रुपन्देहीमा झुण्डिएको अवस्थामा बालकको शव फेला
भैरहवा : रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित ९ वर्षीय बालकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार बुद्धनगरस्थित राजेन्द्र गोतामेको घरको तल्लो तल्लामा इसाई धर्मालम्बीहरु जम्मा भएर सामूहिक प्रार्थना गर्दथे । बुटवल–१२ बेलवासका मृतक असारे खड्गी आफ्नो परिवारसँग शनिबार उक्त घरमा आएका थिए ।
धर्मालम्बीहरु सामूहिकरुपमा घरको तल्लो तलमा ध्यान/प्रार्थना गर्ने क्रममा माथिल्लो तल्लामा बालकको झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
झुण्डिएको अवस्थामा बालक फेला परेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । लगत्तै चिकित्सकले खड्गीलाई मृत घोषणा गरेका थिए । उक्त घटना शंकास्पद रहेको स्थानीयले बताएका छन् ।
शवको पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए ।