तालिवानको त्रासमा ५ हजार महिला सैनिक गुपचुपरुपमा काम गर्दै
काबुल : अफगानिस्तानमा तालिवान शासन पुन: लागू भएपछि ५ हजार महिला सैनिक गुपचुप बनेका छन्। पूर्वअफगानिस्तान सरकारको पालामा विभिन्न सुरक्षा क्षेत्रमा कार्यरत करिब ५ हजार अफगान महिला सैनिक गुपचुप बनेका हुन् ।
सन् २००१ मा तालिवान शासन पतन र पश्चिमा समर्थनको पूर्वअफगान सरकारको उदयसँगै देशमा नयाँ सैन्य बल बनेको थियो । सो सरकारले हजारौं अफगान महिलालाई देशको विभिन्न सुरक्षा निकायहरुमा भर्ना गराएको थियो ।
गत अगष्टमा अफगानिस्तानमा पुन तालिवान शासन उदय हुँदा त्यहाँ कम्तीमा ५ हजार अफगान महिला सैनिकहरु देशको विभिन्न सुरक्षा निकायमा कार्यरत थिए । रक्षा मन्त्रालय र सेना, आन्तरिक मामिला मन्त्रालय र प्रहरी, राष्ट्रिय सुरक्षा निर्देशनालय अर्थात अफगानिस्तानको सिभिल प्रहरीको रुपमा ५ हजार महिला सैनिक खटिएका थिए ।
अफगानिस्तानमा तालिवान सरकारले पुन शासन चलाएसँगै विभिन्न सुरक्षा निकायका विभिन्न पदमा कार्यरत ती महिला सैनिकहरु गुपचुप रुपमा काम गरिरहेको भाइस न्युजमा समाचार छ ।भाइस न्युजमा प्रकाशित समाचारअनुसार तालिवानको पुन उदयसँगै कैयौं अफगान महिला सैनिकले आफ्नो जागिर छोडेका छन् भने कयौं महिला अझै गुपचुप रुपमा आफ्नो क्षेत्रमा खटिएका छन् ।
'पूर्व सरकार हुँदा मैले अनुसन्धान, शत्रुविरुद्धको लडाई र अन्य सुरक्षा निकायहरुमा काम गरे । तर तालिवानले शत्ता हातमा लिएपछि सुरक्षा क्षेत्रमा काम गर्न हामी महिला सैनिकलाई ठूलो चुनौती छ । तालिवान सरकारमा हामीले हाम्रो पहिचान लुकाएर ड्युटिमा खटिनु परेको छ,' अफगान नेसनल आर्मीकी एक कर्मचारीले भाइस न्युजसँग भनेकी छन् ।
तालिवानको सरकारपछि हरेक अफगान महिला सैनिकले तालिवानको धम्कीसँगै गुपचुप रुपमा काम गर्नु परेको बताइएको छ ।