निकारागुआले चीनको पक्षमा ताइवानसँगको सम्बन्ध तोड्यो
मानागुआः मध्य अमेरिकी मुलुक निकारागुआले चीनको पक्षमा ताइवानसँगको सम्बन्ध तोडेको छ। चीनलाई मात्र मान्यता दिने बताउँदै निकारागुआले शुक्रबार ताइवानसँगको कुटनैतिक सम्बन्ध तोडेको हो।
अमेरिकी विदेश विभागले शुक्रबार लोकतान्त्रिक मुलुकहरुले ताइवासँगको संलग्नता विस्तार गर्न आह्वान गरिरहँदा निकारागुआले भने ताइवानसँगको सम्बन्ध तोड्ने निर्णय गरेको हो। योसँगै ताइवानसँगको कुटनैतिक सम्बन्ध तोड्ने निकारागुआ पछिल्लो मुलुक बनेको छ।
आफूले सिर्फ चीनलाई मात्र मान्यता दिने बताउँदै निकारागुआको विदेश मन्त्रालयले भनेको छ, ‘निकारागुआले आज ताइवानसँगको कुटनैतिक सम्बन्ध तोडेको छ र कुनैपनि आधिकारिक सम्पर्क र सम्बन्धहरु पनि बन्द गरेको छ।’
वर्षौदेखिको मैत्रीपुर्ण सम्बन्ध रहेको मुलुक निकारागुआले कुटनैतिक सम्बन्ध तोड्दा आफूमाथि गहिरो चोट परेको ताइवानले बताएको छ। सन् २०१६ मा ताइवानकी राष्ट्रपति साई इङ वेनले पदभार ग्रहण गरेयता अन्तर्राष्ट्रिय सहयोगी मुलुकहरुको संख्या २१ बाट घटेर १४ मा झरेको छ।
यता अमेरिकाले भने निकारागुआले गरेको निर्णयको घोर आलोचना गरेको छ।