नेतृत्व : गणितीय कि राजनीतिक ?
राज्यका सबै निकाय र पदाधिकारीमा देखिएको नैराश्यताको प्रमुख कारण भनेको नेतृत्वको असक्षमता नै हो।
राजनीति एउटा यस्तो विषय हो, जुन गणितीय हिसाबले मात्र चल्न सक्दैन। नेतृत्वका लागि तथ्यांकीय हिसाब चाहिएला, त्यसले सहयोग पनि गर्ला। तर, गणितीय हिसाबले सही नेतृत्व छान्न सकिँदैन। राजनीतिमा सही नेतृत्व त्यो हो जसले राज्यका लागि राजनीति गर्छ अर्थात् जुन नेतासँग नीति, सिद्धान्त र विचार हुन्छ, त्यो नै असली राजनीतिज्ञ हो। राजनीतिज्ञ स्वार्थी र कपट हुनु हुँदैन। हुन त आज भोलि जो स्वार्थ लिप्त छ, झुटा आश्वासन दिनमा माहिर छ अनि कामभन्दा पनि दाममा विश्वास गर्छ, त्यस्तो व्यक्तिले राजनीतिमा प्रगति गरेको छ। तर, त्यो प्रगति क्षणिक र अवास्तविक हुन्छ।
राजनीतिमा विचारले समेटेको नेतृत्व उपयुक्त हुन्छ। जोसँग विचार छैन। ज्ञान छैन। विषयवस्तुप्रति झुकाव छैन। त्यस्तो नेताले कुनै पनि पार्टीलाई सञ्चालन गर्न सक्दैन। यसमा अर्को महत्वपूर्ण कुरा नेतृत्व गर्न सक्ने क्षमता हुनुपर्छ। गुण हुनुपर्छ। त्यसबिना जति नै क्षमतावान् भए पनि चर्चामा आउन सक्दैन। जोसँग विचार, सिद्धान्त र देशप्रतिको निष्ठा छ, त्यसले मात्र राजनीतिक नेतृत्व दिन सक्छ। मुलुकलाई सही दिशातर्फ हाँक्न सक्छ। अर्थात्, राजनीतिक रूपले मुलुक सञ्चालन गर्न सक्छ। देशकै पुरानो पार्टी नेपाली कांग्रेसको महाधिवेशन अन्तिम चरणमा पुगेको छ। यस महाधिवेशनमा विभिन्न पदका लागि विभिन्न नेताहरूले उम्मेदवारी दिए र आज मतदान गर्दैछन्। उनीहरू आफूले जित्ने दाबी गरिरहेका छन्। उनीहरूको अभिव्यक्ति सुन्दा र पढ्दा भने कुनै पनि नेताबाट अपेक्षा गर्न सकिने अवस्था छैन।
विगतमा नेपाली कांग्रेस यस्तो खालको पार्टी हो। त्यसपछि यो समय सन्दर्भमा यस्ता यस्ता काम गर्यो। अहिले वर्तमानमा हामीहरू यो ठाउँमा उभिएका छौं। अब म यो पार्टीलाई यस्तो यस्तो प्रक्रियाबाट यस्तो बाटोमा लैजान्छु भन्ने अभिव्यक्तिहरू कुनै पनि नेताबाट आएको देखिँदैन। न उनीहरूलाई आउने दिनमा किन कांगे्रसको आवश्यकता छ भन्ने कुरा थाहा छ। न त अब कांग्रेसको भविष्य यस्तो हुन्छ भनेर कल्पना नै गरेको अवस्था छ। परिमार्जित रूपमा कांग्रेस यसरी अगाडि बढ्छ। २१औं शताब्दीमा मुलुकलाई सुहाउँदो तरिकाले कांग्रेस कसरी अगाडि बढ्छ भन्ने धारणा कसैबाट पनि सार्वजनिक भएको छैन। केवल सबै नेता गणितीय हिसाबमा लागेका छन्।
परीक्षामा त्यो व्यक्ति सफल हुन्छ, जसले हिसाब घोकेको होइन सूत्र बुझेको हुन्छ। नेपाली कांग्रेसका लागि त्यो सूत्र भनेको कांग्रेसको भावी नीति, सिद्धान्त र आवश्यकता हो। तर, अहिले नेताहरू आफ्नो पक्षमा संख्या पुर्याएर पद हत्याउने दाउमा मात्र देखिन्छन्। त्यसको असली फर्मुला के हो कसैले बुझ्ने कोसिस नै गरेको छैन। हुन त नेपालमा जसका हातमा सत्ता छ। सम्पत्ति छ। ऊ नै शक्तिशाली हुन्छ। जोसँग पैसा भएका व्यापारीहरू छन्। जसको पक्षमा देशीविदेशी प्रभाव परेको छ, ऊ नै सक्षम हुन्छ। देशीविदेशी शक्तिहरूले पनि आफ्ना अनुुकूलका व्यक्तिलाई नेतृत्वमा लैजान चाहन्छन्। त्यसका लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्छन्। त्यस्ता नेताहरू नेतृत्वमा पुग्छन्। गणितीय हिसाबले पदमा पुग्लान्। उनीहरू राजनीतिक रूपले भने राजनेता हुन सक्दैनन्। पार्टीलाई सही नेतृत्व दिन सक्दैनन्। मुलुकलाई समेटेर राज्य सञ्चालन गर्न सक्दैनन्।
यी कुरालाई नेपाली कांग्रेसका नेताहरूले बुझ्नु आवश्यक छ। त्यसमा पनि अझ सशक्त रूपमा विद्यार्थी जीवनदेखि राजनीति गरेका नेताहरूले त बुझ्नु झनै जरुरी छ। अहिले जो नेता पढेलेखेका छन्। पार्टीको वर्तमान र भविष्य देख्न सक्छन्। कांग्रेसलाई तलबाटै बुझेका छन्। कार्यकर्ताको मर्म र भावना बुझेका छन्। सबै जातजाति, भाषा, धर्मलाई समान नजरले हेर्छन्। मेचीदेखि महाकालीसम्मका जनताको पीडा, चाहना, आकांक्षा बुझेका छन्। त्यस्ता युवा नेताहरूले यो विषयलाई मनन् गर्नु आवश्यक छ। इतिहासमा कांग्रेस के थियो ? आज कांगे्रस कस्तो भइरहेको छ ? आउँदो दिनमा कस्तो हुनुपर्छ ? भन्ने कुरा उनीहरूले बुझ्नुपर्छ। त्यसपछि पार्टीलाई कुन दिशामा लैजाने भन्ने कुरा तय गर्नुपर्छ। जब एउटा निश्चित विन्दु भेटिन्छ त्यसपछि नीति र सिद्धान्तको खाका तयार पार्नुपर्छ। एक हिसाबले त्यो विन्दुमा पुग्ने मार्ग नै नीति, पद्धति, विचार र कार्यदिशा नै हो।
जब विचार र सिद्धान्तको प्रतिवद्धता स्पष्टसँग जनतासमक्ष राख्न सकिन्छ, त्यसपछि पार्टीको नेतृत्व गर्न सहज छ। जसले यो काम गर्छ, ऊबाट नेपाली कांग्रेसको नेतृत्व सम्भव छ। उसले नै नेपाली कांग्रेसको राजनीति अगाडि बढाउन सक्छ। आउने दिनमा उसैले मुलुक सञ्चालनको जिम्मा पाउँछ। त्यसैले कांग्रेसको आसन्न महाधिवेशनमा पुराना र नयाँ पुस्ताका नेताहरूलाई मिलाएर पदाधिकारीमा चयन गर्नु पर्ने देखिन्छ। नेपालका धेरै दलहरूमा पछिल्लो समय राजनीतिक विचलन आएको छ। त्यसले धेरै विखण्डन पनि गराएको छ। त्यसमा पनि उग्र दक्षिणपन्थीहरूमा विचलन देखिएको छ। उग्र वामपन्थीहरूमा पनि विचलन देखिएको छ। विचलन र त्यसको प्रभावले समग्र राजनीतिमा पारेको असर र आज मुलुकले राजनीतिक रूपले भोगिराखेको समस्या विश्लेषण गर्नैपर्ने भएको छ। राज्यका सबै निकाय र पदाधिकारीमा देखिएको नैराश्यताको प्रमुख कारण भनेको नेतृत्वको असक्षमता नै हो। त्यसैले जहिले पनि नेतृत्व दृढ र सशक्त हुनुपर्छ।
२१औं शताब्दीमा मुलुकलाई सुहाउँदो तरिकाले कांग्रेस कसरी अगाडि बढ्छ भन्ने धारणा कसैबाट पनि सार्वजनिक भएको छैन। केवल सबै नेता गणितीय हिसाबमा लागेका छन्।
असल नेतृत्व दिशाहीनताको एक मात्र निकास हो। सशक्त प्रजातान्त्रिक राजनीतिक शक्ति र त्यसका हातमा मुलुकको बागडोर र मुलुकलाई हाँक्ने बलियो सिद्धान्त भएको प्रतिबद्ध नेता मुलुकलाई चाहिएको छ। जुन गणितीय हिसाबबाट छानिएका नेताहरूबाट सम्भव हुने देखिँदैन। आर्थिक प्रलोभन, व्यक्तिगत स्वार्थ लिएखाएका वा बाँडेका हिसाबले राजनीतिमा व्यापारीहरूलाई समेटेको देखिन्छ। यस दृष्टिले हेर्दा संख्याले बहुमत पुगेका हिसाब र नेतृत्वमा पुगेका हिसाबले सशक्त संगठित राजनीतिक पार्टी बनाउन वा मुलुकलाई चाहिएको नेतृत्व दिन सक्दैन। त्यस्तो नेता समग्र मुलुकको नेता हुन सक्दैन। गणितीय हिसाबले चुनाव जित्न सक्छ। पदमा पनि पुग्न सक्छ। त्यसको गरिमा र त्यो पदले चलाउने जिम्मेवारी निभाउन सक्दैन। त्यसैले गणितीय हिसाबको जितलाई जित मान्नुको कुनै अर्थ छैन।
नेतृत्व सबैलाई समेट्ने खालको हुनुपर्छ। नेतृत्वमा नीति, सिद्धान्त र प्रतिबद्धता हुनुपर्छ। जब नेतृत्वप्रति पार्टीपंक्तिले विश्वास गर्छ, तब उसका कुरा काट्न सक्दैनन्। त्यसले पार्टीलाई एकीकृत बनाउँछ। बलियो बनाउँछ। सर्वशक्तिशाली बनाउँछ। आज पैसा तिरेर नेतृत्वमा पुगे पनि भोलिदेखि उसकै हालत सुरु हुन्छ। त्यस्ता व्यक्तिका कारण आन्तरिक द्वन्द्व सिर्जना हुन्छ। पार्टी फुट्छ। चिराचिरा पर्छ। त्यसैले अहिले नेपाली कांग्रेसलाई स्वच्छ छवि भएको नेताको आवश्यकता छ। अब नेपाली कांग्रेसमा अगाडि नेपाली कांग्रेसको मर्म, धर्म, सिद्धान्त र विचार बोकेका नेता चाहिएका छन्। जनता र मुलुकप्रतिको प्रतिबद्धता बुझेका नेता चाहिएका छन्। उदाहरणीय व्यक्तित्वहरू अब नेपाली कांग्रेसको अग्रपंक्तिमा आउनुपर्छ। सक्षम नेतृत्वसँगै इमान्दार नेता कांग्रेसको नेतृत्वमा पुग्न र सामूहिक नेतृत्वको जिम्मेवारी लिन तयार हुनुपर्छ। त्यसमा सबैले साथ दिनुपर्छ। कांग्रेसको आदर्श, नीति, सिद्धान्त बुझेको नेता हुन् तारानाथ रानाभाट। विगतमा स्वच्छ छवि थियो। यस्ता नेता नेतृत्वमा आएर सबैलाई समेटेर सामूहिक नेतृत्वको परिपाटी विकसित गर्नु र सामूहिक निर्णयले पार्टी सञ्चालन गरी देशलाई नेतृत्व दिनुपर्छ।
अहिले सशक्त रूपमा राजनीतिको नेतृत्वमा रहेका शेरबहादुर देउवा र रामचन्द्र पौडेललगायत सबैले सामूहिक रूपमा एउटा नेतृत्व चयन गर्नुपर्छ। सबैको सहमतिमा राजनीतिक पार्टीको नेतृत्व तय गर्दा एक त त्यसले सकारात्मक सन्देश दिन्छ अर्को पार्टी एकजुट हुन्छ। प्रजातान्त्रिक, लोकतान्त्रिक एवं राजनीतिक परिपाटीमा रहेर नेपाली कांग्रेसले सक्षम सामूहिक नेतृत्व चयन गर्नतर्फ अगाडि बढ्नुपर्छ। आमजनता तथा कार्यकर्तालाई अब नेपाली कांग्रेसले देशको नेतृत्व लिनेछ। यही अनुभूति हुने खालको नेतृत्व चयन गरेर कांग्रेस अगाडि बढ्नेछ भन्नेमा विश्वस्त छुु।