कांग्रेस १४ औं महाधिवेशन : असरल्ल चुनावी पर्चा

कांग्रेस १४ औं महाधिवेशन : असरल्ल चुनावी पर्चा

काठमाडौं : कांग्रेसको निर्वाचन आचारसंहितामा लेखिएको छ, ‘महाधिवेशनसँग सम्बन्धित स्थानको ५ सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री टाँस्न एवं माइकिङ गर्न मनाही छ।’ तर, १४औं महाधिवेशनमा विभिन्न पदका प्रत्याशीले त्यसको उल्लंघन गरे। उनीहरूले आचारसंहिताविपरीत ब्यानर, भित्तेलेखनसहित, पोस्टर, तुल, पम्प्लेट टाँसेका थिए। 

प्रदर्शनी मार्गको सडक प्रचार सामग्रीले ढाकिएको छ। सोमबार मतदानको दिन सडकैभरि च्यातेर फ्याँकिएको छ। उम्मेदवार र उनका सहयोगीहरू भोट माग्न पर्चा पम्प्लेट बाँड्थे। हावामा उडाउँथे। कतिपयले भीडमा जथाभावी फाल्थे। यत्रतत्र फलिएका ती प्रचार सामग्रीले यसले महाधिवेशनस्थल फोहोर र कुरूप बनाएको छ। 

महाधिवेशन उद्घाटनका दिनदेखि नै बाजागाजा नृत्यसहित नाराजुलुस सुरु भएको थियो। उम्मेदवारको प्रचारमा तडकभडक नै बढी देखिएको बाँकेकी प्रतिनिधि किरण कोइरालाले बताइन्। यसको कुनै अर्थ नरहेको उनको बुझाइ छ। ‘प्रचारप्रसारको यो शैली नै खराब हो। बेकारको भीडभाड, होहल्ला, दंगा, देखासिकी गरेर भोट पाइँदैन,’ कोइरालाले भनिन्, ‘पार्टीमा गरेको काम, लगानीका आधारमा प्रतिनिधिले उम्मेदवारको मूल्यांकन हुनुपर्छ।’ उम्मेदवारहरूले कार्यकर्तालाई पैसा दिएर ‘मेरो नाम लिएर बाटोमा कराइदेउ, हल्ला गरिदेउ, अनि रमाइलो गर’ भन्ने गरेको उनले सुनाइन्। भृकुटीमण्डपभित्र, राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मकै सडक किनार प्रचार सामग्रीले कुरूप बनेको छ।

कोही रहरले त कोही बाध्यताले चुनावी मैदानमा उत्रिएका छन्। ‘पद, पावर र पैसा नभएका उम्मेदवारको खासै चर्चा देखिएन,’ महाधिवेशन पर्यवेक्षकका रूपमा आएका विनय परियार भन्छन्, ‘पार्टीमा पहुँच भएका, मन्त्री÷सांसद भइसकेका, उम्मेदवारको प्रचार शैली भड्किलो छ।’ यसले आफूलाई लोकतन्त्रको हिमायती दाबी गर्ने कांग्रेसका नेताको नैतिकता कस्तो रहेछ भन्ने पुष्टि गरेको उनले बताए। ‘दुई महिनादेखि विभिन्न ठाउँमा महँगो भाडा तिरेर सम्पर्क कार्यालय राखेका छन्। कार्यकर्ता परिचालन गरेका छन्। खुवाएका छन्,’ उनले भने, ‘यसले पार्टीको आन्तरिक प्रतिस्पर्धामै पनि इमानदार र सादगी नेतालाई अगाडि बढ्न निकै गाह्रो पर्ने देखेको छु।’ यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको बुझाइ छ। 

प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सक्ने आचारसंहिता उल्लेख छ। ‘कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचारप्रसार गर्न पाइने छैन,’ आचारसंहितामा लेखिएको छ, ‘मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचारप्रसार गर्नु हुन अनुरोध गरिन्छ।’

प्रचारप्रसार होइन पार्टीमा गरेको काम र लगानीका आधारमा प्रतिनिधिले उम्मेदवारको मूल्यांकन गर्नुपर्छ।

महाधिवेशन पनि चुनाव नै भएकाले प्रचारलाई सामान्य रूपमा लिनुपर्ने नुवाकोटका बहादुरसिंह (लामा) तामाङको भनाइ छ। ‘एउटाले प्रचारप्रसार गर्न थालेपछि अर्कोले पनि गर्न बाध्य हुन्छ। प्रतिस्पर्धा भनेकै यही हो कि जस्तो लाग्छ। प्रजातन्त्रको यो एउटा मान्यता पनि हो,’ उनी भन्छन्, ‘तर, जसरी प्रचारप्रसार भइरहेको छ यसरी गर्नु त्यति उपयुक्त होइन।’ केही मात्रामा प्रचारप्रसार आचारसंहिताविपरीत पनि भइरहेको उनी स्वीकार्छन्। भन्छन्, ‘प्रचारप्रसार आचारसंहिताभन्दा केही फरक त भएको छ। तर, आन्तरिक प्रतिस्पर्धा भएकाले विरोध गर्न पनि अलि गाह्रो छ।’ महिला संघकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी स्यांजाकी सरस्वती अर्यालले भने प्रचार शैलीप्रति कुनै आपत्ति नभएको बताइन्। ‘आफ्नो संस्कृति, पहिचान, संस्कारलाई अपनाएर प्रसारप्रसार गर्छन् भने त्यो सही नै हो, उनले भनिन्। इमान्दारपूर्वक राजनीतिमा लागेका नेतालाई प्रचारको आवश्यकता नै नपर्ने उनको बुझाइ छ। 

‘आचारसंहिता त औपचारिकता मात्रै हो। यसको पालनामा कसैको ध्यान गएको छैन’, सुदूरपश्चिमबाट प्रतिनिधि बनेर आएकी कविता भट्टले भनिन्, ‘यो ठाउँ हेरिनसक्नु फोहोर भएको छ।’ यसअघि एमालेको महाधिवेशनस्थल पनि यस्तै फोहोर देखेको चितवनबाट आएका हरि पाण्डेले बताए। ‘नेपालका सबै दल उस्तै हुन्,’ पाण्डेले भने। निर्वाचन समिति भने आचारसंहिता उल्लंघन हुन नदिने बताउँछ। 
‘आचारसंहिता कडाइका साथ लागू गर्छौं। कसैले पनि उल्लंघन गर्न पाउँदैन,’ समिति सदस्यसचिव जगन्नाथ श्रेष्ठले भने, ‘उल्लंघन गरेको पाइए तुरुन्त हटाउँछौं।’ आचारसंहिताविपरीत उम्मेदवारले टाँसेका तुल, ब्यानर हटाउन बारम्बार प्रहरीले माइकिङ गरेको थियो। त्यसपछि केहीले हटाए पनि अधिकांशले हटाएनन्। 

तस्बिर : दीपेन श्रेष्ठ

जाजरकोटका राजिव विक्रम शाह भने प्रचार शैलीमा परिवर्तन हुँदै आएको बताउँछन्। ‘पहिलेका महाधिवेशनभन्दा केही भिन्नता छ। १५औं महाधिवेशनसम्म सायद यो पम्पलेटको जमाना पनि गइसकेको हुन्छ।’ 
महाधिवेशन कांग्रेसको ऊर्जा देखाउने बेला भएकाले अलिकति तडकभडक जस्तो देखिएको उनको बुझाइ छ। ‘ताप्लेजुङदेखि दार्चुलासम्मका कांग्रेसीजन भेला भएका हुन्छन्,’ शाहले भने, ‘त्यसैले यो सामान्य हो।’ बारम्बार सचेत गराउँदा पनि नेता कार्यकर्ताले नटेरेको निर्वाचन समिति सदस्य तेज रावलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.