हराउँदै थारु संस्कृति
सुर्खेत : थारु समुदायमा विवाहको आफ्नै संस्कृति थियो। विवाहमा बेहुला र बेहुलीको पहिरन आफ्नै मौलिक किसिमको हुन्थ्यो। जन्तीहरू पनि थारु भेषभूषामै सजिएका हुन्थे। तर, थारु समुदायमा अहिले त्यो संस्कृति हराउन थालेको छ। अहिले थारु समुदायको विवाहमा न आफ्नो मौलिक पहिरन देख्न पाइन्छ, न त उनीहरूको पहिचान झल्कने गीतहरू नै घन्किन्छन्। थारु समुदायमा पनि आधुनिक गीत र बाजाहरूको प्रयोग हुन थालेको छ।
‘हाम्रो पालामा बिहेवारी गर्ने आफ्नै चलन थियो। आफ्नै संस्कार र संंस्कृतिमा नाचगान हुन्थ्यो’, वीरेन्द्र्रनगर–२ कोलडाँडा निवासी ६८ वर्षीया टीका चौधरी भन्छिन्, ‘अहिलेका केटाकेटीले त हाम्रो संस्कृति नै भुलिसके। बिहेको गीत त गाउनै पनि जान्दैनन्।’ संस्कृति संरक्षणमा ध्यान दिन नसक्दा विवाहको लोकभाका नै हराएको उनले दुखेसो पोखिन्। ‘पहिले बिहेवारी हुँदा केटा पक्षबाट गीत गाएपछि मात्रै बेहुलालाई पगरी लगाइन्थ्यो’, उनी भन्छिन्, ‘अहिले त न बिहेमा गीत गाउने चलन छ, न त युवाहरूले भाका नै जान्छन्।’
पहिले थारु समुदायमा धेरै प्रकारका आफ्नै लोकसंस्कृति र पहिरन थिए। अहिले यो समुदायले दसैंमा सखिया र माघीमा मघौटा भाकाहरू गाउँछन्। सखिया र मघौटा पनि नयाँ पुस्ताले गाउनै जान्दैनन्। आधुनिक प्रविधिका कारण थारु समुदायको लोकसंस्कृति र संस्कार हराउँदै गएको हो। ‘युवाहरूले हाम्रो भाका गाउन–बजाउन रुची नै राख्दैनन्’, कोलडाँडाका ७३ वर्षीय महावीर थारू भन्छन्, ‘अरू नै गीतमा रमाउँछन्। नाचगान गर्छन्।’ आधुनिक प्रविधिका कारण थारु समुदायको संस्कृति पुस्तान्तरण हुन नसकेको उनको बुझाइ छ।
‘सानैदेखि बच्चाहरू पढाइमा ब्यस्त हुन्छन्। विद्यालयमा अन्य समुदायकै संस्कृति सिक्छन्’ उनी भन्छन्, ‘अहिलेका पुस्ताले नयाँ जमाना अनुसार रमाउन खोज्दा हाम्रो संस्कार नै भुलिसकेका छन्।’ ५३ घरधुरी थारु समुदाय रहेको कोलडाँडामा अहिले ६८ वर्षीया टीका चौधरीले मात्रै थारु पहिरन लगाउँछिन्। ‘मैले बच्चैदेखि यही पहिरन लगाएँ’, टीका भन्छिन्, ‘हिजोआजका पुस्ता त पुरानो पहिरन लगाउनै मान्दैनन्।’ आफ्नो मौलिक संस्कृति हराउन थालेपछि थारु समुदायका अगुवाहरूले पनि परम्परागत संस्कृति संरक्षणका लागि विद्यालय तहको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने। नयाँ पुस्तालाई यसबारे जानकारी दिनुपर्ने र थारु संस्कृतिको संरक्षणमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताउँदै आएका छन्।