प्रदेश २ को कांग्रेस सभापतिमा कृष्ण यादव र रामसरोज यादवको उम्मेदवारी
जनकपुरधाम: प्रदेश २ नेपाली कांग्रेसको सभापतिमा दुई जनाले उम्मेदवारी दिएका छन्। कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दिएका हुन्।
जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर दुवैजनाले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। रामसरोजलाई नेता विमलेन्द्र निधिको समर्थन छ भने कृष्णलाई सभापति शेरबहादुर देउवाको समर्थन छ। यद्यपि रामसरोजले आफू कुनै गुटबाट नभइ कांग्रेसबाट उम्मेदवारी दिएको बताए।
यादवले आफूलाई सबैको समर्थन रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरे। उनले कांग्रेसभित्र गुट– उपगुट समाप्त पारेर कांग्रेसलाई मजबुत बनाउनकै लागि आफूले उम्मेदवारी दर्ता गराएको सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिए।
यता संस्थापन पक्षबाट कृष्णले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्यानलबाट प्रदेश २ को महिला बालबालिका युवा तथा खेलकुदमन्त्री विरेन्द्र सिंह र उपेन्द्र यादवले उप–सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कृष्णले निर्वचित भए कांग्रेसलाई विगतजस्तै प्रदेश २ मा मजबुत बनाउने लक्ष्य रहेको बताए। निर्वाचनबाट प्रदेश सभापति, २ उपसभापति, महामन्त्री, एक महिलासहित तीन सह–महामन्त्री र सदस्यहरु चयन गर्ने छ।