लोपोन्मुख ‘कालानमक’ उपहार बन्दै विश्वभर
लुम्बिनी : लोप हुने अवस्थामा पुगेको कालानमक जातको मसिनो धान पाहुर (उपहार)का रूपमा विभिन्न देश पुग्न थालेको छ। लुम्बिनी आउने भीआईपीदेखि पर्यटकसम्मले यो धान लगिरहेका छन्।
‘कालानमक धान प्याकिङ गरी उपहारका रूपमा लैजान सक्ने बनाएका छौं’, यसको प्रवर्द्धनमा लागेका लुम्बिनीका चन्द्र पाठक भन्छन्, ‘भीआईपीमार्फत उपहार पठाइरहेका छौं। पर्यटकले पनि यो चामल उपहार लैजाने गरेका छन्।’ सार्क महासचिव इसाला रुवानालाई यही चामल उपहार दिइएको उनको भनाइ छ। महासचिव रुवाना कात्तिक २ गते लुम्बिनी आएका थिए।
लुम्बिनीमा बुद्धभूमि कृषक समूहले चामल प्याकिङ गरी बिक्री गरिरहेको छ। समूहका सचिव वीरेन्द्रनाथ पाण्डे बिक्री बढ्न थालेपछि स्थानीय किसानले खेती लगाउने क्रम बढेको सुनाउँछन्। ‘हामीले प्याकेजिङ गरी चामल बेच्ने गरेका छौं। यसको माग बढ्दै गएको छ’, सचिव पाण्डे भन्छन्। पछिल्लो एक वर्षमा ३० क्विन्टल बिक्री भएको छ।
प्राचीन कपिलवस्तुको मुख्य खेती मानिन्छ, कालानमक। विगतमा कपिलवस्तु, रुपन्देही तथा नवलपरासीमा यसको खेती हुन्थ्यो। तर, अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे। त्यसो गर्दा कपिलवस्तुसहित रूपन्देहीको दक्षिणी क्षेत्रमा कालानमकको खेती शून्यप्राय: भयो। बीउ नै नपाइने चिन्ता भएपछि केही किसान फेरि जुर्मराए। यसको पुन: खेतीमा लागे। व्यावसायिक रूपमै अघि बढे।
लुम्बिनी, तिलौराकोट क्षेत्रमा यसलाई बुद्ध जन्मस्थल र क्रिडास्थलको पाहुरका रूपमा बिक्री गर्न थालिएको हो। लुम्बिनीका धेरै किसानले कालानमक धान लगाउन थालेका छन्। यसलाई कपिलवस्तुको पहिचान बनाउने अभियान नै चलेको छ।
यो धान बास्मतीभन्दा उत्कृष्ट मानिन्छ। यो पकाउँदा बास्नादार हुन्छ। स्वाद मिठो हुन्छ। यसले स्वास्थ्यलाई फाइदा गर्ने कृषि विज्ञ भीमनाथ शर्मा बताउँछन्। ‘यो उत्कृष्ट धान हो, यसको स्वाद नै बेग्लै हुन्छ’, शर्मा भन्छन्।
लुम्बिनीमा प्याकेजिङ गरिएको चामल प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री हुन्छ। पाठकका अनुसार प्याकेट नभएको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ छ। ‘यसको माग अहिले उपहारका रूपमा बढेको छ। ठूला होटलहरूसमेत यो चामल माग गर्छन्’, उनी भन्छन्। कपिलवस्तुमा भने १ सय ५० रुपैयाँ किलोमै पाइन्छ।
यसको उत्पादनमै बढी खर्च लाग्ने भएकाले मूल्य महँगो परेको जनाइएको छ। यो धान असारमा रोपेपछि मंसिरको अन्तिम साता मात्रै काट्न तयार हुन्छ। सिँचाइ पनि पर्याप्त चाहिन्छ। ६ महिनामा तयार हुने भएकाले यसमा रोग संक्रमणको जोखिम हुन्छ। अन्य धान असोज–कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र धान पोकट बनाउने समस्या हुने गरेको किसान ओरीलाल बानियाँ बताउँछन्। धान ढिलो पाक्दा तोरी र गहुँ लगाउने किसानलाई मार पर्ने गर्छ।
कपिलवस्तु कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौवे पतेराले चुसेर बालामा चामल पस्नै नदिन समस्या रहेकाले यो धान उत्पादन चुनौतीपूर्ण हुने बताउँछन् । यो धान उत्पादन बढाउन कपिलवस्तुमा प्रवर्द्धनात्मक कार्यक्रम नै लागू गरिएको छ। मसिना तथा वास्नादार धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ र कृषि प्रविधिमा अनुदान दिने गरिएको चौवेको भनाइ छ। उनका अनुसार यसको उत्पादन बढाएर मसिनो धान आयात प्रतिस्थापन गर्ने योजना छ।
कालानमकको बोट अग्लो हुन्छ। बाला काला हुन्छन्। अग्लो बोट भएकाले ढल्ने सम्भावना बढी हुन्छ। यसको उत्पादनमा मेहनत बढी हुँदा किसान अन्य प्रजातिमा लागेको जनाइएको छ। उत्पादकत्व कम छ। कृषि विज्ञ शर्माका अनुसार अन्य धान प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन हुँदा यो धान डेढ मेट्रिक टन मात्रै उत्पादन हुन्छ। चामल बिक्रीमा भने किसानलाई बराबरी लाभ हुन्छ। अन्य धानको चामलको मूल्य ५० रुपैयाँदेखि ६० रुपैयाँ छ। कालानमक ५ गुणा बढी मूल्यमा बिक्री हुन्छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले यसको उत्पादनलाई प्रोत्साह गर्ने योजना बनाएको छ। किसानले उत्पादनका आधारमा अनुदान र सिँचाइ सुबिधामा राहत खोजिरहेका छन्। कालानमक नेपालकै रैथाने भएकाले यसको बीउ बचाउन नार्कले नै ध्यान दिनुपर्ने तर्क विज्ञ शर्माको छ। ‘अहिले पुरानै कालानमक लोप भइसक्यो कि जस्तो छ’, उनी भन्छन्, ‘यसलाई जोगाउन नार्कले चासो दिनुपर्छ।’
लुम्बिनीका पर्यटन व्यवसायीले प्रोत्साहन गर्नुपर्ने माग किसानले गरेका छन्। लुम्बिनीकै उत्पादन विदेश निर्यात गर्न सके किसानलाई लाभ हुने सचिव पाण्डेको भनाइ छ। कपिलवस्तु, रुपन्देही क्षेत्रमा करिब ६ सय हेक्टरमा यसको खेती भइरहेको जनाइएको छ।