बुद्धम् शरणम् गच्छामि. . .

बुद्धम् शरणम् गच्छामि. . .

बुद्ध भगवान्को शक्ति, महानता र महावाणीलाई स्वयम्भू पुग्ने जो कोही पनि मनमनै स्मरण गर्न थाल्छ। र, भन्न थाल्छ, बुद्धम् शरणम गच्छामि . . . , धम्मम शरणम् गच्छामि . . . ।


चराचुरुंगीको आवाज मिसिएको सुमधुर धुन। मन्त्रमुग्ध सांगीतिक संसार...। टङ टङ टङ... बजिरहेको विशाल घण्टका आवाज, छेउमै कर्णप्रिय स्वरमा सुनिने बुद्ध भजनहरू, पृष्ठभूमिमा बजिरहेको ओम मणि पद्मे हुम...बुद्ध मन्त्र तथा महावाणीहरू। स्वयम्भूनाथ परिसरभरि टांगिएका विभिन्न रंगमा सजिएका ध्वजापताकाहरू। सुन्दर, मनमोहक दृश्य। प्राकृतिक सुन्दरताले चिटिक्क सजिएको स्वयम्भू परिसर। स्वयम्भूको उकालो उक्लँदै गर्दा सुगन्धित धुपको बास्नाले मनमोहक आकर्षण थप्छ। बेग्लै संसारमा पुगेजस्तो लाग्छ। काठमाडौंदेखि नजिकै केही उचाइमा रहेको स्वयम्भूनाथ परिसरमा पुग्दा जो कोहीले एकछिन आफ्नो दुःख पीडा भुल्ने गर्छ। लामो सास फेर्दे आध्यात्मिक दुनियाँमा विचरण गर्न पुग्छ। बुद्ध भगवान्को शक्ति, महानता र महावाणीलाई मनमनै स्मरण गर्न थाल्छ। भन्न थाल्छ, बुद्धम् शरणम गच्छामि...धम्मम शरणम् गच्छामि...।

स्वयम्भूनाथ स्तूपामा बुद्धका आँखाको चित्र देख्न सकिन्छ। जसले सत्य र न्यायको पक्षमा दृष्टि दिने गर्छन् भन्ने जनविश्वास छ। स्वयम्भूका अधिकांश चित्रकला नेवारी बौद्ध धर्मावलम्बीसँग जोडिएका छन्।

भजनमा नाचिरहेका श्रद्धालु भक्तजनहरू, पूजा गरिरहेका लामा भिक्षुहरू। कलेजी रङको लुगामा सजिएका आनीहरू। बुद्धका अनगिन्ती प्रतिमाहरू। वरिपरि सजिएका चैत्यहरू। हरियाली जंगलको बीचमा रहेको स्वयम्भूनाथ परिसर आफैंमा एक शान्तिक्षेत्र हो। रुखहरूमा कल्याङमल्याङ उफ्रिरहेका बाँदरका झुन्डहरू। मन्दिर परिसरमा पिरती साटिरहेका परेवाहरू हेर्दै आर्कषक लाग्छन्। एकछिन फुर्सद निकालेर सुस्ताउन पुगेका प्रेमजोडीहरू पनि परेवासँगै पिरती साटिरहेका देखिन्छन्। बिहानै पूजा गर्न पुगेका भक्तजन। मनिङ वाक गर्दै एकैछिन सुस्ताउन पुगेका कामकाजी व्यक्तिहरू। कोही स्तूपा नजिकको उकालो चढिरहेका छन् त कोही ओर्लिरहेका छन्। नजिकै बेन्चमा बसेर शारीरिक व्यायाम गरिरहेका युवालाई पनि स्वयम्भूको शान्तिले तानेकै देखिन्छ। हातमा धुप र बत्ती सल्काएर स्वयम्भूनाथ परिसर घुम्दै गरेका भक्तजनहरूको अनुहारमा देखिने कान्ति झन् विशेष लाग्छ।

बेग्लै संसारमा पुगेजस्तो लाग्छ। काठमाडौंदेखि नजिकै केही उचाइमा रहेको स्वयम्भूनाथ परिसरमा पुग्दा जो कोहीले एकछिन आफ्नो दुःख पीडा भुल्ने गर्छ। लामो सास फेर्दे आध्यात्मिक दुनियाँमा विचरण गर्न पुग्छ।

सुन्दर, स्निग्ध र कौतुहलपूर्ण आँखाले हामीलाई कोही नियालिरहेछ जस्तो लाग्छ। हाम्रो आडैमा बुद्धका विशाल मूर्तिहरू ठडिएका छन्। जो हाम्रै रक्षाका खातिर पहरेदार भएर स्वयम्भू परिसरमा विराजमान छन्। काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध धार्मिक स्थान, स्वयम्भू महाचैत्य पनि भनिन्छ। यस क्षेत्रमा रहेका स्तूपा मठमन्दिर धेरैजसो लिच्छविकालमा बनेको अनुमान गरिन्छ। स्वयम्भूनाथ स्तूपामा बुद्धका आँखाको चित्र देख्न सकिन्छ। जसले सत्य र न्यायको पक्षमा दृष्टि दिने गर्छन् भन्ने आम जनविश्वास छ। स्वयम्भूको अधिकांश चित्रकला नेवारी बौद्ध धर्मावलम्बीसँग जोडिएकोे होला भन्ने अनुमान सम्पदाविद्को छ।

स्वयम्भूनाथ परिसरमै जन्मिएर यही हुर्किएकी तुलसी शाक्य स्वयम्भू परिसरमै शाक्यमुनि पसल सञ्चालन गरिरहेकी छन्। भन्छिन्, २५ वर्षभन्दा बढी भयो। यहीको चैत्य, मन्दिर र स्तूपामा लुकामारी खेलेर हुर्किएकी हँु। यहाँ छाडेर कहीँ जान मन लाग्दैन। भन्छिन्, पहिलेका मान्छे बहुत सकारात्मक र शान्त थिए। मान्छे मरिसकेपछि मन्दिर छेउमा चैत्य बनाउने चलन थियो। पहिले बनाएका चैत्यहरू हुन् यी। पहिले स्तूपामा लगाएको सुन धेरै राम्रो थियो। ताहाचल बस्ने सञ्जय यादव हरेक बिहान स्वयम्भू पुग्ने गर्छन्। मधेसमा जन्मेर हुर्किएका सञ्जयको करिब २० वर्षदेखि हरेक बिहान बुद्ध मन्त्र पढ्ने, सुन्ने र सुस्ताउने बानी परिसक्यो। किन त ? उनी भन्छन्, ‘म हुर्किएको ठाउँ र यहाँको परिसर बिल्कुल फरक छ। वरिपरि हरियाली, शान्त र रमाइलो ठाउँ। चराचुरुंगीको चिरबिर, बाँदरहरूको बदमासी, बुद्धको छत्रछाया, भिक्षुहरूको मन्त्र उच्चारण, आनीहरूको श्रद्धाभक्ति साँच्चिकै मनमोहक छ स्वयम्भूनाथ।’

न्युरोडमा व्यापार व्यवसाय गर्ने सञ्जयलाई केही समयअघि प्रेसर बढ्ने समस्या देखियो। साथीहरूले बिहानमा हिँड्न सुझाए। उनी साथीहरूसँगै ताहाचलबाट दौड्दै स्वयम्भूको उकालो चढ्छन्। दियो बाल्छन्। भजन गाउँछन्। केहीबेर ध्यान गर्छन् र फर्कछन्। उनी अचेल स्वस्थ्य छन्। बैंकर्स सबिना विष्ट पनि स्वयम्भू परिसर तनावलाई ठीक गर्ने स्थानको रूपमा लिन्छिन्। भन्छिन्, मानसिकरूपमा थेरापी मिल्छ यहाँ। हरेक दिनजसो बिहानै दियो बाल्न स्वयम्भू परिसर पुग्छिन् वनस्थली बस्ने पेमाडोल्मा लामा। दार्जिलिङकी पेमा काठमाडौंमै एक स्कुलमा शिक्षिकाको रूपमा काम गर्छिन्। भन्छिन्, स्वयम्भू पुग्ने उकालो चढ्दै गर्दा अनुहारमा चुहिने पसिनासँगै दिनभरको थकान मेटिन्छ। साँच्चिकै सुन्दर र शान्त छ स्वयम्भू। साँझपख गरिने आरती यहाँको विशेष हुने गर्छ। बाजागाजाको साथमा गरिने बुद्धमन्त्रोच्चारण सुन्दा गजब अनुभूति हुने गर्छ।

स्वयम्भू व्यवस्थापन संरक्षण महासमितिको कार्यालय नजिकै छ, विश्व शान्ति पोखरी। पोखरीको बीचमा रहेको बुद्धको मूर्तिमा सिक्का चढाइरहेका देखिन्थे आन्तरिक तथा बाह्य पर्यटक। नजिकै थिए, सिक्का साट्न बसेका पसलेहरू। वरिपरि लहरै झकिझकाउ पसलहरू थिए। बुद्धको मूर्तिमा सिक्का अडियो भने मनले सोचेको पुग्छ भन्ने जनविश्वास छ। नवविवाहित जोडी हुन् या गहिरो प्रेममा परेका मायालु मनहरू, स्वयम्भूनाथलाई साक्षी राखेरसँगैजिउने मर्ने कसम खान पुगेकै हुन्छन्।

विशेषगरी बिदाको दिनमा अत्यधिक भीडभाड हुने स्वयम्भूनाथ परिसर हामी सबैको समय सदुपयोग गर्ने उत्तम गन्तव्य पनि बनेको छ। हरियाली र शान्त वातावरण भएको, अग्लाअग्ला हिमाललाई आँखै अगाडि हेर्न पाइने सुन्दर ठाउँ हो स्वयम्भूनाथ। जतिपटक गएपनि नयाँ अनुभूति हुने स्वयम्भू पुग्दा सबैको मनले पुकारिरहन्छ, बुद्धम् शरणम् गच्छामि...।

(तस्बिरहरू : रविन भट्टराई)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.