चीनमा 'मी टु'को प्रभाव : यौन उत्पीडनसम्बन्धी कानुनलाई बलियो बनाउँदै

चीनमा 'मी टु'को प्रभाव : यौन उत्पीडनसम्बन्धी कानुनलाई बलियो बनाउँदै

बेइजिङः चीन सरकारले महिला अधिकार, लैङ्गिक विभेद् र यौन उत्पीडनसम्बन्धी कानुनलाई बलियो बनाउने भएको छ। सरकारले कार्यक्षेत्रमा हुने महिला हिंसा, लैङ्गिक विभेद, यौन उत्पीडनसम्बन्धी कानुनलाई बलियो बनाउने भएको हो।

चीनमा पछिल्लो समय 'मी टु' आन्दोनलले चर्को रुप लिएपछि सरकारले सोसम्बन्धी कानुनमा कडाइ गर्न लागेको हो। महिला र अन्य अधिकारकर्मीहरुले चीनमा कडा कानुन नहुँदा महिला र लैंगिक अल्पसंख्यकहरु कार्यक्षेत्रमा सधैं सहकर्मीबाट उत्पीडन र दमनमा पर्दै आएको बताउँदै आएका छन्।

चिनियाँ नितिनिर्माताहरुले सोमबार महिला अधिकार, लैङ्गिक विभेद् र यौन उत्पीडनको अन्त्यसम्बन्धी पहिलो मस्यौदा चीनको कानुन निर्माण निकायमा पेश गरेका थिए। सो मस्यौदामाथि हेरफेर भइरहेको र दशकौं अघि बनेको कानुनमा सरकारले थप कडाइ गर्ने संकेत देखाएको बताइएको छ।

मानामा पर्खाल लगाउन ट्रम्पले दिएका फलाममा लाग्यो खिया

वासिङ्टनः अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमानामा विशाल पर्खाल बनाउने प्रतिबद्धताको हिस्सा बनेका फलामे सामग्रीमा खिया लागेको छ। मेक्सिको र अमेरिकाको सीमानामा विशाल पर्खाल बनाउने भन्ने ट्रम्पको प्रतिबद्धताको हिस्सा बनेका अर्बौ डलर बराबरको फलामे सामग्रीमा खिया लागेको हो।

ट्रम्पले सो सीमानामा विशाल पर्खाल निर्माण गर्ने भनेको परियोजनाको हिस्सा बनेका कम्तीमा सवा एक अर्ब डलर रकम बराबरको स्टिल र अन्य फलामे सामग्रीमा खिया लागेको दी एटलान्टिकमा समाचार छ। सो समाचारअनुसार करिब १८ देखि ३३ फिट उचाइ भएका ती सामग्री निर्माण कार्य सम्पन्न हुन नसक्दा खिया लागेका हुन्।

ट्रम्पको कार्यकालमा ती सामग्री अमेरिकी रक्षा विभागले आफ्नो स्वामित्वमा लिएको थियो। तर ट्रम्पको कार्यकाल समाप्तीसँगै सीमानामा विशाल पर्खाल लगाउने ट्रम्पको वाचा तुहिएको र विभागले खरिद गरेका सामग्रीमा खिया लागेको बताइएको छ। यता वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल सुरु भएदेखि ट्रम्प प्रशासनले बनाएका सबै नीति खारेज गर्ने बताउदै आएका छन्।

बाल यौन दुराचारको अभियोगमा अमेरिकी पुजारी जेलमा

ओकुसीः बालबालिकामाथि यौन दुराचार गरेको अभियोगमा पूर्व अमेरिकी पुजारीलाई जेल चलान गरिएको छ। पूर्वी टिमोरको एक अदालतले दोषी ठहराएका पूर्व अमेरिकी पुजारी रिचार्ड ड्याचव्याचलाई मंगलबार १२ वर्षको लागि जेल चलान गरिएको हो।

रिचार्डले सन् १९९० को सुरुवातमा अनाथालय खोलेका थिए। सो अनाथालयमा उनले अभिभावक नभएका र उत्पीडनमा परेका बालबालिकालाई गाँस, बास र कपासको व्यवस्था दिँदै आएका थिए। ८४ वर्षीय ती पुजारीले १४ वर्षभन्दा मुनिका बालबालिकामाथि यौन दुराचार गर्ने गरेको र आफ्नो अनाथालयमा हुर्केका युवतीको अश्लिल भिडियो बनाउने गरेको भन्दै अभियोग लागेको थियो।

सो अभियोग लागेका ती पुजारीमाथि छानविन एवं अनुसन्धान अघि बढेको थियो। छानविनपछि पूर्वी टिमोरको अदालतले उनलाई केही दिनअघि दोषी ठहर गरेको थियो। अदालतले दोषी ठहराएका उनलाई मंगलबार जेल चलान गरिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

संसारकै सानो पुस्तक ४ हजार युरोमा बिक्री

मेइन्जः संसारकै सानो पुस्तक ४ हजार २ सय युरोमा बिक्री भएको छ। जर्मनको मेइनजस्थित गुटेनवर्ग संग्राहलयबाट संसारकै सानो पुस्तक सो रकममा लिलामीमा बिक्री भएको हो।

लेदरको गाता भएको पुस्तकको लम्बाइ ५ मिलिमिटर र चौडाइ ५ मिलिमिटर रहेको छ। सिसाकलमको टुप्पोभन्दा सानो रहेको सो पुस्तक डच, अंग्रेजी, फ्रेन्च, जर्मन, स्पानिस र स्विडिस भाषामा प्रकाशित भएको बताइएको छ।

सो पुस्तक १ हजार युरोदेखि १५ सय युरो मूल्य बराबरको भए पनि खरिदकर्ता हेन्री गड्ट्सले सो पुस्तकलाई ४ हजार २ सय युरोमा किनेको गार्जियनमा समाचार छ। ‘दी लर्डस प्रेयर’ शीर्षकको सो पुस्तकमा छापिएका अक्षरहरु नाङ्गो आँखाले पढ्न नमिल्ने बताइएको छ। सन् १९५२ मा जोहानेस गुटेनवर्ग म्युजियमद्वारा प्रकाशित सो पुस्तकको १ सयभन्दा कम कपिमात्र छापिएको बताइएको छ। सो पुस्तकको संकलन ज्वेलरी बक्सभित्र राखिएको बताइएको छ।

म्यानमारमा खर्बौको रत्न उद्योग सेनाले दुरुपयोग गर्ने खतरा

म्यानमारः म्यानमार सेनाले देशभर रहेका खर्बौ डलर बराबरको रत्न उद्योग सेनाले दुरुपयोग गर्ने खतरा रहेको एक रिपोर्टले देखाएको छ। ग्लोबल विटनेसद्धारा गतहप्ता जारी रिपोर्टले सेनाले खर्बौ डलर बराबरको रत्न दुरुपयोग गर्ने देखाएको हो।

सो रिपोर्टपश्चात भ्रष्टाचारविरोधी समुहले म्यानमारमा रहेका र म्यानमारसँग कारोबार गर्दै आएका लक्जरी ज्वेलर्स कम्पनीहरुलाई सचेत रहन आग्रह गरेका छन्। देशभित्र रहेको खर्बौ मुल्य डलर बराबरको आर्कषक रत्न उद्योग म्यानमार सेनाको आम्दानीको मुख्य स्रोत रहेको र सो आम्दानी सेनाले दुरुपयोग गरिरहेको सो रिपोर्टमा उल्लेख छ।

म्यानमारमा सन् २०१४ देखि सन् २०१७ सम्म वर्षेनी ३४६ मिलियन डलरदेखि ४१५ मिलियन डलर बराबरको हिरा, मणी, रत्न लगायत महत्वपुर्ण धातुको उत्पादन र व्यापार भएको छ। त्यसयता वर्षेनी १.७३ बिलियन डलरदेखि २.०७ बिलियन डलर बराबरको रत्न उत्पादन र व्यापार भएको छ। जुन सेनाले दुरुपयोग गरिरहेको विज्ञहरुले बताएका छन्।

जापानमा दुई वर्षपछि तीन कैदीलाई दिइयो फाँसी

टोक्योः जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिादा सरकारले तीन जना कैदीलाई फाँसी दिएको छ। सन् २०१९ पछि अर्थात् झण्डै दुई वर्षपछि सरकारले मंगलबार तीन कैदीलाई फाँसी दिएको हो। फाँसीमा परेका तिनै कैदीको पहिचान खुलिसकेको छ। जसमा सन् २००४ मा आफ्ना सात जना आफन्तको हत्या गरेको आरोपमा जेल सजाय भोगिरहेका ६५ वर्षीय यासुताका फुजिशिरो, ५४ वर्षीय तोमोआकी ताकानेजवा र सन् २००३ मा आफ्नै कर्मचारीको हत्या आरोपमा जेल जिवन विताइरहेका ४४ वर्षीय मिसुनोरी ओनोगावा रहेका छन्।

तिनैजनालाई जापानको कोवे जिल्ला कारागार र त्यहाँको सर्बोच्च अदालतले केहि वर्षअघि मृत्युदण्डको सजाय सुनाएको थियो। संसारका दुई तिहाईभन्दा बढि मुलुकहरुले मानवअधिकारलाई मध्यनजर राख्दै मृत्युदण्डको सजाय हटाइसकेका छन्। त्यहाँका मानवअधिकारकर्मीहरुले जापानमा पनि मृत्युदण्डको सजाय हटाउनुपर्ने माग राख्दै आएका छन्।

गुगलमा सबैभन्दा बढ खोजिएको शब्दमा ‘अफगानिस्तान’

काबुलः गुगलमा सबैभन्दा बढी सर्च (खोजिएको) शब्दमा अफगानिस्तान परेको छ। सन् २०२१ मा गुगलमा सबैभन्दा बढी अफगानिस्तान शब्द सर्च गरिएको हो। अल्फावेट इंकको पछिल्लो वार्षीक रिपोर्टअनुसार गुगलमा अफगानिस्तान शब्द सबैभन्दा बढी ट्रेन्डिङमा रहेको छ। गुगल प्रयोगकर्ताहरुले अफगानिस्तानसँग सम्बन्धित सामग्रीमा सबैभन्दा बढि रुची राखेको सो रिपोर्टले देखाएको छ। अफगानिस्तानपछि गुगलमा सबैभन्दा बढी खोजिएको शब्दमा ‘युनाइटेड स्टेट्स क्यापिटोल’ र त्यसपछि कोभिड १९ रहेको सो रिपोर्टले जनाएको छ।  

फिलिपिन्समा आँधीबाट मर्नेको संख्या ३७५ पुग्यो

म्यानिलाः फिलिपिन्समा आँधीबाट मर्नेको संख्या ३७५ पुगेको छ। यस वर्ष आएको विनाशकारी आँधीबाट मंगलबारसम्म मर्नेहरुको संख्या ३७५ पुगेको हो। फिलिपिन्सको कोस्टल क्षेत्रमा प्रवेश गरेको आँधीबाट सो संख्यामा मानिसहरुले ज्यान गुमाएका हुन्। अझै ६० भन्दा बढी मानिस हराइरहेको बताइएको छ । केहि दिनअघि फिलिपिन्स प्रवेश गरेको ताइफुन रेईका कारण मर्नेको संख्या अझै बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन्।

स्थानिय मिडियाका अनुसार आँधीपछि प्रभावित क्षेत्रमा खानेपानी अभाव छाएको छ भने निर्जलीकरण अधिकांश मानिसहरुको मृत्युको कारण बनेको छ। आँधीले घर, अस्पताल, विद्यालय, सडक र अन्य भौतिक संरचनामा ठुलो क्षती पुगेको बताइएको छ।

हङकङमा लोकतन्त्र मासेको भन्दै जी ७ को आपत्ति

सिसिली: हङकङमा लोकतन्त्र मासेको भन्दै संसारका शक्ति राष्ट्रहरुले आपत्ति जनाएका छन्। हङकङको मतदानमा चीन हाबी भएको भन्दै संसारका शक्ति राष्ट्र एवम् ग्रुप अफ सेभेन (जी सेभेन) का सदस्य राष्ट्रहरुले आपत्ति जनाएका हुन्।

चीनले हङकङको लोकतान्त्रिक मताधिकार प्रत्यक्ष रुपमा मासेको र हङकङमा चुनिएका सिटलाई आफ्नो नियन्त्रणमा लिएको आरोपसमेत लगाएका छन्। हङकङमा चीनको निर्देशनअनुसार गएको आइतबार सार्बजनिक मतदान भएको थियो। सो मतदानमा चिनियाँ उम्मेद्धारले जित हासिल गरेका थिए।

जी ७ समुहका सदस्य मुलुकका विदेश मन्त्रीहरुले हङकङको मतदानप्रति आपत्ति जनाउदै ‘त्यहाँ भएको लोकतान्त्रिक तत्वको सामुहिक चिहान बनेको’ बताएका छन्। जी ७ समुहका सदस्य राष्ट्रहरु क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाले हङकङमा स्थिरता कायम गर्न र अवैध अपरेसन बन्द गर्न भन्दै चीनलाई चेतावनी समेत दिएका छन्।

संयोजनः अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.