प्रदेश २ का जिल्ला अस्पताललाई प्रादेशिक बनाइने
जनकपुरधाम : प्रदेश २ सरकारले अध्यादेशमार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिन निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।
प्रदेश सरकारले कृषि विश्वविद्यालयमा उपकुलपतिसमेत नियुक्त गरिसकेको छ। यद्यपि विश्वविद्यालयको आवश्यक पूर्वाधार अगाडि बढ्न सकेको छैन।
अर्थमन्त्री साहले विश्वविद्यालयको भौतिक पूर्वाधार विकासको लागि अनुदान दिइने निर्णय भएको बताए। उनले विश्वविद्यालयको आवश्यक भौतिक पूर्वाधारको विकासको लागि पहिलो चरणमा यो अनुदान दिइएको बताए।
त्यस्तै मन्त्री परिषदले बन्द रहेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सञ्चालनको जिम्मा पाएको समाजिक विकास मन्त्रालयले कार्य विधिलाई परिमार्जन सहित पारित गरेको छ भने बन्द रहेको छोरी बिमा अभियानलाई पुनः संचालन गरिने निर्णय गरेको छ। प्रदेशको जिल्लाहरुमा रहेको जिल्ला अस्पताललाई स्तरउन्नती गरी प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ।