सेयरमा ‘प्रचण्ड पहिरो’

सेयरमा ‘प्रचण्ड पहिरो’

काठमाडौं : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को विवादास्पद अभिव्यक्तिलगत्तै सेयर बजारमा ठूलो पहिरो गएको छ। दाहालले शनिबार सेयरलाई साम्राज्यवादको विकसित रूप भनेका थिए। उक्त अभिव्यक्तिको सामाजिक सञ्जालदेखि जताततै आलोचना भएको छ। 

दाहालले नकारात्मक टिप्पणी गरेसँगै नेप्से सूचक १६८ अंकले घटेर २२८१.६७ बिन्दुमा झरेको छ। सोमबार ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। बजार पुँजीकरणका हिसाबले दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका छन्। सोमबारको पुँजीकरण ३२ खर्ब ७ अर्बमा सीमित हुन पुगेको छ।

सेयर बजार ४४ खर्बको पुगेको थियो। पछिल्लो समय घटेर ३२ खर्बमा खुम्चिँदा लगानीकर्तामा निराशा छाएको छ। १२ खर्ब रुपैयाँ गुमेसँगै लगानीकर्ता सरकारप्रति आक्रामक बन्न थालेका छन्। दाहालको पुँजी बजारविरोधी भाषणले रुष्ट लगानीकर्ताले विरोध कार्यक्रमै गरे। यससँगै लगानीकर्ताका सबै संघ–संस्थाका संंयुक्त कार्यदलले तीन वर्षअघि सरकारले लगानीकर्तासँग पुँजीबजार सुधारका लागि गरेको ५८ बुँदे सुझावअन्तर्गतका बाँकी काम गर्न सोमबार ध्यानाकर्षण गराएको छ।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार दाहालले पुँजी बजारमा बज्र प्रहार गरेको बताउँछन्। ‘पुँजी बजारलाई असह्य भइरहेका बेला प्रचण्ड (दाहाल)ले नुन छर्किने काम गर्नुभएको छ’, अध्यक्ष रौनियार भन्छन्, ‘लगानीकर्ता मर्माहत भएका छन्।’ सेयर बजार सामन्तीहरूको पुँजी संकलन गर्ने ठाउँ हो भन्ने दाहालको अभिव्यक्तिले लगानीकर्ता चिन्तित भएको रौनियारको भनाइ छ।  

लगानीकर्तामा निराशा छाएसँगै सेयरमा आकर्षण घटेको छ। त्यति मात्र नभई नियमनकारी निकायले नियन्त्रण गरेकाले सेयर बजार खुम्चिन पुगेको विश्लेषकको बुझाइ छ। रौनियारका अनुसार बैंकमा लगानीयोग्य पुँजी नहुनु र ब्याजदर बढ्दा पनि सेयर बजारमा प्रत्यक्ष असर परेको छ। धेरैले सेयरमा लगानी गर्न बैंकबाट ऋण लिने गर्छन्। तर, अहिले बैंकमा तरलता अभाव कायमै भएकाले सेयर बजारमा गिरावट आएको विश्लेषकको बुझाइ छ। 

विश्लेषक सन्तोष मैनाली राजनीतिक अभिव्यक्तिले सेयर बजार धराशायी भएको बताउँछन्। सेयर बजारप्रति सरकारले बेवास्ता गर्दै आएको छ। सरकारले लामो समयदेखि नेपाल धितोपत्र बोर्डको नेतृत्व प्रदान गर्न सकेको छैन। लगानीकर्ताको आत्मविश्वास जगाउन लाग्नुपर्ने उनी बताउँछन्। भन्छन्, ‘तरलता सुधार नगरी पुँजी बजार बढ्दैन। तरलता बढे लगानीकर्तामा आत्मविश्वास बढ्छ।’ 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल तरलता अभाव हुँदा सेयर बजारमा ऋण दिन नसकिएको बताउँछन्। ‘यसमा छोटो समयका ऋण चाहिन्छ तर तरलता नहुँदा समस्या छ। बैंकले अहिले सो क्षेत्रमा कर्जा दिन नसक्दा पनि बजार घटेको एक कारण हो’, पोखरेल भन्छन्। यसले गर्दा सामान्य लगानीकर्ता पुँजी बजारबाट बहिरिन थालेको उनको भनाइ छ। ‘बजारमा अन्योल बढ्दा नयाँ लगानीकर्ता  डराउँछन्, बुझेर गर्नुपर्छ’ उनी भन्छन्, ‘गुमाउँदा पनि यो कारणले गुम्यो भन्ने विश्लेषण गर्न सक्नुपर्छ।’ 

बैंकको अस्वाभाविक ब्याजदर बढ्दा सेयर बजार घटेको पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलको तर्क छ।

सेयरमा लगानी गर्नेको संख्या भने बढेको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार ४७ लाख ४३ हजार ५ सय ६२ भन्दा बढीले डिम्याट खाता खोलेका छन्। मेरो सेयरमा ३८ लाख ५७ हजार ५ सय ३६ प्रयोगकर्ता छन्। प्रायः २४ लाख हाराहारी लगानीकर्ताले आईपीओ (प्राथमिक सेयर) भर्छन्। त्यसमध्ये ११ लाख अनलाइनबाटै आईपीओ भर्छन्। सेयर कारोबारमा प्रविधिको सुविधा अर्थात् अटोमेसन भएपछि ९५ प्रतिशतभन्दा बढीले अनलाइनबाटै आईपीओ भर्छन्। 

दोस्रो बजार पनि अनलाइनबाटै खरिद, बिक्री गर्न सहज भएको छ। नेप्सेले ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)को सुविधा ल्याएपछि आमलगानीकर्ता यसबाट लाभान्वित भएका छन्। सेयर कारोबारका लागि आधुनिक प्रविधिको व्यवस्था क्रमशः हँुदै गएपछि बजार विस्तारसँगै उकालो लाग्ने अपेक्षा भने नेतृत्व तहमा रहेकाको सार्वजनिक भनाइले प्रभावित बन्न पुगेको छ। 
सेयरमा गृहणी, विद्यार्थीको बाहुल्य बढ्दो छ। साना लगानीकर्ता पनि यसप्रति आकर्षित भइरहेका छन्। विदेशमा बस्ने नेपाली पनि आईपीओमा संलग्न भइरहेका छन्। सरकारी कर्मचारी, उद्योगीहरू पनि पुँजी बजारमा संलग्न छन्। तर, पछिल्लो समय १४ अर्ब २३ करोड पुँजी गुम्दा लगानीकर्ता निराश भएका छन्। 

कुल जनसंख्याको १६ प्रतिशत सेयरमा लागेका छन्। सेयर बजारले अर्थतन्त्रको मेरुदण्डको रूप लिइसक्यो। तापनि चौतर्फी आक्रमण हुँदा लगानीकर्ता निरुत्साहित हुन पुगेका छन्। अमेरिका, भारत, चीनमा पुँजी बजार विस्तार हुँदै गएको छ। 

रौनियारका अनुसार नियमक निकाय ‘रेगुलेटर बडी’ नभएर ‘कन्ट्रोलर बडी’को रूपमा व्यवहार गर्दा सेयरमा संकट आएको हो। राष्ट्र बैंक पनि कसरी खुट्टा तान्ने, अर्थमन्त्री त्यस्तै व्यवहार गर्ने र उनका अध्यक्षसमेत पुँजीबजार भत्काउन लागेपछि चुनौती थपिएको उनी बताउँछन्। 

एक लगानीकर्ता निमा शर्माले ३० लाख रुपैैयाँ सेयरमा लगानी गरेकी थिइन्। तर, उनको पुँजी १२ लाखमा झरिसक्यो। आफ्नो सेयर कौडीको भाउमा बेच्नुपरेको उनी सुनाउँछिन््। सरकार संवेदनशील नभएको लगानीकर्ता गुनासो गर्छन्।

अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारलाई सकारात्मक रूपमा लिएका छैनन्। यद्यपि बेलाबेला सेयरलाई प्रभावित नबनाउने गरी नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई पनि अनुरोध गरेको सुनिन्छ। गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जामा कडाइ गर्दै बढीमा तीनवटा बैंकबाट ४÷४ करोडभन्दा बढी ऋण लिन नपाइने नीतिगत व्यवस्था गरेका छन्। यस्तो नियमले पनि सेयर बजारका लगानीकर्ता 
निरुत्साहित छन्। 

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिँदै नियन्त्रण गर्न खोजे। उनले सेयरमा भन्दा निक्षेप राखे सुरक्षित हुनेजस्ता अभिव्यक्ति दिए। जसकारण त्यस बेला १३०० देखि १४०० हाराहारीमा रहेको नेप्से घटेर ११००.५८ अंकमा झरेको थियो।

त्यसअघि डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा उनको भाषणकै कारण सेयर बजार ओरालो लागेको थियो। उनले पुँजी बजारलाई ‘जुवाघर’ भनेसँगै नराम्ररी प्रभावित भएको थियो। तत्कालीन समयमा साढे ११०० हाराहारीको उच्च विन्दुमा पुगेको नेप्से ३०० बिन्दुसम्ममा झरेको थियो। 

चौतर्फी रूपमा आक्रमण हुँदा सेयर बजार चौपट भएको छ। नीति निर्माता तथा नियमक निकायको आक्रमणबाट सेयर बजार थलिएको सरोकारवालाले टिप्पणी गरेका छन्। दाहाल, अर्थमन्त्री, राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डलगायत नकारात्मक हुँदा सेयर बजार निरन्तर गिरावट आइरहेको छ। नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची जारी गर्दै प्रेस विज्ञप्ति जारी गरेसँगै ओरालो लाग्न सुरु भएको सेयर बजार पछिल्लो समयमा निरन्तर घट्दै गएको छ। 

स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की नो भोट अभियान चलाउने बताउँछन्। ‘पुँजी बजारमा ४८ लाखभन्दा बढी लगानीकर्ता छन्। यीमध्ये केही राजनीतिक पार्टीमा आबद्ध होलान्। तर, आफूले गरेको लगानीको सुरक्षा नगर्ने पार्टीलाई कसरी विश्वास गर्ने भन्ने उहाँहरूले बुझ्नुहुन्छ। त्यसैले यो अभियान सफल हुन्छ’, कार्की भन्छन्, ‘हामीले अभियानको पहिलो चरणस्वरूप सामाजिक सञ्जालमार्फत सरोकारवाला निकायलाई दबाब दिएका छौं। यसलाई केही समय निरन्तरता दिन्छौं।’

सरोकारवाला निकायले वास्ता गरेन भने यसलाई देशव्यापी रूपमा अगाडि बढाउने उनको भनाइ छ। ‘हामीले बजार बढ्नुपर्छ घट्नु हुँदैन भनेका हैनौं। तर, नीति निर्माणको तहमा बसेर पुँजी बजार सुधार र विस्तारका लागि काम नगर्ने दल र तिनका नेतालाई बहिष्कार गर्नुपर्छ भनेर यो अभियान ल्याएका हौं। यो वा त्यो दल भन्ने छैन’, उनी भन्छन्, ‘जसले काम गर्छ, त्यही लगानीकर्ताका प्रिय नेता वा दल हुनेछ। पुँजी बजारलाई महत्व नदिने र आर्थिक गतिविधिलाई नबुझ्ने नेता वित्तीय साक्षरता भएका लगानीकर्ताका लागि काम छैन भनेर नो–भोट भनेका हौं। यसमा सबै लगानीकर्ता संगठन, आम लगानीकर्ताहरूको समर्थन र ऐक्यबद्धता छ।’ 

के भनेका थिए दाहालले ? 

पहिला–पहिला पुँजीको लगानी उद्योगमा हुन्थ्यो। उत्पादनमा लगानी हुन्थ्यो। र, त्यहाँबाट आउने नाफाचाहिँ पुँजीपतिहरूले लिन्थे। आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन। मुख्य रूपमा पुँजीको लगानी पुँजीमै हुन्छ। 
पुँजीको लगानी पुँजीमा हुने वित्तीय एकाधिकार पुँजीवादको मुख्य विशेषता त्यो भएर देखापर्‍यो। अहिले तपाईं हेर्नुभयो भने धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, वल्र्ड बैंक, एसियाली बैंक यी तपाईं हामीले हेर्दा खेरी त बैंक हुन् पैसा यताउता गर्छन् भन्ने हुन्छ। होइन त्यति सजिलो। यो साम्राज्यवादका विकसित रूपहरू हुन्। यो वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडि बढाउने र नाफा सोहोरेर संसारका केही सीमित पुँजीपतिहरूको हातमा संसारकै धन एकगठा गर्ने र अत्यधिक धेरै ८० प्रतिशत जनसंख्यालाई भोको नांगो राख्ने प्रणाली हो यो। सिधै पुँजीबाट पुँजी लिने। 

पुँजीको लगानी अब उत्पादनमा हुँदैन, सट्टाबजारमा हुन्छ। धितोपत्रमा हुन्छ। बैंकहरूले पुँजीचाहिँ सिधै घरजग्गा किनबेचमा लगाउँछन्। घरजग्गा किनबेचबाट सिधै पैसा आउने भयो नि ! करोडौं, अर्बौं थुप्रिने भयो। विश्वभरि नै यस्तोमा पुँजी लगानी हुन थाल्यो। त्यसो गर्दा मजदुरहरूचाहिँ कटौती हुँदै जान थाल्यो। यसको विश्लेषण गरेर योसँग लड्ने तरिका खोज्नु छ हामीले। 
(माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शनिबार पार्टी संगठनको सम्मेलन उद्घाटनमा व्यक्त गरेको अभिव्यक्तिको अंश )

‘सेयर बजारप्रति राज्यको गलत बुझाइ’
राधा पोखरेल अध्यक्ष, पुँजी बजार संघ

सेयर बजार घट्नुको खास कारण के हो ?
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले हिजोआज सेयर बजार प्रभावित भएको छ। दाहालले नकारात्मक टिप्पणी गरेकै कारण सेयर बजार घटेको हो। सोमबार मात्रै १०४ अंकले घटेको छ। त्यसअघि मौद्रिक नीतिको समीक्षामा सेयर बजारलाई नियन्त्रण गर्न खोजेकाले पनि बजार घटेको हो। धेरै लगानीकर्ताको आशा थियो। तर, समीक्षाका क्रममा राष्ट्र बैंकले लगानीकर्ताको भावना सम्बोधन गर्न सकेन। बैंकमा तरलता अभाव छ। बजारमा पैसा छैन। बैंकबाट निस्कन्छ तर जाँदैन। त्यसले पनि पुँजीबजार नराम्ररी प्रभावित भएको छ। नीति निर्माण गर्ने व्यक्तिले गलत अभिव्यक्ति दिँदा पुँजीबजार प्रभावित हुन पुग्छ। 

कसरी सुधार होला ?
सेयर बजारमा गर्नुपर्ने काम धेरै बाँकी छ। नीति मान्छेपिच्छे प्रभाव हुने अवस्था आउनु हुँदैन। महिनापिच्छे, दिनपिच्छे र व्यक्तिपिच्छे नीति फेरिनुभएन। सेयर बजार व्यवस्थित गर्न स्थिर नीति अबलम्बन गर्नुपर्छ। सेयर बजार २०३३ देखि सुरु भए पनि अझै बामे सर्दै छ। ढुंंगेयुगमै छ। सेयर बजार सर्भसुलभ बनाउनतर्फ लाग्नुपर्छ। प्राथमिक बजार सबै ठाउँमा पुग्न सके पनि सेकेन्डरी बजारमा पुग्न सकेको छैन। नीतिगत सुधार भए सेयर बजार उन्नत ढंगले अघि बढ्छ। बजार बढ्यो भनेर नेपाल धितोपत्रले नियन्त्रण गर्ने गरी विज्ञप्ति निकाल्ने, अर्थमन्त्रीले सेयर बजारबारे नकारात्मक टिप्पणी गर्ने प्रवृत्तिले सेयर बजार निकै प्रभावित भएको छ। 

सेयर बजारले अर्थतन्त्रमा के प्रभाव पार्छ ? 
सेयर बजार अर्थतन्त्रको मेरुदण्ड हो। सेयर कारोबार हुँदा राज्यले कर उठाउन पाउँछ। कोभिडको बेला अर्थतन्त्र धानेको सेयर बजारले हो। अरू सबै क्षेत्र धराशायी भएको बेला सेयर बजार तीव्र रूपमा उकालो लागेको थियो। सेयर बजारप्रति राज्यको गलत बुझाइ छ। राष्ट्र बैंकका कर्मचारी सेयरबाट धेरै कमाए भन्ने इष्र्यालु भाव राख्छन्। नीति निर्माण गर्नेहरूलाई गलत कुरा सुनाइन्छ। समग्रमा बजार घट्दा साना लगानीकर्ता बढी पिल्सिन्छन्। साना लगानीकर्ता कम पुँजी भएका हुन्छन्। तरकारी, फलफूल, नांङ्लो पसलबाट आम्दानी गर्ने भएकाले उनीहरू बढी प्रभावित हुन्छन्। गृहिणी, विद्यार्थीले खाजाखर्च कटाएर सेयरमा प्रवेश गरेका छन्। ठूला लगानीकर्ताभन्दा उनीहरू नै बढी चिन्तित छन्। 

सेकेन्डरी मार्केटभन्दा प्राथमिकतामा बढीभन्दा बढी आकर्षण ल्याउन के गर्नुपर्ला ? 
सेकेन्डरी मार्केटमा जोखिम बढी हुन्छ। बजेट, नीति आउँदा धेरै कम्पनीलाई पब्लिक बनाउने भन्ने हुन्छ तर त्यसो भइरहेको हुँदैन। लगानीकर्ता आज किन्यो तीन महिनामै नाफा खोज्ने प्रवृत्ति पनि गलत छ। लाभांश खाने योजनामा हुनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.