काव्य साँझमा बान्तुको सिर्जना
काठमाडौं : पुसको आरम्भ। चिसो साँझ। राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदै थियो। कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो—
‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी’
नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनुसाथ मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी। त्यसपछि सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’को औपचारिक आरम्भ। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कार्यक्रमको उद्घाटन गरे। उनले बान्तु बहुमखी प्रतिभाका धनी भएको बताए। उनले साहित्य साधनाका साथै व्यावसाय र समाजसेवामा उत्तिकै लगावका साथ लागिपरेका स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान पुग्ने विचार व्यक्त गरे।
कवि तथा प्राज्ञ शशी लुमुम्बूले बान्तुका बारेमा प्रकाश पारेका थिए। त्यसपछि हँसिलो र फुर्तिलो भावमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाएका थिए, शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर।
बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे। त्यसपछि उनले गजल सुनाए– नजरैले घाइते पर्ना माहिर हजुर’। प्रेमिलो गजलबाट माहोललाई नै प्रेमिल बनाएका उनले मनको भावना सुनाए गजलमै। अन्त्यमा ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को जगल सुनाएर कविता÷काव्य प्रस्तुतिको मैझारो गरे।