अनेक आयाममा योमरी पुन्ही

अनेक आयाममा योमरी पुन्ही

योमरी पुन्ही चाडका आयामहरू आफ्नै संस्कार रञ्जित संस्कृतिभित्रका सांस्कृतिक जीवन्त अनुभूतिगम्य अन्तरचेतका अभिव्यक्ति छन्।


संस्कृति जीवनको सम्पदा हो। संस्कारले मानिसलाई संस्कृतिप्रेमी र संस्कृतिमैत्री बनाएको छ। संस्कार मानिस मात्रको चेतनागत कुरो हो। हाम्रा प्रत्येक चालचलनसित हाम्रा संस्कार सिञ्चित रहन्छन्। चालचलनमा रञ्जित संस्कार संस्कृति बन्छ। संस्कारलाई संस्कृतिको मनोगत धारणाको सम्प्रेषण भन्छौं। यस्ता सम्प्रेषणमा मानिसका धारणा र विश्वासले अवतरण गरिरहेको हुन्छ। मानिस जे गर्छ त्यो उसको विश्वासमा आधारित अवधारणाका मूर्त रूप ठान्छु। विश्वासले आस्था पैदा गरिदिन्छ। त्यसै अनुसार बोल्न, गर्न, सोच्न र विश्वास गर्न थाल्छौं। यी सबै जीवन पद्धति ठान्छु। व्यवहार चलन नै त हुन्, संस्कारको एक पाटो। यस्ता अनेक पाटो छन् संस्कारका। घाँसबाट बाली जोगाउनु पर्छ। यो मनोगत धारणा हो। गोडमेल व्यावहारिक पक्षका मूर्त क्रिया हो। मनोगत धारणालाई क्रियात्मक रूप दिनु संस्कार हो।

प्रकृति पर्यावरण धान : धान फल्न थाल्छ। पुष्ट पोसिलो धान दुधिलो हुन्छ। दुधिलो धानको चामल लस्सादार हुन्छ। लस्सादार चामलको पिठो योमरी बनाउन उत्तम हुन्छ। यस्तो पिठोले बनाएको योमरी नरम हुन्छ। नरम योमरी चर्कन्न, फुट्दैन। योमरी बफाएर पकाइन्छ। बफाएर पकाउनु एक प्रविधि बन्छ। प्रविधिले संस्कार बनाउँछ। संस्कारले प्रविधि पछ्याएको हुन्छ। प्रविधि र संस्कार एकापसका परिपूरक हुन्। प्रविधिपूर्ण प्रक्रिया संस्कारको गर्भ हो।

जीवन दर्शनको रूपमा नियालौं, योमरीको रूप, स्वरूप र आकारलाई। बायो योमरी र मायो योमरी यिनका आकार किन भिन्न बनाइन्छ ? बायो र मायोको आकारमा जीवन दर्शन रंगिएको देख्छु।

योमरीका प्रकार : प्रकारान्तरमा योमरी दुई स्वरूपका बनाइन्छन्। एक बायो, दोस्रो मायो, बायो घैंटोझंै बीचको भाग भुक्क फुलेको हुन्छ। शिर भाग शिरकै आकारमा रूप दिइन्छ। तल्लो पुछारको भागलाई झन्डै मुलाको जरो जस्तै मसिनो लाम्चिलो आकार दिएर तयार गरिन्छ। योमरी बनाउने यस प्रविधिमा सीप मिसिएको भेटिन थाल्छ। सीपसित श्रम मिसिएको भेटिन्छ। श्रमसित मनको तत्परता जागेको फेला पर्न थाल्छ। तत्परताभित्र मौसमी समय सापेक्षता मुछिएको बुझिन्छ। मौसमी समय बुझिन थाल्दा योमरी चाड विल्कुल मौसमी संस्कृतिको स्वरूपमा झल्किन्छ। यस्तो मौसमी संस्कृतिको चाड भएरै त हो पुर्खाले उसलाई मुख्य बाली धान/सामा/फसल भित्र्याइ सकेपछिको पूर्णिमाको दिन रातभर यो चाड मनाइने गरेको रहस्य उद्घाटन हुन पुग्छ। मौसमी चाड योमरी पूर्णे/धान्य पूर्णे/नुवागी खाने खाद्य परिकारको मीठो स्वादिलो चाड ठहर्छ।

नामकरण : नामैले योमरी मनलाग्दो मिष्ठान्न। नेवारहरू मनपर्दो वस्तु लाई ‘यो’ भन्छन्। यो भनेको मन पर्दो र मरी भनेको मिठाइ, मिष्ठान्न। योमरी भनेको मनपर्दो मनलाग्दो मिठाइ। कोलेस्टेरोलमुक्त यो वाष्प प्रणाली तत्कालीन विज्ञानसम्मत विधि थियो। आज पनि छ। बालककालसम्मै पनि बफाउन ‘मिमिचा’ प्रयोग गरिन्थ्यो। मिमिचा बाँसका मिहीन र मसिना सिन्काभन्दा अलिकति मोटा रेसाहरूबाट बुनेका हुन्छन्। वृत्ताकारमा बुने, बुनाइएका ‘मिमिचा’ पखाली बसालिन्छ। अलि अलि तेल वा घ्यू दलिन्छ। त्यसमा उमालिएको पानीको ‘फोसिचा’ तामाको भाँडाको मुखमाथि बसालिन्छ। जतनसाथ मायो, बायो योमरी मिमिचामाथि राखिन्छ। तातो बाफ नचुहिने गरी नरम मलमलले चारैतिर बेरिन्छ। २० मिनेट जति लगातार बफाइन्छ। बस, योमरी परिकार तयार हुन्छ। अलिकति चिसो पानी तातो योमरीमाथि विस्तारै खन्याइन्छ। तातो योमरी चिसिन्छ। तातो बाफिलो योमरीमाथि चिसो पानी छर्कनुको अर्थ विज्ञानसम्मत पनि छ। छर्किएका ती पानी फोसीभित्र जम्मा हुन्छ। पटक पटक छर्कंदै गर्दा बाफिएर उडेसुकेको पानीको अंश ह्रास हुनबाट जोगाउँछ। योमरी एक सांस्कृतिक परिकार भएर पनि यसको सेरोफेरो अनेक ज्ञान, विज्ञान अनि गार्हस्थ्य जीवन दर्शन समावेश भएका छन्।

दर्शन : जीवन दर्शनको रूपमा नियालौं, योमरीको रूप, स्वरूप र आकारलाई। योमरी दुई आकारमा बनाइने त हामी सबैलाई थाहा छ। बायो योमरी र मायो योमरी यिनका आकार किन भिन्न बनाइन्छ ? बायो र मायोको आकारमा जीवन दर्शन रंगिएको देख्छु। बायो चुच्चे चोसे देखिन्छ। मायो थेप्चिएको त्रिकोणात्मक तीनकुने देखिन्छ। चोसे पितृ लिंग आकारमा बन्छ। थेप्चो तीनकुने मायो मातृ योनी आकारमा बन्छ। प्रत्येक रूप, स्वरूप र आकारमा जीवन दर्शन गर्न सकिन्छ। बायो बाको बिम्ब बोक्छ। मायो माको योनीकै प्रतीक साबितिन्छ। हामी बिम्बवादी छौं। संस्कृति बिम्ब बोक्छ। मेरो नृतŒव शास्त्रीय चेतना र चिन्तन यसरी नै अभिमुखीकरणमा पाइरहेका छन्।

शुभकामना परिकार : योमरी शुभकामनाका सारगर्भित भोजन परिकार भन्न मन लाग्छ। नेवार समुदायमा पहिलो जन्मदिनको अवसर दुई वर्षमा मनाइन्छ। त्यस अवसरमा दुईवटा योमरीको एक जोडी माला बनाएर बालकको कुममा लगाइन्छ। एक जोडी योमरी माला युवा जीवनको सुखद् दुलाहा–दुलही भविष्य दर्शाउँदो हुन्छ। ती जोडी योमरी माला त रमाइलो रसिलो यौवन जीवनका भविष्यवाणी बन्छ। जे होस्, नेवारहरू प्रत्येक जोड वर्षमा मनाइने चार, छ, आठ, दश र बाह्र वर्षसम्मको जन्मदिनमा योमरी माला पहिर्‍याउँछन्। चार वर्षको जन्मोत्सवमा चारवटा छ वर्षको जन्मोत्सवमा छ वटा गर्दै थप्दै बाह्र वर्षमा बाह्रवटा योमरीमाला पहिर्‍याउनु योमरी संस्कार हो। योमरीमाला शुभेच्छा र शुभकामनाको माला भनेथें। कारण, योमरी गुडी मधुरो मीठो स्वादिलो हुन्छ। मधुरो मीठो स्वाद शुभेच्छापूर्ण स्वाद बन्छ। शुभेच्छा सदा सुमधुर रहन्छ। न त्यसमा निख्खरपना रहन्छ, न त तिनमा उत्ताउलोपना नै।

स्थानीय साधन : योमरी स्थानीय साधन परिचालन गरेर तयार गरिन्छ। ‘पोचुँ’ चामलको पिठो आफैं खेतमा फलाइएको साधन चाकु नेपाली माटोमा फलाएको स्थानीय उखुजन्य वस्तु। तिलको धुलो पनि त आफ्नै बारीमा फलाएको स्थानीय साधन। पानी, इन्धन र वर्तनको कुरै छाडौं। तपाई हेर्दै हिँड्नुस्, नियाल्दै गर्नुस्। संस्कार र संस्कृतिसित स्थानीय साधन परिचालन भइरहेको गर्भविन्दु भेट्टाउनु हुनेछ। लाग्छ, संस्कृति र सांस्कृतिक संस्कारहरू स्थानीय साधन, सीप र जीवन्तता पाउँछ पाइरहनेछ। स्थानीय साधन, सीप र सोच नेवार प्रवृत्ति रहे, बचेसम्म योमरी संस्कार र संस्कृतिको जीवन्तता पाइरहनेछ। सोच भन्नु प्रवृत्ति हो। प्रवृत्ति भनेको मनोगत धारणा हो। मनोगत धारणालाई अचेल अवधारणा पनि भन्ने गर्छन्। अवधारणाले आस्था जन्माउँछ जसले जीवनलाई सार्थक बनाउँछ। धन्य योमरी। धन्य नुवागी परिकार !

योमरी गुडी : मायो योमरीमा मास, मुगी जस्ता दाल बनाउने गेडागुडी भिजाएर ल्हसुन, अदुवा, हिङ, मरिच, सुकुमेल आदि अनुपातमा मिसाई पिँधेको पदार्थ राखिएको हुन्छ। अलिकति नुनिलो स्वादका मायोले गुलियो बायोसित स्वाद संस्कारको रुचिकर विभेद थपिदिन्छ। बायो योमरीभित्र चुंला/किमा मांसाहारी र खुवा काउलीका मिहीन मिश्रण भरेर साकाहरी योमरीका स्वादिला परिकार बनाइन्छ। योमरी परिकारका स्वादसित म स्वाद संस्कारको परिभाषा पढ्छु। स्वाद संस्कारको ममा त मेरै मुमाको स्वच्छ/तुसो र स्वस्थ गर्भगृहबाटै चिचिलाउँदो रहेछ। संस्कारभित्रको सांस्कृतिक स्वाद संस्कारको लोकजीवन रहस्य बनेको छ।

योमरी पुन्ही : योमरी धान्य पूणर््िामाको दिन बनाइन्छ। योमरी पुन्ही/पूर्णिमा चाड मनाइँदै आएका छन्, नेवार समुदायका नेपाली जनजीवनले। धान्य पूर्णिमाको अवसर पारेर धानका कोठी, भकारी राखी पूजा गर्ने कृषिवाला समाजमा अझै पनि जीवित छ। धानका डुंगुर/थुप्रोलाई सद्भावपूर्ण सम्मान अर्पण गर्नु धान्यपूर्णेको मौसमी संस्कार मण्डित संस्कृति बन्छ/बनेको छ। योमरी पूर्णेकै रात धानका कोठी मायो बायो योमरी बनाएर पुजिन्छ। धानका भकारी त्यसरी नै पोचुं/चामले पिठोबाटै केटाकेटीले पारी/बनाइएको अनेक जन्तु, चरा, कृषक, नाइके, नाइकेनी, लक्ष्मीनारायण, गणेश, कुमार आदि आकृतिहरू चढाइन्छ। यस अर्थमा योमरी भोजन परिकारमा मात्र सीमित नरही भूमि अर्चना गर्ने संस्कारको सूत्र पनि साबितिन्छ। भूमिबाट उत्पादन भएको अन्न र धान्य पदार्थको परिकार बनाएर पृथ्वीप्रति आभारपूर्ण सम्मान पोख्नु, पस्काउनु मानवीय संवेदनशीलता व्यक्त गर्ने चाड पनि हो किन नभनौं ? पृथ्वी माताप्रति नतमस्तक छौं। पृथ्वीकै विशाल र उदार हृदयप्रति योमरी परिकार। यो हाम्रो श्रद्धा, सम्मान र आदरका प्रतीक रहुन्/बनुन्, यो हाम्रो बन्दना बन्छ, बनून् ! माता पृथ्वी ! पृथ्वी माता !

घर सांस्कृतिक प्रयोगशाला : योमरी पूर्णे/धान्यपूर्णेका दिन नेवार समुदायको घरआँगन र चुलो योमरी बनाउने, तयार गर्ने प्रयोगशाला नै बनेको हुन्छ। घरका माउहरू योमरीका लागि पोचुं/चामलको पिठो मुछ्ने तिल, चाकुको सम्मिश्रण गर्ने, खुवा चिनी ठिक अनुपातमा बनाउने, मिसाउने, मास, मुगी मिसाउने आदि काममा व्यस्त हुन्छन्। केटाकेटी रमाउँदै पोचुंका मुसो, कुमार, मयुर, हात्ती, घोडा मनलागेझंै बनाइरहेका हुन्छन्। मानौं, घरघरको चुलो योमरी चाडको मूर्त प्रयोगशाला हो।

रमाइलो रमझम : साँझपख टोलटोलमा टोलभरीका बालबालिका जुटी योमरी माग्दै उफ्री उफ्री गाइरहेका हुन्छन्। केटाकेटी सारभूत स्वरलहरी मचाइरहन्छन् यसरी, योमरी सेतो, त्यसभित्र चाकु खाँदाखेरि मिठो कुराउनी...। परम्परागत यस सांस्कृतिक अभिव्यक्ति संस्कार रमाइलो र विश्लेषणयोग्य छ। केटाकेटीको यो सामूहिक माग, वचन एक प्रकारको माग, आशिक र सराप जस्तै लाग्छ। ‘यति देऊ, उति देऊ’ मागको बोली हो। उपलक्ष्य यहाँ कारण वा कारक तŒव बने बनाइएको छ। आंशिक यतिमै टुंगिन्न। दिए सुन्दरी तरुनी, नदिए ख्याउटे सिकुटी बुढी, सुभाष र दुर्भाष दुवै सम्मिश्रित छन्। यसले योमरीको आकार प्रकार र गुडीको आशय व्यक्त गर्छ।

अभिषेक–अभिनन्दन : परिकार– योमरीका आयामिक महिमा भनूँ, महिमामय योमरीका आयामहरू यतिमै टुंगिन्न। योमरीका आयामहरू गर्भेनी अवस्थादेखि आरम्भ र थालनी हुँदै दुई वर्षको पहिलो जन्मदिनदेखि दुई, चार, छ, आठ, दश र बाह्र वर्षसम्म क्रमिक तवरले शुद्ध जोठडी योमरी माला पहिर्‍याउने अभिषेक वस्तु तŒव हो। अक्षेताका दानाहरू क्रमबद्ध रूपमा बढाउँदै १२ जोडीसम्म योमरीभित्र हाल्नुका गम्भीर अगर्थ विन्याश छन्। नेवार संस्कारमा ज्या, ज्येष्ठता, जङ्कु, जन्म कुण्डली अनुसार ७७ वर्ष ७ महिना, ७ दिन, ७ घडी, ७ पला समय चक्रलाई ठीक मुहूर्त/साइत जुटाएर मनाइने ज्येष्ठ नागरिक अभिनन्दन समारोहलाई जनाउँछ। सहोदर दाजुभाइ, दिदीबहिनी, छोराछोरी, ज्वाइँ, नातिनातिना, पारिवारिक समुदाय, शुभेच्छुक–इष्टमित्रहरू सम्मिलित भई रथारोहण गराई अभिषेक भर्छन्। यस परिप्रेक्ष्यमा योमरी अभिषेक र अभिनन्दनका परिकार बन्छ।

बिट मार्नुअघि : योमरी पुन्ही चाडका आयामहरू आफ्नै संस्कार रञ्जित संस्कृतिभित्रका सांस्कृतिक जीवन्त अनुभूतिगम्य अन्तरचेतका अभिव्यक्ति छन्। सांस्कृतिक जागरण र संचेतना उजागर गर्न अनुभूतिपूर्ण सही सलामत व्याख्या र विश्लेषण नगरी हुन्न। तिनको अभावमा सांस्कृतिक जीवन्ततामा ह्रास आउनु स्वाभाविक रहन्छ। सार्थक र जीवन्त व्याख्या, विश्लेषणले सांस्कृतिक पुनर्ताजगीकरण गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.