ परेका थिए । घटनामा संलग्न उनीहरु युवतीको गाउँ नजिकैको अर्को गाउँका स्थानीय हुन् ।
बलात्कार गर्नेको नाम थाहा नभए पनि गाउँ नजिक भएकाले देख्ने गरेको पीडितले बताएकी छन् । उनीहरुसँग कहिल्यै पनि बोलचाल नभएको समेत पीडितको भनाइ छ ।घटनामा संलग्न रही सजाय पाउनेमा सुस्ता गाउँपालिका–३ फेनरहवाका सुरेन्द्र यादव, मनमोहन राजभर, शिवप्रसाद भर, भीमलाल मुसहर, सन्दिपप्रसाद यादव, राजु भनिने भीम बहादुर मुसहर, नेत्रबहादुर चौधरी, पिन्टु राजभर छन् ।
त्यसैगरी सजाय पाउनेमा सोही वडाको सेखवाना गाउँका अमरनाथ भेडियार र सागर चौधरी (फरार) छन् । उनीहरु १९ देखि ४० वर्ष उमेर समूहका हुन्।