चिसो छ, ख्याल गरौं
जाडो याममा बढी हुने इन्फ्लुएन्जाले हृदयाघातसमेत हुन सक्ने विभिन्न अध्ययनले देखाएका छन्। यसबाट समयमै सचेत बन्नु पर्छ।
जब चिसो मौसम सुरु हुन्छ। गरिब नागरिकलाई सबैभन्दा बढी समस्या पर्छ। चिसो काट्न घाम र आगो ताप्ने धेरै नागरिक मुलुकमा छन्। हुने खानेमा भन्दा हुँदा खानेमा यो समस्या बढी हुन्छ। एकसरो लुगासमेत राम्रोसँग लाउन नपाउने गरिब जनता कम छैनन्। चिसोको प्रभाव पहाडमा भन्दा तराईमा उच्च छ। बूढाबूढी बालबालिका र महिला वर्गका लागि चिसो अभिशाप बन्छ। मधेसमा अधिकांश समय गर्मी हुने भएकोले जाडोको लागि जोहो गरिँदैन। दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरूसँग नयाँ लुगा किन्ने क्षमता पनि हुँदैन। भएको एकसरो लुगा पनि शीतलहरले चिसो हुन्छ। घाम नलागी नसुक्ने तथा ज्याला मजदुरी गर्ने अवसर कम भई खानपान र न्यानो लुगा तथा वातावरण कोरा कल्पना बन्छ।
यो समय चिसोले मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्छ। रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, पखाला, ब्रोङकाइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, दादुरा, ठेउलाका बिरामी उच्च हुन्छन्। चिसोको एलर्जी, छालामा विभिन्न समस्या देखा पर्छन्। चिसोले अनुहारमा कालो र सेतो दाग हुनेलगायत मुटु कमजोर बन्छ। हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ।
जाडोमा शारीरिक सरसफाइमा कमी ह¬नाले लिंग र योनिमा फोहर जम्ने, कापमा संक्रमण हुने, योनिद्वारबाट सेतो पानी बग्ने, यौनांग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुनसक्छ। मौसम भोजभतेरको समय पनि भएकाले बढी खाना, बोसो र मसलेदार खानाले अपच, ग्याष्ट्रिाइटिस, झाडा पखाला हुनसक्छ। जन्डिस र टाइफाइड पनि प्रशस्त पाइन्छ। जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्राय: सबै दीर्घकालीन रोगहरू बढी गम्भीर बन्छन्।
जाडोमा बढ्दै छालाको समस्या
छालाको लागी चिसो मौसम अनुकूल हुँदैन। बाहिर चिसो, सुक्खा, धुलो धुवाँभित्र तातोको सन्तुलन नमिल्दा त्यस्को प्रभाव छालामा देखिन्छ। जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धवृद्धासम्म छाला सुक्खा, रुखो, रातो, फुटने, खस्रो हुने, चिलाउने, पत्र निक्लने, चाया, पोतो, छालाको समस्या देखिन थालिसकेको छ। छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुक्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुनेजस्ता रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ। मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउँछ।
थोरै मात्र चनाखो भए यसबाट छुटकारा पाउन सकिने भए पनि जानकारीका अभाव तथा लापरवाहीले समस्या बढोत्तरी छ। पर्याप्त मात्रामा पानी वा झोलिलो खाने, अनुहारमा तातोपानीको बाफ लिने, छालाअनुसारको क्रिम र अनिवार्य सन्स्क्रिन प्रयोग गर्नुपर्छ।
निमोनियाको जोखिम
आँसु बगिरहने, वाकवाकी लाग्ने, बान्ता हुने, सुक्खा खोकी लाग्ने, छाती दुख्ने र नाकको म्युकोसा सुन्निने तथा श्वास फेर्न गाह्रो हुन्छ। त्यस्तैगरी थुक, पानी पिउन, निल्न पनि गाह्रोे हुन सक्छ। शरीरमा थकानको अनुभव हुन्छ। टाउको भारी भई दुख्छ। धेरै ज्वरो आउन सक्छ, जिउ दुख्छ, कान बन्द हुन्छ। घाँटी खसखसाउने, कफ आउने, कोक्याउने, नाक बन्द हुने, स्वाद र सुँघ्ने क्षमतामा कमी आउँछ। पातलो सिँगान बढ्दै जाँदा बाक्लो र पहेँलो हुँदै जान्छ। जटिलता नभएमा ३–५ दिनमा लक्षणहरू कम भएर जान्छन्।
अनुहारमा पीडा, पहेँलो वा हरियो सिँगान र ज्वरो भए पिनास तथा सास फेर्न असजिलो, छिटो छिटो सास फेरे, कोखा हाने निमोनिया हुन्छ। घरेलु उपचारले निको नभए, १०२ डिग्रीभन्दा बढी ज्वरो आए, जिउ कामे, टाउको बढी दुख्ने, घाँटी बांगिए, बान्ता भए, छाती दुख्ने, सास फेर्न असजिलो भए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ।
विगत १० वर्षमा निमोनियाबाट नेपालमा २३ हजारभन्दा बढी बालबालिकाको मृत्यृ भएको तथ्यांक छ। परिवार कल्याणका अनुसार बालबालिकामा १३ प्रतिशत मृत्यु निमोनियाबाट हुने गरेको छ। जोन हप्किन्स विश्वविद्यालयको २०२० को खोजमा विश्वभर २०२० मा आठ लाखभन्दा बढी बालबालिकाको ज्यान गएको तथा हरेक ३९ सेकेन्डमा एक बच्चाको ज्यान जान्छ। खोपले रोक्न सकिने तथा एन्टिबायोटिकले उपचार गर्न सकिन्छ।
सामान्य नठानौं
साधारणतया रुघाखोकीले ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी सामान्य संक्रमण गराउने भए पनि ट्राकियाटिस, ब्रोङ्काइटिस, ब्रोङकोेलाइटिस, ब्रोङकोेनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनियाको समस्या हुनेगरेको छ। नाकको भित्री भागको श्लेस्मिक सुन्निनु (राइनाइटिस), साइनाइटिस, कानमा पिप बग्नु (एक्युट ओटाइटिस मिडिया), ब्याक्टेरियल संक्रमण, टकसिक कार्डियोमायोप्याथी, इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्युरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ। अहिलेको अध्ययनले जाडो याममा बढी हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयाघातसमेत हुन सक्ने देखाएका छन्। यसबाट समयमै सचेत बन्नु पर्छ।
हाइपोथर्मिया
शरीरको भित्री तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया भनिन्छ। शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्छ तर त्योभन्दा कम भए शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांसपेशी कडा हुन्छ। निदाउने, शिरा धमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ। जब शरीरको तापक्रम २६ डिग्री सेल्सियसभन्दा कम हुन्छ। बिरामी बेहोस हुन्छन्, सुन्निन्छ, आँखाको नानी नचल्ने, जोर्नीहरूमा हुने टेन्डन रिफ्लेक्स हराएर जान्छ। जब गुदद्वारको तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम हुन्छ तब व्यक्तिको मृत्यु हुन्छ।
रोकथाम
निरन्तरको इन्धन र ग्यासको मूल्यवृद्धिले तातो खाने, बनाउनेजस्ता कुरा महँगिँदा आकाशको फल हँुदै गएका छन्। जाडोबाट बच्ने निहुँमा पूरै झ्याल ढोका बन्द गरी बाथरुममा नुहाउने, कोठामा भुसको आगो बाल्ने, मकल ताप्ने, मट्टीतेल तथा ग्यासयुक्त हिटर, कोइला र आगो बाल्ने गर्दा कोठाभित्रको अक्सिजन कम हुन्छ। यो समस्या एकातिर हुन्छ भने अर्कोतिर आगोले कार्बन मोनोअक्साइडजस्ता विषालु ग्यास बढी हुँदै जाँदा अचेत बनाई थाहै नपाई मृत्युसमेत हुने खतरा बढ्छ, घरमा आगलागी हुन्छ।
इन्फलुएन्जा र निमोनिया खोप महँगो त छँदैछ र लगाए पनि ३० प्रतिशत मात्र पूर्ण सुरक्षा दिने भएकाले खोप लगाएकाहरू पनि रोगको जोखिममा हुन्छन्। तातो र न्यानो स्थानमा बस्ने गर्नुपर्छ। चिसो हावा लाग्ने ठाउँमा हिँडडुल नगर्ने तथा धुलो धुवाँ, चिसो र संक्रमणबाट बच्न मास्क लगाउनुपर्छ। घरमा बुनेका वा बजारका गल्लीमा पाइने मास्कबाट केही सुरक्षा नहुने भएकाले सकिन्छ भने एन—९५ नभए तीन तह भएको सर्जिकल मास्क प्रयोग गर्नुपर्छ। पटकपटक हात धुने गर्नुपर्छ।
अन्तमा, पोषणयुक्त र सन्तुलित खाना खाने, तातो र झोलयुक्त खाद्य पदार्थको बढी उपयोग गर्ने, मौसमी फलफूल लिने र सागसब्जी प्रशस्त खानुपर्छ। खुल्ला ठाउँमा नजाने, वातावरणलाई न्यानो बनाउने र आफैं सचेत भएर बस्नुपर्छ। भिटामिन सीयुक्त फलफूल सेवनमा जोड दिनुपर्छ। स्वास्थ्य तथा सरसफाइमा बढी ध्यान दिनुपर्छ। शरीरलाई न्यानोयुक्त लत्ता कपडा लगाउने र धूमपान, मद्यपानबाट टाढा रहनुपर्छ। दाउरा वितरणभन्दा न्यानो कपडा वितरण तथा स्वास्थ्य सचेतना बढाउनैपर्छ।
(लेखक नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।)