कांग्रेस प्रदेश २ अधिवेशनमा त्रीपक्षीय भीडन्तको तयारी
जनकपुरधाम: नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत आज मनोनयन दर्ता हुँदै छ। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन दर्ता गर्ने हुन लागेको हो।
नेपाली कांग्रेस प्रदेश सभापतिमा संसदीय दलको नेता तथा भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, कांग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादव र नरेश रिजाल सभापति पदका लागि मनोनयन दर्ता गराउन लागेको स्रोतको दाबी छ। देउवा प्यानलबाट रामसरोज, शेखर कोइराला प्यानलबाट नरेश रिजाल र निधि प्यानलबाट रामसरोज यादवले मनोनयन दर्ता गराउन लागेको हो।
यद्यपि अहिले पनि सर्वसम्मतिका लागि प्रयास भइरहेको एक नेताले जानकारी दिए। उम्मेदवारी दिने तयारी गरेका प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र कांग्रेस रौतहटका सभापति कृष्ण यादवमध्ये कोही पछाडि हट्ने संकेत अहिलेसम्म नदिएको धनुषाका सभापति कृष्ण गिरीले जानकारी दिए।
कृष्णा यादवको पक्षमा नै आफूले समर्थन जनाएको भन्दै महोत्तरी जिल्लाका सभापतिले समेत समर्थन जनाइसकेका छन्। रिजालले अरु पदमा सम्झौता गर्न सकिए पनि प्रदेश सभापतिमा कुनै हालमा पनि सम्झौता नगर्ने प्रतिक्रिया दिँदै आइरहेका छन्।
प्रदेश अधिवेशनका लागि केन्द्रीय नेताहरु जनकपुरधाम आइसकेका छन्। नेता विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य उदयशम्शेर राणासमेत जनकपुरधाम आएका छन्। कोइराला पक्षबाट गुरूराज घिमिरे, भुपेन्द्रजंग शाहीलगायतका नेताहरु जनकपुरधाम पुगेका छन्।
प्रदेश अधिवेशन सर्वसम्मतिमै सम्पन्न गराउने प्रयास अहिले पनि भइरहेको गृहमन्त्री बालकृष्ण खाँणले प्रतिक्रिया दिएका छन्। उनले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी रहेकाले सर्वसम्मतिमा नेतृत्व चयन नभए निर्वाचनकै माध्यम अपनाउने बताए। अधिवेशनबाट प्रदेश सभापति, २ उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरु चयन गर्नेछ।