फेवाताल किनारमा महोत्सव
पोखरा : पोखराको फेवाताल किनार लेकसाइडमा सन् २०२२ लाई स्वागत गर्न सडक महोत्सवको तयारी गरिएको छ। अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलका रुपमा विकास गर्न रेस्टुरेन्ट एन्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा विगत २२ वर्ष अघिदेखि फेवाताल किनारमा सडक महोत्वस हुँदै आएको हो।
नेपाली कला, संस्कृति, खानाका परिकार र खेलकुदका गतिविधि सडक महोत्सवमा हुने आयोजक संस्था रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए। महोत्सव डिसेम्बर ३०, ३१ र २०२२ को पहिलो दिन हुनेछ। सन् २०२१ को अन्तिम दिन विशेष कार्यक्रम गरी नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रम रहेको रेवानका अध्यक्ष बरालले जानकारी दिए।
रेवान पोखराले राजनीतिक अस्थिरता, कोरोना महामारी, २०७२ सालको भूकम्प र भारतले लगाएको नाकाबन्दी जस्तो कठीन समयमा पनि पर्यटन प्रवर्द्धन गर्न सडक महोत्सव आयोजना गर्दै आएको छ।
गत वर्ष पनि सन् २०२१ लाई स्वागत गर्न सडक महोत्सव आयोजना गरेको थियो। यस वर्ष साँस्कृतिक कार्यक्रमसहित महोत्सव आयोजना हुने सडक महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए।
पोखरा घुम्न आएका विदेशी पर्यटक अंग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा वा अन्य मुलुक जाने गर्दथे।