कर्मले लिपौं देशको भित्ताो
मेरा लागि मात्र म बाँचें यो देशका लागि अब बाँचौं
हिमाल हाम्रो किन हेर्छन् होला यो सारा जगत्ले ?
कहाँ छ र यो जगत् भरमा खै यस्तो दिव्य दृश्य !
यो हो स्वर्गको भव्य चित्र नै कि ईश्वर अवश्य।
झलमल्ल देखिने ती हीरा मोती झैं दिव्य शिर !
कहाँ होला यो धरामा अमूल्य यस्तो स्थिर ?
प्यारो र पवित्र नेपाल हिमाली देश हो यो मेरो
हरेक जाति मिलेर बनेको शान्तिको प्रदेश हाम्रो।
यो घरामा जन्मन पनि पाएर होला कि यसरी
यो भन्दा सुन्दर धरा छैन झैं लाग्छ है कसरी !
मेरो हिमाल माथि पनि पुग्न साँच्चै म पाऊँ है
भू–स्वर्गमा जन्मेकी छोरी भनेर म रमाऊँ है।
बरु स्वर्गमा जान पाऊँ या कदापि नपाऊँ म
यो नेपालको हरेक भू–भाग घुमेर रमाऊँ म।
यो कृष्णको भूमि अनि पशुपतिको देश हो
यो मुक्तिको क्षेत्र प्यारो अखण्ड प्रदेश हो।
पार्छ घामको झुल्कोले उज्यालो यो मेरो भूमि
चन्द्रले माया छर्दै छाती यो शीतल पार्ने हो नि।
नदी बग्दछन् अमृत धारा हरपल यहाँ बगाई
र बल्दछन् दिव्य ज्योति यहाँ सधैं जगमगाई।
ऐश्वर्यको खानी छ मेरो हिमालभरि बसेको
पहाड–मधेस मेरो मुटुमा सुटुक्क छ पसेको।
मलाई कुनै चाह छैन हजार जन्म यहाँ पाउने
यही जन्ममा पाउँ समृद्ध यो धरामा रमाउने।
यो छातीभरि धन, ऐश्वर्य लिएर म त जान्नँ
तर, चाहना छ ठूलो मित्रभावमा नै बाँच्न।
मलाई चाहना छैन कुनै मान अनि पदवीको
धरा दिव्य बनोस् मेरो चाहना यही नै त हो।
कठ्यांग्रिएर यहाँ कोही प्राणी प्राणै नफालुन्
वृद्ध, बालक नै न्यानो पाई हरपल यहाँ रमाउन्।
यहाँ हाम्रा चेलीहरू पनि सबै रमाएर बाँचुन्
हरेक नेपाली यो धरामा मस्त भै बसुन् रमाउन्।
यो माटोको मूल्य सारा जगत्भन्दा धेर नै होस्
ऐश्वर्य फल्ने भूमिमा सम्वृद्धि फलोस् फुलोस्।
कहाँ जन्मने ईश आएर मलाई पनि पो सोधुन्
हजार जुनी यसै धरामा मात्र नेत्रहरू खोलुन्।
हिमाल हाम्रो शिरको शोभा सुन्दर नै पो बनेर
हीराको झैं मुकुट हाम्रो हृदयको पाटोभरि भिरेर।
नेपाली हामी नझुकौं है उठाई हिमालझैं शिर
कर्मले लिपौं देशको भित्तो फुल्दछ मगमग फूल।
ज्ञान र विवेक छरेर हेरौं पानीले धपक्क बल्छ देश
कर्मको पाटो रोपेर हेरौं समृद्धि चाँडै आउँछ अशेष।