फाइजर खोपले बालबालिकामा सोचेजस्तो प्रतिरोधात्मक क्षमता विकास गर्न असफल
न्यूयोर्क : कोरोनाविरुद्धको खोप निर्माण गरेको फाइजरले आफ्नो खोपले बालबालिकामा सोचेअनुरूप प्रतिरोधात्मक क्षमता विकास नगरेको जानकारी गराएको छ। कोरोनाविरुद्धको खोप २ देखि पाँच वर्ष उमेर समूहका बालबालिकामा परीक्षण गरिरहेको कम्पनीले शुक्रबार सो जानकारी गराएको हो।
बायोएनटेकसँग मिलेर कोरोनाविरुद्धको खोप निर्माण गरेको फाइजरले पुनः तेस्रो डोजसमेत बालबालिकामा लगाउने जनाएको छ। तेस्रो डोज दोस्रो डोज लिएको कम्तिमा दुई महिनापछि लगाइने बताइएको छ। यसैगरी जन्मेको ६ महिनादेखि २ वर्षसम्मका बालबालिकामा पनि सोहीअनुरूप परीक्षण गर्ने कम्पनीले जनाएको छ।
सुरुवातमा बालबालिकामा लगाइएको खोपले प्रतिरोधात्मक क्षमता बलियो रूपमा विकास गर्ने तथा साइड इफेक्टको जोखिम पनि घटाउने देखाएको थियो। तर पछिल्लो तथ्याङ्कले सोचे अनुरूप खोपले काम नगरेको बताइएको छ। यद्यपि अध्ययनको विस्तृत विवरण भने आउन बाँकी छ।