नियोगहरूलाई श्रमिकमैत्री बनाउँदैछौं
वैदेशिक रोजगारमा जाने लाखौं नेपालीको संख्या दैनिक बढ्दो छ। जसमा खाडी राष्ट्रमध्ये साउदी अरेबियालाई रोजगारमा जाने दोस्रो मुलुकको रूपमा हेरिन्छ। जहाँ करिब तीन लाख ४० हजारभन्दा बढी नेपाली कार्यरत छन्। साउदी अरेबियास्थित नेपाली राजदूतावासमा रहेका कार्यवाहक राजदूत दिलीप पौडेलसँग विष्णु घिमिरेले गरेको कुराकानी :
साउदी अरबमा कार्यरत नेपालीको अवस्था कस्तो छ ?
नेपाली यो देशका विभिन्न क्षेत्र र पदमा कार्यरत छन्। धेरैजसो अदक्ष कामदारका रूपमा आएका छन्। सामान्यत श्रमिकको कम्पनीसँग राम्रो सम्बन्ध रहने र करार अवधि सकिएपछि नेपाल फर्किने काम हुन्छ। रि–इन्ट्री भिसामा पुनः सोही कम्पनीमा वर्षौंसम्म कार्यरत रहने गरेको पनि देखिन्छ।
कतिपय श्रमिकले समयमा तलब सुविधा नपाएको, करार अवधि सकिएपछि पनि नेपाल फर्किन नपाएको, करार अवधि सकिएपछि पनि जबर्जस्ती काममा लगाउने गरेको गुनासा पनि आउँछन्। यसकारण श्रमिक र कम्पनीबीच असमझदारी एवं विवादसमेत उत्पन्न हुने गरेको पाइन्छ। अधिकांश श्रमिकमा अरेबिक भाषाको ज्ञान नहुँदा कम्पनी तथा व्यवस्थापकसँग सञ्चार गर्न गाह्रो हुने गरेको छ। यहाँको विशाल भूगोलका कारण कन्सुलर सेवा प्रवाह गर्न, गुनासो सुनुवाइ तथा मुद्दा मामिलासम्बन्धी सुनुवाइहरूमा सहभागी हुनेलगायत कार्य नियोगहरूका लागि चुनौती छन्।
नेपाली कामदार अवैधानिक रूपमा पनि बसेका छन् ? तिनको स्वदेश फिर्ताका समस्या के होलान् ?
साउदी निकायले विभिन्न समयमा दिएको तथ्यांकलाई आधार मान्दा नेपाली कामदार करिब तीन लाख ४० हजार वैधानिक छन्। १० हजारभन्दा बढी अवैधानिक रूपमा रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ। यस्ता नेपाली कामदारको साथमा मुख्यतः कागजातमा नहुने, भए पनि नवीकरण नहुने तथा एउटा कम्पनीबाट भागेर अर्को कम्पनीमा कार्यरत रहने हुन्छ। यहाँको श्रम कानुनअनुसार प्राप्त गर्ने सुविधा नपाउनेलगायत समस्या पनि छन्।
साउदी अरबका कतिपय कम्पनी आर्थिक रूपमा टाट पल्टेका छन्। विभिन्न देशका श्रमिकजस्तै नेपालीलाई प्रत्यक्षरूपमा असर परेको छ।
अन्य कम्पनीमा फड्को मार्ने नेपालीको हकमा हुरुवको मुद्दा दर्ता हुन्छ। उनीहरू डिपोर्टेसन सेन्टरबाट फिर्ता हुने गरेका छन्। कम्पनीले चोरीको मुद्दा दर्ता गराउँछ। अदालतले फैसला गर्दिन्छ। चोरी रकम फस्र्योट नगर्दासम्म नेपाल फर्किन नपाउने हुन्छ।
कोरोना महामारीसँगै साउदी अरबका कम्पनीहरू बन्द हुँदा नेपाली कामदारलाई कस्तो असर परेको छ ?
साउदी अरबका कतिपय कम्पनी आर्थिक रूपमा टाट पल्टेका छन्। विभिन्न देशका श्रमिकलाई प्रत्यक्षरूपमा असर परेको छ। नेपाली पनि समयमा तलब सुबिधा पाउनबाट वञ्चित हुने, लामो समयदेखि काम गर्दा पाउने बोनस नपाउने, कम्पनीले रेडिसेन्ट कार्ड नबनाईदिँदा अवैधानिक हैसियतमा हुने तथा रेसिडेन्ट कार्ड नहुँदा स्वदेश फर्किन चाहिने बहिर्गमन भिसा पनि प्राप्त नहुने हुँदा मर्कामा पर्ने गरेका छन्। कम्पनी बन्द भएको अवस्थामा रोजगारी नै गुमाउनुपर्ने अवस्थाको सृजनासमेत भएको देखिन्छ।
कामको सिलसिलामा मृत्यु भएका नेपालीको शव पठाउन के कस्ता समस्या छन् ?
मृत्यु भएका नेपालीको शव पठाउने कार्य संवेदनशील रहेको र यसलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दा पनि केही समय लाग्ने गरेको छ। शव पठाउनुअघि धेरै प्रक्रिया पुर्याउनुपर्ने भएकाले त्यसो हुन गएको हो। संक्रमण र लकडाउनले सीमित संख्यामा मात्र अन्तर्राष्ट्रिय उडान रहेका छन्। सबै अन्तर्राष्ट्रिय उडानले शव बोक्ने गरेका छैनन्। अहिले शव नेपाल पठाउन केही थप समय लाग्ने गरेको छ। मृतक परिवारले पाउने क्षतिपूर्तिका सन्दर्भमा त्यस्तो रकम प्राप्त भएपश्चात् नियोगले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने गरेको छ।
नियोगद्वारा कामदार मागपत्र प्रमाणीकरण केका आधारमा गरिन्छ ?
नियोगबाट गरिने मागपत्र प्रमाणीकरणका लागि विभिन्न कागजात एवं पक्षहरूको परीक्षण गरिन्छ। सोहीअनुसार तपसिलबमोजिमका कागजातका अलावा विभिन्न कम्पनी भ्रमण र कम्पनीको उच्च अधिकारीसँग नेपालीको हितबारे छलफल गरिन्छ। कोही नेपाली कार्यरत रहे निजहरूसँग कम्पनी तथा उनीहरूको अवस्थाका बारेमा छलफल आदि गरिन्छ। छलफलको निष्कर्ष सकारात्मक भएमा मागपत्र प्रमाणीकरण गरिन्छ।
साउदी अरबका लागि अदक्ष कामदारको तलब तोकिएको छ। म्यानपावर कम्पनीहरूले के गरेका छन् ?
मागपत्र प्रमाणीकरण गर्दा अदक्ष कामदारको तलब र खाना सुविधा अनिवार्यरूपमा न्यूनतम रकम कार्यान्वयन गर्ने सर्तमा मागपत्र प्रमाणीकरण गरिँदै आएको छ। ठूलो संख्यामा कामदार ल्याउने रोजगारदाताबाट नियोगले तयार गरेको प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गराउने गरिएको छ। कागजातमा योभन्दा कम उल्लेख भएको अवस्थामा त्यस्ता मागपत्रहरू अस्वीकृत हुन्छन्।
साउदी निकायले विभिन्न समयमा दिएको तथ्यांकलाई आधार मान्दा नेपाली कामदार करिब तीन लाख ४० हजार वैधानिक छन्। १० हजारभन्दा बढी अवैधानिक रूपमा रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ।
नेपाल सरकारले लागू गरेको न्यूनतम तलब लागू गर्न केही रोजगारदाता र इजाजतपत्रवालाहरूले त्यति चासो दिएको देखिँदैन। कामदार ल्याइसकेपछि यदि सो कार्यान्वयन गरेको नपाइएमा त्यस्ता कम्पनीहरूको अनुगमन गर्ने र थप मागपत्र नदिने गरिन्छ। न्यूनतम तलब एवं सुविधा कार्यान्वयनका लागि इमान्दार रूपमा भूमिका खेल्न इजाजतपत्रवालालाई पनि अनुरोध गर्ने गरिएको छ। श्रमिक स्वयं सचेत हुनु जरुरी छ।
कार्यरत कामदारको पासपोर्ट नवीकरण गर्न दूतावासबाट कस्तो व्यवस्था गरेको छ ?
साउदी अरबमा कार्यरत नेपाली कामदारको राहदानी नवीकरण गर्न नियोगहरूको कार्यालयबाहेक पनि काम गर्छ। तर, साउदीको विशाल भूगोललाई ध्यानमा राखेर विभिन्न समयमा विभिन्न क्षेत्रमा घुम्ती सेवा सञ्चालन गरी राहदानी नवीकरण सेवा प्रदान गर्छौं। साथै, सोही क्रममा नियोगमा आई आवेदन दिएकाहरूको राहदानी ती स्थानमा पुगेका बेला वितरण गर्ने गरिएको छ। सन् २०१० देखि सुरु भएको मेसिन रिडेबल राहदानीको १० वर्षे म्याद सकिन लागेकाले यो वर्ष तथा आगामी वर्षहरूमा राहदानी नवीकरण गर्नेको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ र हुनेछ।
कस्तो अवस्थामा नेपालीले साउदी अरब सरकारबाट बहिगर्मन भिसा प्राप्त गर्न सक्छन् ? दूतावासको कस्तो भूमिका रहन्छ ?
कम्पनीकै कमजोरीका कारण कागजात नबनाइदिएको तथा नवीकरण नगरिदिएको पाइन्छ। श्रमिकहरूको हकमा दूतावासले साउदी अरबका निकायहरूलाई पत्राचार गरी बहिर्गमन भिसाका लागि अनुरोध गर्ने गर्दछ। सोहीअनुरूप साउदी सरकारबाट आवश्यक प्रक्रिया पूरा भएपछि बहिर्गमन भिसा प्राप्त हुन्छ।
महिला घरेलु कामदार, हस्पिटालिटी, सपिङ मल आदि क्षेत्रमा के कस्तो माग छ ?
महिला घरेलु कामदारको हकमा नेपाल सरकारको निर्णयबमोजिम मागपत्र प्रमाणीकरण बन्द गरिएको छ। कोभिड–१९ को प्रभावलाई मध्यनजर गर्दै अन्य क्षेत्रका हकमा कोभिड–१९ पश्चात् महिला कामदारको मागपत्र प्रमाणीकरण गरिएको छैन।
नियोगहरू र साउदी अरबमा रहेका एनआरएनए तथा अन्य सामाजिक संघसंस्थासँग कस्तो सम्बन्ध छ ?
नियोगहरू र साउदी अरबमा रहेका एनआरएनए तथा अन्य सामाजिक संघसंस्थाबीच निकै घनिष्ट एवं सुमधुर सम्बन्ध छ। नियोगहरूको कार्यसम्पादनमा यी संस्थाहरूको सहयोग उल्लेखनीय छ। यी संस्थासँग नजिकको सम्पर्कमा रही पीडित नेपाली श्रमिकका लागि उद्धार, सेल्टर, हवाई टिकट, रासन, पीसीआर परीक्षण शुल्क, औषधि उपचार खर्च आदिको व्यवस्थापन गर्ने गरिएको छ।
वैदेशिक रोजगारमा रहेका नेपाली कामदार सम्बन्धित कम्पनी र मालिकबाट शोषित भएमा दूतावासको भूमिका कस्तो हुन्छ ?
दूतावासले यस्तो अवस्थामा कामदारलाई उद्धार गरी सेल्टरमा राख्छ। कम्पनीलाई साउदी अरबको श्रम कानुनबमोजिम क्षतिपूर्ति तिर्न लगाउने र पीडितहरूलाई बहिर्गमनको आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाउँछ। श्रमिकहरूले आफूलाई परेका समस्याका सम्बन्धमा दूतावासका कूटनीतिक कर्मचारी र स्थानीय कर्मचारी सबैलाई सम्पर्क गरी जानकारी दिन सक्छन्।
कर्मचारीको मोबाइल सम्पर्क नम्बरसमेत वेबसाइटमा राखिएको छ। समस्याका बारेमा प्रत्यक्ष टेलिफोन, ह्वाट्सएप, इमेल, विभिन्न संघसंस्थाका प्रतिनिधि वा अन्य परिचितका माध्यमबाट जानकारी गराउन सकिन्छ। साउदी अरब सरकारले नेपाली र नेपालका लागि विभिन्न परियोजना र प्राकृतिक प्रकोप आदिमा नेपाललाई सहयोग गर्दै आएको छ।
साउदी अरबमा रहेका नेपाली कामदारप्रति नियोगहरूको भूमिका के कस्तो छ ? आगामी योजना के छन् ?
नेपाली कामदारकै सेवा र प्रतिनिधित्वका लागि नियोगहरू स्थापना हुने हुनाले तिनले सदा कामदारको हित प्रवद्र्धन, सुरक्षा, उद्धार तथा अन्य सेवा प्रवाह दिने काम गर्छन्। नियमित कामहरूका अलावा विशेष परिस्थितिमा त्यसै अनुरूपको कार्ययोजना बनाई कार्य गर्दै आएका छन्। कोरोना महामारीपछि पनि नेपाली कामदारको माग बढेको छ।
महिला घरेलु कामदारको हकमा नेपाल सरकारको निर्णयबमोजिम मागपत्र प्रमाणीकरण बन्द गरिएको छ।
श्रमिकको माग मुख्यतः रेस्टुरेन्ट, होटेल, जनरल लेबर, कन्सट्रक्सन साइट, ड्राइभर, अस्पताल आदिका लागि आउने गरेको छ। कोरोना संक्रमणको बेला चलिरहँदा अहिले पनि राजदूतावास तथा महावाणिज्य दूतावास गरी झन्डै ७० हजार कामदारको मागपत्र प्रमाणीकरण गरिएको छ।
कोरोना सुरु भएयता कति नेपाली कामदारको मृत्यु भएको छ ?
कोरोना महामारीबीच कोरोनाका कारण नेपाली राजदूतावासको कार्यक्षेत्रमा ९९ र महावाणिज्य दूतावास जेद्दा कार्यक्षेत्रमा २१ गरी जम्मा १ सय २० नेपालीको मृत्यु भएको छ। नेपाली श्रमिकहरूलाई साउदी अरब सरकार तथा विश्व स्वास्थ्य संगठनले अपनाउन भनेका स्वास्थ्य प्रोटोकलहरूको पालना गर्न अनुरोध गर्दै आएका छौं। साउदी अरब सरकारले प्रदान गरेको निःशुल्क खोप सुविधाको प्रयोग गरी आफू पनि सुरक्षित रहन र अरूलाई पनि सुरक्षित राख्न अनुरोध गर्दै आएका छौं। साउदी सरकारले लागू गरेका स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सजाय तथा जरिवानाबाट बच्न पनि अनुरोध गर्दै आएका छौं।
भौगोलिक हिसाबले साउदी ठूलो राष्ट्र छ। नियोगमा कर्मचारी कम छन् नि ?
नियोगहरूमा कर्मचारी सीमित संख्यामा रहे पनि श्रमिकको हित सम्वद्र्धन एवं प्रवद्र्धनमा जिम्मेवारी बहन गर्दै आएका छौं। राजदूतावासमा ९ कूटनीतिक र ११ स्थानीय एवं महावाणिज्य दूतावासमा चार कूटनीतिक र ६ स्थानीय कर्मचारी छन्। कर्मचारीको कार्यविभाजन मूलतः प्रशासनिक तथा कन्सुलर गतिविधि, मृतकको शव फिर्ती÷जेल÷डिपोर्टेसन सेन्टरमा रहेकाको नेपाल फिर्ती, बहिर्गमन भिसा, ब्लड मनी÷इन्स्युरेन्स दाबी, गुनासो सुनुवाइ, श्रमिक मागपत्र प्रमाणीकरण आदिको जिम्मेवारी हेर्ने गरी हुने गरेको छ। थोरै कर्मचारी भएका कारण परेको बेला जोसुकैले जे पनि जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ। नियोगहरूका कामलाई अझ व्यवस्थित र श्रमिकमैत्री बनाउँदैछौं।