बेइमानीको पर्दा
सम्पत्तिमा छ सुख भन्छन्
सम्पत्तिमै सन्ततिको भविष्य खोज्छन्
एकदिन !
त्यो दिन पनि आउनेछ !
कसैका पीडामा नझरेका तिम्रा आँसु,
आफैंलाई बगाउने गरी झर्नेछन्
पश्चातापको ज्वालामा आफ्नै सामु,
आफ्नो भविष्य जलिरहेको देख्नेछौ
शक्ति र दम्भले वज्र त्यो तिम्रो मुटु,
एकदिन कायर बनी कापिरहेको हुनेछ
भक्कानिएको तिम्रो मुटुलाई डर, त्रासमा
आफ्नै प्रतिविम्बले छामिरहेको हुनेछ।
कति दिन छोप्छौ ? के–केले ढाक्छौ ?
आफ्नो छद्म भेषलाई
आफूले आफैंलाई ढाँट्न सकिन्न
बरु अंगाल सदाचारी परिवेशलाई
पश्चातापमा रुनुभन्दा
छोड गैरकानुनी धन्दा
हटाऊ बेइमानीको पर्दा
स्वाभिमानमा लेऊ आनन्द
स्वार्थले रुवाउँछ, लोभले रुवाउँछ
धरधरी रुवाउँछ, शून्यतामा हराउँछ जीवन।
सन्ततिको भविष्य !
सम्पत्तिमा होइन, कर्ममा खोज
कर्ममा बनाऊ अब्बल
गर्वले बाँच स्वाभिमानले बाँच
बाँच बनेर सधैं असल
ज्ञान, वुद्धि, विवेक अनि !
सदाचारी सद्विचार
भ्रष्टमुक्त समाज विधिको शासन
भावी सन्ततिलाई उपहार।