प्रदेश २ को नाम जुराउन फेरि पहल

प्रदेश २ को नाम जुराउन फेरि पहल

जनकपुरधाम : प्रदेश २ को  नाम र राजधानीका लागि फेरि कसरत सुरु भएको छ। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा सत्तारुढ दलहरूसँगको छलफललाई तीव्रता दिएको छ। जसपाका प्रमुख सचेतक शैलेन्द्रप्रसाद साहको नेतृत्वमा प्रदेश सभासदस्यहरूले माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यहरूसँग भेटेर राजधानी र नामाकरणको विषयमा छलफल गरेका हुन्। जसपाले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम रहनुपर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावमा माओवादी केन्द्र र नेकपा एसका प्रदेश सांसदहरू सकारात्मक रहेको जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनले जानकारी दिए। केन्द्रका नेता एवं प्रदेश सांसद भरत साहले भने, ‘माओवादी केन्द्र पहिलेदेखि मधेश प्रदेशका लागि स्पष्ट धारणा बनाइसकेको छ र सोहीअनुसार प्रदेशसभामा प्रस्ताव लैजान सुझाव दिएका छौं।’ त्यस्तै, नेकपा एसका प्रदेश सांसद शत्रुधन महतोले पनि सोही प्रस्तावलाई समर्थन गरेको बताए। 

जसपाले अब कांग्रेस र एमालेका सांसदलाई भेट्ने तयारी गरिरहेको छ। कांग्रेस सत्तारुढ दल भए पनि प्रदेशको नामकरणमा फरक धारणा राख्दै आएको छ। कांग्रेसले प्रदेश २ को नाम मिथिला–भोजपुरा र राजधानी जनकपुरधाम हुनुपर्ने धारणा राख्दै आएको छ। एमालेले जानकी प्रदेश र राजधानी जनकपुरधाम हुनुपर्ने अडानमा छ।

जसपाले पुस ८ गते प्रदेशको नामकरण र राजधानी तोक्ने प्रस्ताव प्रदेशसभामा लैजाने भएको छ। प्रस्ताव पास गर्न १०४ जना प्रदेशसभा सदस्यमा २ तिहाइ पुर्‍याउन ७० जनाको समर्थन चाहिन्छ। प्रस्तावको पक्षमा अहिलेसम्म जसपासँग ६२ जना मात्र पुगेको छ। 

मधेश प्रदेश र जनकपुरधाम राजधानीका लागि जसपा ३८, लोसपा १६ र माओवादी ८ जना स्पष्ट छन्। उता एमालेको ८, कांग्रेसको १९, नेकपा एसको १३, नेपाल संघीय समाजवादीको १ जना प्रदेशसभा सदस्य रहेका छन्। 

नाम र राजधानी तोक्न २०७६ चैत ४ गते भएको मतदानमा सबै प्रस्ताव अस्वीकृत भएका थिए। गत वर्ष मत विभाजन गरेर प्रदेशको नाम र राजधानी टुंग्याउन मतदान गरिए पनि २ तिहाइ नपुग्दा सबै प्रस्ताव असफल भएको थियो। प्रदेशसभाले पुनः त्यही प्रक्रियाबाट नाम र राजधानी टुंग्याउन खोजेको छ। तर, हालसम्म प्रदेशको राजधानी र नाम तोक्ने सम्बन्धमा सरकार र विपक्षी दलहरूबीच औपचारिक छलफल भएको छैन।

प्रदेश सरकार गठन भएको साढे ३ वर्ष बित्नै लाग्दा प्रदेशको नामकरण र राजधानीबारे टुंगो लगाउन नसकेको भन्दै प्रश्न उठ्न थालेपछि प्रदेश सांसदहरू यसप्रति गम्भीर बनेका छन्। प्रदेशसभाका १०७ सांसदमध्ये माओवादीका प्रत्यक्ष निर्वाचित ३ र समानुपातिक सांसद निलम्बन भएपछि अहिले १०३ जना सांसद छन। प्रदेशसभाबाट निर्णय गर्न दुई तिहाइ बहुमत चाहिन्छ। तर, सत्तारुढ दलबीच त्यो संख्या छैन। प्रदेशसभामा आवश्यक बहुमत नरहेको कारण सरकारले प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव प्रदेशसभामा लग्न आनाकानी गरिरहेको छ। प्रदेशमा राजधानीबारे जनकपुरधाम र वीरगन्जको चर्चा छ। अझ बढी विवाद नामबारे छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.